पर्वतको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति सुरु

पर्वत– पर्वतको जलजला गाउँपालिकाको मिलनचोक–लेखफाँट–शालिजा सडक स्तरोन्नति गर्न सुरु गरिएको छ । जलजला गाउँपालिकाका चारवटा वडाका साथै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दालाई बाह्रैमास यातायातको सुविधा उपलब्ध गराउनका लागि सडक कालोपत्रेसहित स्तरोन्नति गर्न थालिएको हो । सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा संघीय सरकारबाट थप तीन करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
यसअघि विनियोजन भएको दुई करोड १५ लाख गरी पाँच करोड १५ लाख रुपैयाँमा सडक स्तरोन्नति योजना सुरु भएको हो । जिल्लाको मुख्य कृषि पकेट क्षेत्रका रूपमा रहेको जलजला गाउँपालिका–६ शालिजालाई जोड्ने सडक स्तरोन्नतिका लागि बजेट सुनिश्चित भएसँगै शनिबार सडक डिभिजन कार्यालय पोखराका प्राविधिक फिल्डमा खटिएर नापजाँच गरिसकेका छन् । अब लगत्तै योजना अघि बढाउने तयारी भएको छ ।
चालु आर्थिक वर्षभित्रमै योजना सम्पन्न गर्ने गरी बजेट विनियोजन भएको पूर्वमन्त्री तथा सांसद पदम गिरिले जानकारी दिए । अहिले विनियोजन भएको बजेटले हुन नसकेको काम आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गराउन पहल गर्ने उनले बताए । आगामी आर्थिक वर्षमा मिलनचोकदेखि शालिजासम्मको सडक स्तरोन्नति योजना सम्पन्न गर्नका लागि आफूले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनमा पहल गरेको उनको भनाइ छ ।
यो सडकको करिब दुई दशकअघि ट्रयाक खोलिएको थियो । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको वडा नम्बर ५ लेखफाँट हुँदै ६ नम्बर वडा शालिजा जोड्ने कृषि सडक जीर्ण हुँदा किसानले उत्पादन गरेको कृषि उपज बजारसम्म लैजान समस्या भोग्दै आएका छन् । चालु आर्थिक वर्षमा मिलनचोकदेखि लुङ्दी खोलाको मोटरेबल पुलसम्म प्रदेश सरकारको बजेटबाट सडक स्तरोन्नति योजनाअघि बढेकाले वडा नम्बर ४ खोलाखेतदेखि अगाडि सडक स्तरोन्नतिको काम सुरु गरिने नम्बर ४ का वडाध्यक्ष भरत क्षेत्रीले जानकारी दिए ।
कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणहरुले वर्षौँदेखि समस्या भोग्दै आएकाले सडक स्तरोन्नतिका लागि थप बजेट विनियोजन भएपछि स्थानीय उत्साहित भएको क्षेत्रीले बताए । गण्डकी प्रदेश सरकारले मिलनचोक बजारदेखि लुङ्गदी खोलाको मोटरेबल पुलसम्म एक किलोमिटर पाँच सय मिटर दूरीको सडक स्तरोन्नति गर्न एक करोड ७९ लाख रुपैयाँ विनियोजन गरेको थियो । उक्त बजेटबाट अहिले सडक स्तरोन्नतिको योजना सुरु भएको छ ।
बहुवर्षीय ठेक्का लगाएर योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । अहिले सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान र सोलिङको काम भइरहेको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ । सडक निर्माणका लागि युग बिल्डर्स एण्ड सप्लायर्स प्रालि पोखरासँग १८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
बाँकी रहेको खोलाखेतदेखि शालिजासम्मको सडक फराकिलो, नाली निर्माण, ढलान र कालोपत्रे गर्नका लागि करिब ८ करोड रुपैयाँ बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । सडक स्तरोन्नति भएपछि जलजलाको वडा नम्बर ४ खोलाखेत,५ को रातामाटा, लेखफाँट, ६ को भोटेडाँडा, सालिजा र ठोटनेरीका साथै छिमेकी जिल्ला म्याग्दीका स्थानीय लाभान्वित हुनेछन् ।