जस्तापाताले बस्ती चम्काउँदै स्थानीय सरकार «

जस्तापाताले बस्ती चम्काउँदै स्थानीय सरकार

अर्घाखाँची-जिल्लाका स्थानीय सरकारले खरको छाना हटाएर गरिब जनताको घरमा जस्तापाता लगाउन बजेट विनियोजन गरेको छ । निर्वाचन भएको सुरुको वर्षमै छत्रदेव गाउँपालिकाले जस्तापाता लगाउने कामको प्रारम्भ गरेको थियो । जिल्लाको पाणिनी गाउँपालिकाले विगतका दुई वर्षमा खानेपानी र मोटरबाटालाई प्राथमिकता दिएको थियो ।
चालू आवमा पनि एक घर एक धारा अभियानलाई प्राथमिकतामा राख्दै जस्तापाता लगाउनका लागि एक करोड रुपैयाँ विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । “पाणिनी गाउँपालिकामा खरका छाना भएका घरधुरी करिब ९५० छन्,” गौतमले भने, “जस्तापाता खरिदपछि घरधुरी छनोट गर्नका लागि योजना बनाउँछौं, अहिले करिब २५० घरधुरीमा जस्तापाता लगाउँछौं । बाँकी रहेका अन्य घरधुरीमा आगामी वर्ष थप बजेट विनियोजन गरी जस्तापाताले सबैको घर चम्काउँछौं,” अध्यक्ष गौतमले भने ।
मौवापोखरी निवासी ५४ वर्षीय टाम्के कामी एक वर्षअघि छत्रदेव गाउँपालिकाले टिन दिएपछि जस्तापाताले छाएको घरमा बस्न पाउँदा मख्ख छन् । ऋण तिर्न नसक्दा साहुले जस्तापाता लगेको दिन सम्झँदै उनी भन्छन्, “गरिब र दीनःदुखिका पनि दिन आउँदा रहेछन् । मेरा लागि बल्ल सरखार (सरकार) आयो । अब जस्तापाता कसले ओखल्न सक्छ ?”
दुई वर्षअघि उनले स्थानीय साहुको पसलबाट उधारोमा लगी घरमा टिन लगाए । दिनहुँ मजदुरी गरेर खाने टाम्केले घरमा लगाएको टिनको पैसा समयमै तिर्न नसक्दा ६ महिनापछि साहुले घरमा लगाएको टिन नै उखलेर लगे । त्यसपछि उनी पहिलेजस्तै सल्ली पराल र खरले घर छाएर बसेका थिए । छत्रदेव–२ बल्कोटकी विष्णुमाया नेपालीले घरमा टिन लगाउने कुरा सोचेकी पनि थिइनन् । तर, अहिले गाउँपालिकाले बोलाएर टिन दिएपछि उनी असाध्यै खुसी छन् । “२० वर्षदेखि एउटा घडेरी किनेर खरको छानोमा बस्दै आएका थियौं । श्रीमान् रोगी हुनुहुन्छ, केही काम गर्न सक्नुहुन्न,” मायाले भनिन्, “खरले छाएको घर पानी आउँदा चुहिन्थ्यो ।”
गतवर्ष गाउँ कार्यपालिकाको सभाले एक करोड २० लाख रुपैयाँ जस्तापाता वितरणका लागि विनियोजन गरेको थियो । १ करोड २० लाखको १ हजार एक सय ३५ बन्डल टिन खरिद गरी वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए । सबै टिनको पातामा सीआरएम अर्थात् छत्रदेव गाउँपालिकाको छोटकरी रूप लेखी २६ गेजको टिन खरिद गरिएको हो । जस्तापाता ३ सय ३४ घरका लागि २७÷२७ पाताका दरले वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठले बताइन् ।
अर्घाखाचीका सन्धिखर्क, शीतगंगा, भूमिकास्थान नगरपालिकाका साथै मालारानी गाउँपालिकाले पनि खरको छानो विस्थापित गर्दै जस्तापाता लगाउने अभियान सुरु गरेका छन ।
गरिब र दुःखि जनताको मनमा स्थानीय सरकारको अनुभूति गराउने गरी मालारानी गाउँपालिकाले ५ वर्षभित्र सबैको घरमा जस्तापाता लगागने गरी अघि बढेको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
प्रदेश नं. ५ का पहाडी जिल्ला गुल्मी र पाल्पाका धेरैजसो स्थानीय सरकारले फुसको छानारहित गाउँपालिका तथा नगरपालिका घोषणा गर्ने गरी बजेट विनियोजन गरेका छन ।

घनश्याम पौडेल

प्रतिक्रिया दिनुहोस्