यो वर्ष बन्दैन ग्वार्को ओभरपास

काठमाडौं– ललितपुरको ग्वार्कोमा आगामी चैतसम्ममा ओभरपास नबन्ने देखिएको छ ।
सरकारले अहिले ओभरपास निर्माण कम्पनीलाई हर्जना तिराएर काम गराइरहेको छ । अहिलेसम्म ८२ प्रतिशतमात्र काम भएको ओभरपासको निर्माण सक्ने लक्ष्य आगामी चैतलाई राखिएको छ । तर, यो समयमा पनि निर्माण पूरा हुने अवस्था देखिँदैन ।
सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले यो योजना हेरिरहेको छ । केन्द्रका निर्देशक दीप बाराहीले आगामी चैतभित्र ओभरपास निर्माण पूरा हुन कठिन भएको जानकारी दिए । ‘रोकिएको काम पुनः सुरु भएको छ । निर्माण कम्पनीलाई चैतभित्र पूरा गर्ने गरी काम गर्न निर्देशन दिएका छौं,’ उनले कारोबारसँग भने, ‘तर चैतभित्रै सक्न गाह्रो छ । समयमा पूरा गर्न प्रयासरत छौं । केही तलमाथि पर्न सक्छ ।’
यो ओभरपासको ठेक्का सम्झौता २०७८ फागुन १२ मा भएको हो । १७ करोड ६ लाख रुपैयाँमा बनिरहेको आयोजना दुई वर्षमा पूरा गर्ने गरी आशिष–समानान्तर जेभीसँग सम्झौता भएको हो । तर, सरकारले यसको डिजाइन परिवर्तन गर्दा एक वर्षसम्म निर्माण कम्पनीले काम गर्न पाएन । १.५ मिटरको ब्यास र ३४ मिटर लम्बाइ भएका ४–४ वटा पाइल भएको ओभरपास पुलसहितको डिजाइन सडक विभागले २०७९ माघ २३ मा स्वीकृत गरेको थियो ।
योजना निर्माणमा सुरुमा दिइएको अवधि पूरा भएर थप एक वर्ष म्याद बढाइएको थियो । सम्झौताअनुसार २०८० फागुन १२ मा ओभरपास निर्माण पूरा हुनुपर्ने थियो । सुरुको समय सकिएपछि सरकारले २०८१ पुस ८ सम्म दोस्रो समय दिएको थियो । तर, निर्माण कम्पनीले थपिएको समयमा पनि काम पूरा गर्न सकेन । त्यसपछि विकास केन्द्रले पुस ९ बाट ‘लिक्युडिटी ड्यामेज’ बापत हर्जाना तिराएर चैतभित्र पूरा गर्ने गरी काम गराइरहेको छ । ठेक्का रकमको ०.०५ प्रतिशत हर्जाना तिर्ने गरी कम्पनीले अहिले काम गरिरहेको छ ।
चैतमा काम पूरा नहुनुको अर्को कारण बीचमा करिब एक महिना काम नहुनु पनि हो । निर्माण कम्पनी गएको पुस १८ बाट काम रोकेर सम्पर्कविहीन भएको थियो । अहिले केही दिन अघिदेखि मात्र फेरि काम गरिरहेको छ ।
अर्को र्याम्प रिस्टल गर्नुपर्ने भएकाले पनि थप समय लागेको निर्देशक बाराहीले बताए । अहिले ओभरपासमा जाने एप्रोच सडक र आइरन वाल निर्माण भइरहेको छ । उनका अनुसार सातदोबाटोतर्फको र्याम्पमा त्रुटि देखिएकाले यसलाई पुनः रिइन्स्टल गरेर सडक तयार गर्नु पर्नेछ । उनका अनुसार सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्याम्प निर्माण हुनेमा ४० मिटरमा त्रुटि देखिएको हो ।
यसैगरी ओभरपासको कोटेश्वरतर्फ पर्खाल बनाउने काम पनि सुस्त छ । तर, अन्य पूर्वाधारको काम सकिएकाले र्याम्प तयार गरेर सब–बेस बनाई कालोपत्रे गरिनेछ । ग्वार्को ओभरपास इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको छ । ग्वार्को चोकमा ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डमा चल्ने सवारीसाधन ओभरपासबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ चल्ने सवारीसाधन ओभरपासको सडक खण्डबाट गुड्नेछन् । ग्वार्को ओभरपास निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभु सडक खण्डमा सवारीसाधनलाई सुरक्षित, सुगम तथा व्यवस्थित तरिकाले आवागमन गर्न सुविधा हुनेछ ।
यो ओभरपास निर्माणका लागि बिएन्डबि अस्पतालबाट बालकुमारी नजिकसम्म र्याम्प उठाइएको छ । यसमा बालकुमारीतर्फ ३२० मिटर र सातदोबाटो जानेतर्फ १८५ मिटर लम्बाइको र्याम्प निर्माण हुनेछ ।
ओभरपास र्याम्पको लम्बाइ ५ सय ५ मिटर, ३६ मिटर पुल गरी कुल ५ सय ४१ मिटर हुनेछ । उचाइ ६ मिटरको हुनेछ । ३० मिटर स्पानको ४ लेनको पुलसहितको ओभरपास निर्माण भइरहेको छ । ओभरपास बनाउन अहिले आठ लेन सडकमध्ये बीचका चार लेन बन्द गरिएको छ । सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ ।