Logo

काँकडभिट्टा नाकाबाट भारततर्फ लसुन तस्करी

बिर्तामोड– झापाको पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ चिनियाँ लसुन तस्करी हुने गरेको तथ्यांकले देखाएको छ । जनपद र सशस्त्र प्रहरीकै मिलेमतोमा व्यापारीहरूले अवैध रूपमा चिनियाँ लसुन साइकल, मोटरसाइकल, ठूला गाडी र भरियामार्फत भारततर्फ तस्करी गर्ने गरेको तथ्य सार्वजनिक भएपछि उक्त कुरा बाहिर आएको हो ।

चालु आर्थिक वर्ष (आव) २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा ६ अर्ब १८ करोड ५४ लाख रुपैयाँबराबरको लसुन नेपालले आयात गरेको थियो । ती सबै लसुन भारत तस्करीका लागि ल्याइएको बताइएको छ । गत आवमा दुई अर्ब २२ करोड रुपैयाँको मात्रै लसुन आयात भएकोमा चालु आव २०८१/८२ को साउनदेखि पुस मसान्तसम्ममा ६ अर्ब १८ करोड ५४ लाख रुपैयाँबराबरको लसुन नेपालले आयात गरेसँगै लसुन तस्करी हुनसक्ने अनुमान गरिएको भन्सार विभागले जनाएको छ ।

नेपालमा खास गरी पछिल्ला महिनाहरूमा देखिएको लसुनको ‘अस्वाभाविक आयात’ ले आफूहरू आश्चर्यमा परेको बताउँदै अर्बौ रुपैयाँबराबरको लसुन आयात भएको देखिएपछि त्यसको कारणबारे अध्ययन भइरहेको भन्सार विभागले जनाएको छ । ६ महिनाको अवधिमा नेपालले प्रतिमहिना औसतमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गरेको देखिएको भन्सारको तथ्यांकले देखाएको छ ।

नेपालमा लसुन आयातको परिणाम बढ्दो क्रममा रहेको देखिएकोले लसुन तस्करी बढ्दो रूपमा हुने गरेको आकलन छ । आव २०७६/७७ मा ३१ करोड ५३ लाख रुपैयाँको लसुन आयात गरेको नेपालले आव २०७७/७८ मा एक अर्ब पाँच करोड ९५ लाख रुपैयाँको लसुन भित्र्याएको थियो । आव २०७८/०७९ मा एक अर्ब पाँच करोड ३३ लाख र २०७९/८० मा एक अर्ब ११ करोड रुपैयाँबराबरको लसुन आयात भएको विभागले जनाएको छ ।

आव २०८०/८१ मा दुई अर्ब २२ करोड ५२ लाख रुपैयाँबराबरको लसुन आयात भएकोमा चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब १८ करोड रुपैयाँबराबरको लसुन भित्र्याइएको हो । तस्करहरूले लाइन सहजै मिलाएर नेपाली लसुन भनेर भारत तस्करीको परिणाम बढाएको भए पनि नेपाली लसुन नेपालमै खपत हुने गरेको व्यवसायी बताउँछन् । गत आवको साउनदेखि पुससम्म ८७ करोड ८९ लाख रुपैयाँबराबरको लसुन आयात भएको थियो ।

चालु आवको सोही अवधिमा सात गुणाभन्दा बढी मूल्यबराबरको लसुन नेपालले आयात गरेको विभागले जनाएको छ । यो अवधिमा ९ लाख २० हजार रुपैयाँबराबरको लसुन निर्यात भएको छ । भारतीय अधिकारीहरूले पछिल्ला द्विपक्षीय छलफलका क्रममा नेपालबाट चिनियाँ लसुन अवैध रूपमा भारत भित्रिन थालेको प्रवृत्तिबारे चासो राखेकाले पनि चीनबाट लसुन आयात गरेर अवैध माध्यमबाट भारत निर्यात गरिएको देखिएको छ ।

भारतमा उत्पादन कम भएर माग बढेका बेला नेपालबाट चिनियाँ लसुनको अवैध निकासी बढेको हो । बिरुवा क्वारेन्टीन तथा संरक्षण ऐन, २०६४ र नियमावली, २०६६ मा तोकिएका प्रक्रियाहरू पुर्‍याएर मात्रै नेपालमा निषेध नगरिएका कुनै पनि बिरुवा तथा बिरुवाजन्य उपजहरूको आयात गर्न पाउने व्यवस्था रहेको छ ।

तर, प्लान्ट क्वारेन्टीन तथा विषादी व्यवस्थापन केन्द्रबाट अनुमति नलिईकन बैंकबाट प्रतीतपत्र (एलसी) जारी गराएकै आधारमा आयातकर्ताहरूले लसुन आयात गरेको पाइएको छ । उक्त पृष्ठभूमिमा प्लान्ट क्वारेन्टीन समितिको बैठकले गत मंसीर १७ गते नियमित शत्रुजीवहरूको सूची अद्यावधिक गर्ने निर्णय गरेको छ । तर, सतर्कता अपनाइएको भने पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्