Logo

यथाशीघ्र अध्यादेश अनुमोदन गर्ने सहमति

काठमाडौं– सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवासमा शनिबार भएको बैठकमा जारी गरिएका अध्यादेश संघीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति बनेको छ ।

बैठकमा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम तत्काल अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले जानकारी गराए । ”आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छन् । सकारात्मक रुपमा यो विषय टुंगोमा पुग्छ”, बैठकपछि संवाददातामाझ उनले भने ।

उनले यस विषयमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेताहरुसँग पनि सहमति जुटेको दावी गरे । यसअघि जसपाले भुमी अध्यादेशमा असन्तुष्टि जनाएको थियो । लेखकले सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया सुरु हुने बताए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्