सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको भौतिक निर्माणलाई तीव्रता दिन सडक विभागलाई निर्देशन दिएका छन् ।
मन्त्री खड्काले शुक्रबार सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायतको टिमसँगको भेटमा सडक तथा पुल निर्माण समयमा नहुँदा सङ्खुवासभावासीले दु:ख पाएको भन्दै ठेक्का लागेका आयोजनालाई चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले सङ्खुवासभाको बहुप्रतिक्षित खाँदबारी–किमाथाङ्का सडक र जिल्लाका अन्य सडकको अवस्थाबारे जानकारी लिँदै पुल र सडक निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिए ।
”पुल नहुँदा सिलिचोङ गाउँपालिका सङ्खुवासभा जिल्ला नै होइन जस्तो भएको छ, सिलिचोङका जनताले साह्रै दु:ख पाएका छन् । सिलिचोङ जोड्ने पुल निर्माणलाई तत्काल अगाडि बढाउनुहोस्”, मन्त्री खड्काले भने । उनले खाँदबारी–किमाथाङ्का सडक कालोपत्र गर्न उत्तरी क्षेत्रमा बजेट अभाव हुन नदिन चीन सरकारसँग छलफल गर्ने बताए ।
भेटमा सडक विभागका महानिर्देशक पोखरेलले कोसी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकलाई विभागले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले हालसम्म खाँदबारीदेखि किमाथाङ्कासम्मको ४९ किलोमिटर सडक कालोपत्र भइसकेको जानकारी गराए ।
महानिर्देशक पोखरेलले सङ्खुवासभाका अन्य सडक तथा पुललाई पनि विभागले समयमै सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे । भेटमा सडक विभागका उत्तर–दक्षिण आयोजना निर्देशक नवीनमान श्रेष्ठ तथा विभागका कोशी राजमार्गअन्तर्गतको खाँदबारी किमाथाङ्का सडकका योजना प्रमुख रामबहादुर गुरुङ सहभागी थिए ।