प्योर इनर्जी बन्यो आईपीओ ल्याउने पहिलो सौर्य ऊर्जा कम्पनी

काठमाडौं– नेपाल धितोपत्र बोर्डले प्योर इनर्जी लिमिटेडलाई सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले शुक्रबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता सेयर निष्काशन गर्नेछ ।
कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रुपैयाँ छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत सर्वसाधारणका लागि निष्काशन हुन लागेको हो । गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनीको रुपमा प्योर इनर्जी रहेको छ । कम्पनीले बाँकेमा ४३ बिगाह क्षेत्रफलमा १० मेगावाटका २ वटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुवै आयोजनाले गत वर्षदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् ।
२० मेगावाट क्षमतासहित प्योर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनीसमेत हो । साथै आईपीओ निष्काशनका लागि अनुमति पाउने पहिलो सौर्य ऊर्जा कम्पनी पनि बनेको छ । प्योर इनर्जी विगत तीन वर्षदेखि नै नाफामा गइरहेको छ । पछिल्लो समय जलवायु परिवर्तन, ग्लोवल वार्मिङ आदिका कारण जलविद्युतको उत्पादनमा समस्या सिर्जना भइरहेको सन्दर्भमा विश्वव्यापी रुपमा नै सौर्य ऊर्जालाई महत्त्वका साथ हेरिएको छ ।
नेपालमा पनि वैकल्पिक ऊर्जाको स्रोतका रुपमा सौर्य ऊर्जा अगाडि बढिरहेको छ । यससँगै धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्ति भएपछि आईपीओ निष्काशन प्रक्रिया क्रमश: सुरू हुँदै गएको छ । बोर्डले गत पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।
उनी अध्यक्षमा नियुक्त हुनुपूर्व नै मंसिर ७ गते गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशनको अनुमति पाएको थियो । त्यस्तै गत माघ तीन गते क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सले आईपीओ निष्काशनको अनुमति पाएको थियो । बोर्डमा हालसम्म ८१ वटा कम्पनी आइपीओ निष्काशन अनुमतिको पर्खाइमा रहेका छन् ।