Logo

एउटै भवन दुई पटक उद्घाटन

पोखरा– फरक पार्टीका अर्थमन्त्रीले पोखरामा एकै भवनको दुई पटक उद्घाटन गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रादेशिक कार्यालय भवनको गत वर्षको माघ ११ गते तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरेको उक्त भवन एमालेका कोटाबाट अर्थमन्त्री भएका विष्णुप्रसाद पौडेलले एक वर्ष २२ दिनको अवधिमा दोस्रो पटक भवनको उद्घाटन गरेका हुन् ।

निकै तामझामका माझ एकै भवन पटकपटक उद्घाटन हुँदा राज्यबाट अनावश्यक खर्च र अनावश्यक राजनीति हुने गरेको स्थानीयले गुनासो गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले उक्त भवन २३ करोड ४६ लाखको लागतमा एक वर्षअघि नै निर्माण सम्पन्न गरी तत्कालीन अर्थमन्त्री महत पोखरामा आउन प्राविधिक कारण वश नभ्याए पछि काठमाडौंबाटै उद्घाटन भएको घोषणा गरेका थिए ।

उक्त भवनको गत वर्ष उद्घाटन गर्दा ९२ प्रतिशत निर्माण कार्यसम्पन्न भएको बैंकले जनाएको थियो । पोखराको नयाँ बजारमा करिब चार रोपनी क्षेत्रफलमा अत्याधुनिक भवन निर्माण भएको छ । उक्त भवनमा आवश्यक पर्ने पानी भवनकै जमिन मुनिबाटै निकालिएको र सोलार लाइटसमेत जडान भएकाले बिद्युत नहुँदा समेत भवनमा कुनै समस्या नहुने बैंकले जनाएको छ ।

सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्न मन्त्री पौडेलको सुझाव
उक्त भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्न आग्रह गरे । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले देशको अर्थतन्त्रमा हाल सुधार हुँदै आएको दाबी गरे । देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्ने गरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको दाबी गर्दै मुलुकमा देखिएको समस्याको समाधान गर्न आफूहरू तत्पर रहेको जनाए ।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको जिकिर गरे । पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान गर्न सरकारले प्रयास गरिरहेको मन्त्री पौडेलले दाबी गरे । पोखरामा धेरै सम्भावना र पोखरेलीको मागअनुसार सरकारले विमानस्थल निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको तर जनताले अपेक्षा गरे अनुसारको तत्काल नतिजा भने दिन नसकेको उनले जनाए ।

पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गर्दै आएको जनाएका मन्त्री पौडेलले यस विषयमा सरकार निकै गम्भीर भएको उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले प्रदेशशमा कृषि तथा पर्यटन विकासको अथाह सम्भावना रहेको दाबी गर्दै यस क्षेत्रमा आकर्षक कर्जा प्याकेज ल्याउन बैंकहरूलाई आग्रह गरे ।

प्रतिनिधिसभा सदस्य दामोदर पौडेल (वैरागी) ले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बैंकहरूलाई सुझाव दिए । राष्ट्रिय वाणिज्य बैंकका सञ्चालक रामप्रसाद ज्ञवालीले आर्थिक सूचकहरूले देशको अर्थतन्त्र सकारात्मक दिशामा आएको बताउँदै अझै नेपालको उत्पादनको क्षेत्र भने निकै कमजोर अवस्थामा पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्