कार्यसम्पादन मूल्यांकनमा तातोपानी उत्कृष्ट

जुम्ला– कार्यसम्पादन मूल्यांकनमा तातोपानी गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदननुसार तातोपानी गाउँपालिकाले समग्रमा ९८.८१ प्रतिशत अंक प्राप्त गर्दै जुम्लाका अन्य पालिकालाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ । यस मूल्यांकनमा कनकासुन्दरी गाउँपालिकाले ९२ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो स्थानमा रहँदा, हिम गाउँपालिकाले ६९.५ प्रतिशत अंकसहित तेस्रो स्थान हासिल गरेको छ ।
तिला गाउँपालिका कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर देखिएको छ । तिला गाउँपालिकाले सबैभन्दा कम ३८.२ प्रतिशत अंक प्राप्त गरेको छ । यस्तै हिमा ६१.५ प्रतिशत अंक प्राप्त गरी दोस्रो भएको छ । क्रमश: सिंजा ५८.१ प्रतिशत, कनकासुन्दरीले ५६.९ प्रतिशत, पातारासी ५२.६ प्रतिशत, गुठीचौर गाउँपालिकाले ४९.७ प्रतिशत अंक प्राप्त गरेको छ ।
यस्तै चन्दननाथ नगरपालिकाले ५६.८ प्रतिशत अंक प्राप्त गरेको छ । आर्थिक वर्षको राजस्व र आय, व्ययको अनुमान समयमा गाउँसभामा पेस गरे नगरेकोदेखि समयमा बजेट पास भए नभएको, स्थानीय तहले प्रदेश तथा संघमा पठाउनुपर्ने राजस्व समयमा नपठाएको, शिक्षा, स्वास्थ्य, राजश्व तथा विद्यार्थी भर्ना, चालु तथा पुँजीगत खर्चसम्मका विभिन्न १७ वटा सूचाङ्कमा मूल्यांकनमा अब्बल सावित हुँदै तातोपानी उत्कृष्ट भएको हो ।
कार्यसम्पादनसँंगै स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) मूल्यांकनमा तातोपानी जिल्लाकै प्रथम भएको छ । जिल्लाका आठ पालिकामध्ये विभिन्न सूचकमा उत्कष्ट अंक ल्याउँदै तातोपानी प्रथम भएको हो । स्थानीय तहहरूको कार्यक्षमता, पारदर्शिता, बजेट व्यवस्थापन, योजना कार्यान्वयन, लेखा प्रणाली तथा निगरानी प्रक्रियाको आधारमा गरिएको मूल्यांकनमा तातोपानीले उच्च अंक प्राप्त गरेको हो ।
तातोपानी गाउँपालिकाले वित्तीय सुशासन जोखिम मूल्यांकनमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापनमा ७१.७४ प्रतिशत, कार्यान्वयन क्षमता तथा व्यवस्थापनमा ७१.१३ प्रतिशत, लेखा प्रणाली तथा वित्तीय व्यवस्थापनमा ७२.२६ प्रतिशत, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षणमा ५२.७५ प्रतिशत, र राजस्व व्यवस्थापनमा ६०.३५ प्रतिशत अंक प्राप्त गरेको छ ।
समग्रमा, तातोपानी गाउँपालिकाको मूल्यांकन ९० प्रतिशत रहेको छ, भने स्थानीय आर्थिक विकास मूल्यांकन (एलईडी) मा ९२ प्रतिशत अंक प्राप्त गरेको छ । यो मूल्यांकन भाग लिने जुम्लाको तातोपानी गाउँपालिका एकमात्र हो । तातोपानी गाउँपालिकाले राम्रो शासन प्रणाली, पारदर्शिता, तथा वित्तीय व्यवस्थापनमार्फत उत्कृष्ट प्रदर्शन गरेको भन्दै अन्य स्थानीय तहहरूले पनि यसबाट सिक्नुपर्ने विज्ञहरू बताउँछन् ।
स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनले आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा टेवा पुर्याउने विश्वास गरिएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाई भने, ‘शिक्षा, स्वास्थ्य, कर्मचारी जनप्रतिनिधिका तालिमका कुरा पनि हुन्छ । नीति, नियम, कानुनबमोजिम काम भएन–भएको, बेरुजुका कुरा छन् । त्यसलाई न्यूनीकरण गर्नुपर्छ ।’ गाउँपालिकाले शिक्षामा लगानी गरेको छ । स्वास्थ्यमा त्यही अनुसारकै लगानी गरिरहेका छौं ।
शिक्षा, स्वास्थ्यसँंगै भौतिक पूर्वाधारमा समेत पालिकाले नमुना काम गरेको तातोपानी गाउँपालिका अध्यक्ष चौलागाईंले बताए । उनले भने वित्त आयोगले आर्थिक वर्ष २०८०/०८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो । त्यस्तै विगतका वर्षमा करोडौं बेरुजु रहेकोमा हाल घट्दै गएको तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।