लिपिङ खोला जलविद्युतको सुरुङ ब्रेक थ्रु

दोलखा– सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका– २ मा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ । एक हजार दुई सय ६७ मिटर लामो मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । हिम रिभर पावर कम्पनीले प्रवर्द्धन गरेको १६.२६ मेगावाटको सो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रुसँगै आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ छो–रोल्पा कन्स्ट्रक्सन निर्माण कम्पनीले ब्रेक थ्रु गरेको हो । हेडवक्सतिरबाट र आउटलेटतिरबाट सुरु गरेको सुरुङ जोडिएसँगै अब सुरुङको लाइनिङको काम सुरु हुने आयोजनाको काम गर्दै आएको च्छोरोल्पा कन्ट्रक्सन प्रालि (सिआरसी) का प्रबन्ध निर्देशक फुरलाक्पा शेर्पाले जानकारी दिए ।
आयोजनाको ब्रेक थ्रु कार्यक्रममा सिन्धुपाल्चोक– १ बाट निर्वाचित बागमती प्रदेश सांसद् सरल सहयात्री पौडेल, प्रवद्र्धक कम्पनीका सञ्चालकहरू, वित्तीय लगानी गर्ने बैंकका प्रतिनिधिहरू र निर्माण व्यवसायी, मजदुरहरूको सहभागी थियो । सुरुङ ब्रेक थ्रु गर्नु जलविद्युत आयोजनाहरूका लागि महत्त्वपूर्ण मानिन्छ । ब्रेक थ्रुपछि सबैले खुशीयाली मनाएका छन् ।
आयोजनाको निर्माण निता–केसी जेभी र छो–रोल्पा कन्स्ट्रक्सनले गरिरहेको छ । आयोजनाको डिजाइन, सुपरीवेक्षण र मूल्यांकनको लागि परामर्शदाताको रूपमा कन्सल्टेन्ट ट्रयाक हाइड्रो रहेको छ । सिआरसीको लिपिङ खोला जलविद्युत आयोजनाको सुरुङ निर्माण तेस्रो सफलता हो । सिआरसीले यसअघि ग्रीन लाइफ हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सुरुङ निर्माण सम्पन्न गरिसकेको छ ।
हाल कम्पनीले रोल्वालिङ खोला जलविद्युत आयोजनाको सुरुङ, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाढीपछिको डिस्याण्डर सफाइ र पुर्ननिर्माणको काम गर्दै आएको छ । चीनसँगको सीमा नजिकै रहेको लिपिङ खोलाको पानी सदुपयोग गरेर निर्माण भएको आयोजनाको विद्युत गृहसम्म सडक पुगेको छ । हेडवक्ससम्म कठिन भूगोलका कारण सडक लैजान असम्भव भएकाले निर्माण सामग्री र उपकरणहरू ढुवानीका लागि हेलिकप्टरको प्रयोग भएको छ भने २ वटा रोपवे तयार गरेको हो ।
आयोजनाको हेडवक्स क्षेत्रको इन्टेक, बाँध, डिस्याण्डरलगायतका सिभिल संरचनाको काम पूरा भएको छ । त्यसैगरी विद्युत गृहको काम पनि पूरा गरी मेसिन जडानको काम जारी छ । आउँदो नयाँ वर्षसँगै विद्युत उत्पादन थाल्ने लक्ष्यका साथ आयोजनाको काम जारी रहेको कार्यकारी निर्देशक सुदिपकुमार चौधरीले बताए । ३ अर्ब ४० करोड लागतमा निर्माणाधीन आयोजनाको बाढी पहिरोका कारण केही ढिला भएको हो ।
उनका अनुसार बाँधदेखि एक हजार दुई सय ६७ मिटर सुरुङ र एक हजार दुई सय मिटर पेनस्टक पाइपमार्फत लिपिङ खोलाको पानी उत्पादन गृहमा खसाली विद्युत उत्पादन हुने छ । आयोजनाको हेड सात सय ९२ रहेको छ । आयोजनाको विद्युत गृह लिपिङ बजारदेखि ३ सय मिटरमाथि रहेको छ ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न आयोजना आफैँले लिपिङदेखि चाकुसम्म १४ किलोमिटर लामो १३२ केभीको ट्रान्समिसन लाइन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाले २६ लाख ६० हजारबराबरको आयोजना प्रभावित र सर्वसाधारणका लागि सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।