रैथाने बाली प्रवर्द्धनका लागि परियोजना सञ्चालन हुँदै

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिका–५ साविक समिभञ्याङमा रैथाने बाली प्रवर्द्धनका लागि चारवर्षे परियोजना सञ्चालन हुने भएको छ । नेपाल कृषि अनुसन्धान परिषदले रैथाने कृषि परियोजना सञ्चालन गर्ने भएको हो । परियोजना अन्तर्गत परम्परागत कोदो र कागुनो खेती प्रवर्द्धन गरिने मध्यनेपाल–५ का वडाध्यक्ष ओमवीर गुरुङले बताए ।
परियोजना सञ्चालनका लागि खाद्य तथा कृषिका लागि जैविक विविधता खाकासम्बन्धी बृहत् अन्तरक्रिया तय भएको वडाध्यक्ष गुरुङको भनाइ छ । परियोजना अन्तर्गत स्थानीय ३५ जना कृषक सहभागी हुनेछन् भने एक सय रोपनीभन्दा बढी खेतमा रैथाने कोदो र कागुनो खेती गरिने वडाध्यक्ष गुरुङले बताए । चार वर्षसम्म सञ्चालन हुने परियोजनाका लागि विज्ञद्वारा अनुसन्धान र कृषकलाई आवश्यक तालिम तथा सहजीकरण गरिने वडाध्यक्ष गुरुङको भनाइ छ ।
जिल्लामा प्राय: वर्ष रैथानेबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गतको बजेट कार्यान्वन हुन नसकी फिर्ता हुने गरेको छ । रैथाने बाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत कोदो लक्षित गरेर कार्यक्रम आउने तर अधिकांश कृषकले बजेट आउनुअघि नै कोदोखेती गरिसक्ने भएकाले अधिक बजेट फ्रिज हुने गरेको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
सोबाहेक कार्यक्रमको प्रकृतिअनुसार ५० प्रतिशत लागत साझेदारीमा काम गर्न मञ्जुर भई सम्झौता भए पनि साविकका वर्षमा सम्बन्धित समूहले ५० प्रतिशत लगानी जुटाउन नसक्दा पनि कार्यक्रम प्रभावकारी नभएको पाइएको थियो । विश्वमा करिब तीन हजारभन्दा बढी बाली बिरुवाका प्रजाति मानव उपभोगका लागि योग्य मानिन्छन् ।
जसमध्ये १० जातका अन्न, दलहन र तेलका बीउमात्र हाल खेती गरिएको पाइन्छ भने बाँकी जंगली अवस्थामा वा रैथाने र परम्परागत बालीका रूपमा रहेका छन् । रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन्, जुन मानव भोजन र पशुवस्तुको चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छ ।
खाद्य तथा पोषण सुरक्षा र बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्त्वपूर्ण मानिएको छ । रैथाने बाली विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम सहन सक्ने विशेषता बोकेका हुन्छन् । बाली प्रजनन तथा सुधारका लागि रैथाने बालीलाई महत्त्वपूर्ण मानिएको छ । यसका साथै, देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान सावित रहेको विज्ञहरू बताउँछन् ।