Logo

दूध किसानको २२० करोड भुक्तानी बाँकी

काठमाडौं– सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो पाँच महिनादेखि किसानलाई दूधको रकम भुक्तानी गरेका छैनन् । देशभरका किसानले अझै २ अर्ब २० करोड रुपैयाँ भुक्तानी पाएका छैनन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गत भदौ ९ मा सार्वजनिक गरेको सय दिने कार्ययोजनामा दुग्ध किसानको सबै बक्यौता भुक्तानी गर्ने उल्लेख गरेका थिए । तर, हालसम्म किसानले दूधको पूरा भुक्तानी पाउन सकेका छैनन् ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव राम आचार्यले असोजदेखि माघसम्म गरी डीडीसीले एक अर्ब भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । निजी क्षेत्रले पनि १ अर्ब २० करोड रुपैयाँ दिन बाँकी छ । आचार्यका अनुसार कुनै जिल्लामा दूधको पैसा माघसम्मको पनि दिइएको छ तर कुनै ठाउँमा असोजदेखि दिन बाँकी नै छ । सरकारी संस्थानले नदिँदा निजी डेरी उद्योगले पनि किसानको दूधको पैसा दिन आनाकानी गर्ने गरेको उनको भनाइ छ । आचार्यका अनुसार देशभर दैनिक १० देखि १२ लाख लिटर दूध उत्पादन हुन्छ ।

महासचिव आचार्यले डीडीसीले दूधको बक्यौता तिर्न एक अर्ब रुपैयाँ रहेको भने पनि डीडीसीका अधिकारीहरुले भने ७० करोडमात्र रहेको दाबी गरेका छन् । ‘किसानलाई दूधको ७० करोड रुपैयाँ बक्यौता दिन छ,’ डीडीसीका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले आइतबार कारोबारसँग भने, ‘यो बाँकी रकम माघ समान्तसम्मको मात्र हो ।’ उनले कुन ठाउँको कति रकम बाँकी छ तथ्यांक संकलन गरी क्रमशः भुक्तानी गर्ने बताए । डीडीसीसँग भएको बटर बिक्री नहुँदा किसानको दूधको पैसा भुक्तानी गर्न समस्या भएको उनले जानकारी दिए ।

उनका अनुसार हाल डीडीसीसँग बिक्री नभएर रहेको ५ टन बटर मौज्दात छ । लामो समयदेखि किसानले दूधको भुक्तानी नपाएको विषयमा आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले प्रश्न उठाएका थिए । जवाफमा प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई भुक्तानी गर्न बाँकी रकम यथाशिघ्र भुक्तानी गर्न निजी डेरीहरुलाई निर्देशन दिए । उनले दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रुपैयाँ भुक्तानी गरिसकेको जानकारी दिए । किसानलाई संस्थानले भदौसम्मको रकम भुक्तानी गरिसकेको र बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रिया अघि बढाएको प्रधानमन्त्री ओलीले बताए ।

डीडीसी र निजी क्षेत्रले किसानलाई दूधको भुक्तानी रोकेको यो पहिलो पटक होइन । बेलाबेलामा दूधको भुक्तानीको विषय विवादका रुपमा आइरहन्छ । किसानले पटक–पटक भुक्तानी माग्दै डीडीसी कार्यालय घेर्न पुग्ने गरेका छन् । गत वर्ष पनि कृषि मन्त्रालयसँग भएको सम्झौता कार्यान्वयन नभएपछि भुक्तानी पाउनुपर्ने माग राखेर किसानले लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा तालाबन्दी र घेराउसमेत गरेका थिए ।

गत वर्षसम्म पनि दूधको बक्यौता ४ अर्ब ८० करोड रुपैयाँ पुगेको थियो । पूर्व कृषिमन्त्री बेदुराम भुसालका पालामा ३० करोड रुपैयाँ भुक्तानी दिइएको थियो । हालका कृषिमन्त्री रामनाथ अधिकारीले बक्यौता तिर्न डीडीसीलाई ६० करोड रुपैयाँ अर्थ मन्त्रालयबाट ऋण दिलाएका थिए । अर्कोतिर बेला–बेलामा डीडीसी र निजी डेरीले किसानको दूध संकलन नगर्दा पनि विवाद आउने गरेको छ । दूध बेच्न नसकेपछि किसानले सडकमा फ्याँकेर विरोध प्रदर्शन गरेका घटना पनि बेला–बेलामा आइरहन्छन् । अहिले पनि डीडीसीले कतिपय जिल्लामा दूध संकलन घटाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्