Logo

रकम फिर्ता गर्दै भूकम्पपीडित

सिन्धुपाल्चोक-भूकम्पले घर ढालेपछि प्रभावित बनेको सिन्धुवासीले आवास निर्माण नगर्ने भन्दै अनुदानवापतको रकम सरकारलाई फिर्ता गर्न थालेका छन् । लामो समयदेखि पहिलो किस्ता वापतको रकम लिएर घर नबनाएकाहरुले अनुदान फिर्ता गर्न थालेका छन् ।
अर्काे स्थानमा सुरक्षित घर भएका तथा अब घर नबनाउने मानसिकतामा पुगेका भूकम्प प्रभावितहरुले अनुदान फिर्ता गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन शाखाका अनुसार यसरी अनुदान फिर्ता गर्नेको संख्या चौध परिवार पुगेको छ । मंगलबार कार्यालयमै आएर चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ७ का अमिरबहादुर केसीले मंगलबार पहिलो किस्ता फिर्ता गरेसँगै अनुदानको रकमले आवास निर्माण नगर्ने परिवारको संख्या चौध पुगेको हो ।
छोराछोरी विदेश रहेको र आफूलाई घर आवश्यक नपर्ने भएकाले अनुदान रकम फिर्ता गरेको अमिरबहादुरले बताए । “घर नबनाउने भएपछि सरकारलाई पैसा फिर्ता गरेको हुँ ।” उनले भने । अमिरबहादुर आफैंमा वृद्ध छन् । आफू रोगी भएको र घरमा एक्लै भएकाले नयाँ घर निर्माणका लागि अनुदान आवश्यक नपरेको उनले बताए ।
तत्काल घर बनाउन थाल्नुपर्ने अथवा रकम फिर्ता गर्नुपर्ने प्राधिकरणले अनुरोध गरेपछि सिन्धुपाल्चोकमा रकम फिर्ता गर्नेहरु बढेका हुन् । अर्काे स्थानमा सुरक्षित घर भएकाहरुले रकम फिर्ता गर्न थालेका हुन् । जिल्लाका केही भूकम्प प्रभावितले सरकारले दिएको अनुदानले घर नबन्ने भएपछि पनि पहिलो किस्तावापत लिएको पचास हजार रुपैयाँ फिर्ता गर्न थालेका छन् । अन्य आयस्रोत नभएको, बैंकले ऋण नदिएर घर निर्माण गर्न नसक्ने भएपछि रकम फिर्ता हुनसमेत थालेको हो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का महेन्द्र गिरीले केही समयअघि भूकम्प प्रभावितको नाममा लिएको अनुदान वापतको पहिलो किस्ताको ५० हजार फिर्ता गरे । रौतहटमा आफ्नो बस्न योग्य भएकाले इमान्दारिताका साथ रकम फिर्ता गरेको गिरीको भनाइ छ । “पहिला सबैले लगे, लहैलहैमा लगेको थिएँ, अहिले त्यो रकम राख्न मनले नै मानेन ।” उनले भने । उनले वास्तविक भूकम्प प्रभावित नभएर कागजात मिलाएर अनुदान रकम लिने अन्यलाई समेत फिर्ता गर्न आग्रह गरे ।
कागजात बनाएर उसरी अनुदान लिइ व्यक्तिगत आवास निर्माण नगर्नेहरुलाई कारवाही हुने समाचार सञ्चारमाध्यममा सुनेपछि उनीहरुले रकम फिर्ता गरेका हुन् । व्यवस्थापन शाखाका सूचना अधिकारी रविराज धितालका अनुसार पहिलो किस्ता फिर्ता गर्नेमा सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी –२ का पदमबहादुर तामाङ, सुनकोशी –१ का प्रेमबहादुर कार्की, मेलम्ची–४ का कृष्णहरि खनाल रहेका छन् । त्यस्तै सुनकोशी–६ का सीताराम भण्डारी, चौतारा साँगाचोकगढी नगरपालिका–९ का बादल तामाङ, मेलम्ची–१३ का झंकप्रसाद दंगाल, हेलम्बु–१ का मिङमार लामा, महेन्द्र गिरी, चौतारा–७ का राजेन्द्र श्रेष्ठ, जगत बहादुर श्रेष्ठ, चन्द्रकुमारी दंगाल र बलेफी–७ की ददिमाया पौडेल रहेका छन् ।
अनुदान लिएर घर नबनाउनेहरुलाई प्राधिकरणले कि त तत्काल घर बनाउन कि त रकम फिर्ता गर्न आग्रह गरेको छ । भूकम्पले घर भत्किएको विवरण बुझाएर पहिलो किस्ता बापतको ५० हजार रकम लिइसकेको तर घर नबनाउनेहरुको विवरण स्थानीय तहमार्फत प्राधिकरणले संकलन गरिरहेको सूचना अधिकारी धितालले जानकारी दिए ।

किशोर बुढाथोकी

प्रतिक्रिया दिनुहोस्