सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाइने «

सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाइने

सरकारले सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । प्रत्येक वर्ष १५ मार्चमा मनाइँदै आएको उपभोक्ता अधिकार दिवस यो वर्ष सातै प्रदेशमा मनाउन लागिएको हो ।
संघीय संरचनाअनुसार बजार अनुगमन र उपभोक्ता सचेतना कार्यक्रम स्थानीय तहबाट गर्ने गरी सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाउन लागिएको आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव अनिलकुमार ठाकुरले आगामी १५ मार्चमा सातै प्रदेशमा उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरिएको जानकारी दिए । “प्रत्येक प्रदेशका सम्बन्धित मन्त्रालय, स्थानीय जनप्रतिनिधिलाई बोलाएर उपभोक्ता अधिकार दिवस मनाउने तयारी गरेका छौं,” सचिव ठाकुरले भने, “केन्द्रबाट गर्दै आएको बजार अनुगमन र उपभोक्ता सचेतना कार्यक्रम हस्तान्तरण गरिने छ ।” मन्त्रालयका सहसचिव अथवा उपसचिवको नेतृत्वमा सातै प्रदेशमा उपभोक्ता अधिकार मनाउन लागिएको उनले बताए । कार्यक्रममा अनुगमनमा देखिएका समस्या, उपभोक्तासम्बन्धी ऐन, कानुन र उपभोक्ता अदालतका बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराइने सचिव ठाकुरले जानकारी दिए ।
केन्द्रबाट गरिँदै आएको बजार अनुगमनको काम अब स्थानीय तहबाटै गर्न स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरिने सचिव ठाकुरको भनाई छ ।
मन्त्रालयले नगरपालिका, गाउँपालिका र वडाका जनप्रतिनिधिलाई राखेर उपभोक्ता जागरण कसरी गर्ने भनेर तालिम सञ्चालन गर्दै आएको छ । उपत्यकाका विभिन्न १६ वटा नगरपालिकामा सो कार्यक्रम सकेर उपत्यका बाहिरी जिल्लाका जनप्रतिनिधिलाई तालिम दिने काम भइहेको मन्त्रालयले जनाएको छ ।
स्थानीय निकायबाट बजार अनुगमन गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका/नगरपालिकाबाट गरिने बजार अनुगमनको निर्देशिका २०७४ तयार गरिसकेको छ ।
उपभोक्ताको हित संरक्षणसम्बन्धी विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एवं समन्वय गर्न गाउँपालिका/नगरपालिकाले उपभोक्ता हित संरक्षण समितिको गठन गर्ने निर्देशिकामा उल्लेख छ । समितिले उपभोक्ता हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्था, अत्यावश्यक वस्तुको माग र आपूर्तिको अवस्थासम्बन्धी तथ्यांक संकलन र मागको प्रक्षेपण गर्नेछ । त्यस्तै उपभोक्ताको हित संरक्षण गर्न आपूर्ति व्यवस्था र उपभोग्य वस्तु वा सेवाको छड्के अनुगमन र अनुगमनसम्बन्धी कामको मूल्यांकन गर्ने र टोलीलाई आवश्यकताअनुसार मार्गदर्शन गर्नेछ ।
वस्तु वा सेवा प्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित एवं आकस्मिक अनुगमन गर्न गाउँपालिका/नगरपालिकाले बजार अनुगमन टोली गठन गर्ने व्यवस्था निर्देशिकामा छ ।
सरकारले प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवस मनाए पनि दिनहुँजसो उपभोक्ता ठगिने क्रम बढ्दो छ । हाल केन्द्रमा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएको छ । विभागले बजार अनुगमन गरे पनि दिनहुँजसो उपभोक्ता ठगिरहेका छन् । बजारमा म्याद नाघेका, लेबल नभएका, मूल्यसूची नराख्ने, तौलमा कमी, व्यवसाय दर्ता नगरेको, बढी मूल्य लिएको, कम गुणस्तरको सामान बिक्री गर्ने जस्ता समस्या धेरै हुने गरेका छन् । दैनिक उपभोग्य वस्तुदेखि अधिकांश सामानमा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् ।
२० प्रतिशतभन्दा बढी नाफा खान नपाइने कानुनी व्यवस्था भए पनि व्यवसायीले तेव्बरसम्म मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । विशेष गरी खाद्यान्न, लत्तकपडा, औषधि, अस्पताल, यातायात, पेट्रोलियम पदार्थलगायतका अन्य क्षेत्रमा उपभोक्ता बढी ठगिने गरेको अनुगमनका क्रममा फेला परेको छ । उपभोक्ता हक अधिकार सुरक्षित राख्नका लागि थुप्रै ऐन कानुन भए पनि प्रभावकारी रूपमा कार्यान्वय नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्