Logo

अवैध रुपमा माटो बोक्दै गरेका ९ वटा टिपर नियन्त्रणमा

काठमाडौं- जिल्ला प्रशासन कार्यालय, भक्तपुर नेतृत्वको टोलीले अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा ९ वटा टिपर नियन्त्रण लिएको छ । शुक्रबार कार्यालयले अवैध रुपमा माटो बोक्दै गरेको अवस्थामा चाँगुनारायण नगरापालिका वडा नं ५ बाट ९ वटा टिपर नियन्त्रण लिएको हो । अवैध रुपमा माटो ओसार-पसार हुने गरेको भन्दै स्थानीयको चर्को विरोधपछि कार्यालयले नगरापालिकासँगको सहकार्यमा छड्के अनुगमन गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीबी भण्डारीले अवैध रुपमा माटो ओसार-पसार हुने गरेको सुचना पाएपछि नगरापालिकासँगको सहकार्यमा छड्ने अनुगमन गरेको जानकारी दिए । सो क्रममा ९ वटा टिपर नियन्त्रणमा लिइ नगरापालिकालाई जिम्मा लगाइएको बताए ।

यता, चाँगुनारायण नगरापालिकाका शाखा अधिकृत/सूचना अधिकारी अनुप लामिछानेले पनि जिल्ला प्रशासन कार्यालय र नगरको टोलीले गरेको संयुक्त अनुगमनका क्रममा ९ वटा टिपरले स्वीकृति बिना माटो ओसार-पसार गरेको पाइएपछि नियन्त्रण लिएको स्वीकार गरे । उनले शुक्रबार भएकाले टिपर साँचो नियन्त्रणमा लिइ राखिएको र आइतबार थप छलफलपछि आर्थिक ऐनमा व्यवस्था गरिएको बमोजिम जरिवाना हुने बताए ।

आर्थिक ऐनमा स्वीकृति विना माटो बालुवा ओसार-पसार गरेको पाइए निसान गाडीलाई २८ हजार, टिपरलाई ४३ हजार र डोजरलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय चाँगुनारायण नगरपालिका विशेष गरी वडा नं ३ र ५ मा अवैध रुपमा माटो ओसार-पसार हुने गरेको छ । व्यवसायीहरुले घरजग्गा सम्याउने नाममा नगरापलिकाबाट ५/६ वटा गाडीको स्वीकृत लिई ४०/५० वटा गाडीबाट माटो ओसारपार गर्ने गरीएको स्थानीयको दावी छ ।

यस विषयमा स्थानीय जनप्रतिनिधिका साथै प्रहरी प्रशासन पनि अनविज्ञ भने छैन । तर पनि प्रहरी र जनप्रतिनिधिलाई हातमा लिइ यस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ । यता, शुक्रबारै चाँगुनारायण नगरपालिका वडा नं ३ कोल्पाकोट ओरालोमा निसान गाडीले चाँगुनारायण नगरपालिका वडा नं ५ पिखेल बस्ने ७२ वर्षीय केकई मग्रराती मगरलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

माटो बोक्न प्रयोग हुँदै आएको प्रदेश ३–०१–००३ क ४६३७ नम्बराको निसान गाडी व्यासीबाट झैखेल तर्फ जाँदै गर्दा ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको काठमाडौं मेडिकल अस्पताल दुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा प्रहरीले भक्तपुर नगरपालिका वडा १० कमलविनायक बस्ने ५७ वर्षका चालक ईन्द्र नारायण सितखुलाई नियन्त्रण्मा लिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्