बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषित

हेटौंडा– वि.सं. २०८७ सम्ममा नेपालका सबै स्थानीय तहलाई बालमैत्री बनाउने नेपाल सरकारको लक्ष्यअनुरुप हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरिएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार हेटौंडा–५ स्थित क्याम्पाडाँडामा आयोजित समारोहमा हेटौंडा उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गरेका हुन् ।
बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा शतप्रतिशत, एउटा सूचकमा ९९.९४ प्रतिशत, एउटा सूचकमा ९९.८९ प्रतिशत, एउटा सूचकमा ९९.८७ प्रतिशत प्रगति हासिल गरिएको छ । त्यस्तै अर्को एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८.६३ प्रतिशत, एउटा सूचकमा ९६.८४ प्रतिशत, एउटामा ९१ प्रतिशत र एउटा सूचक ८८.०६ प्रतिशत नजिता हासिल भएपछि उपमहानगरलाई बालमैत्री घोषणा गरिएको हो ।
उपमहानगरमा १८ वर्ष भन्दा कम उमेर समूहका ५० हजार १९५ जनसंख्या रहेका छन् । जसमा २६ हजार १४५ बालक र २४ हजार ५० बालिका रहेका छन् । बालबालिकाको सङ्ख्यालाई आधार मान्दा ५२.८ प्रतिशत बालक र ४७.२ प्रतिशत बालिका रहेका छन् । नेपाल सरकारले बनाएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ मा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बाल अधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्देश्य राखिएको छ ।
स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्देश्य निर्देशिकाको छ । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका बाल बचाउका १४ सूचक, बाल संरक्षणका १० सूचक, बाल विकासका छ सूचक र बाल सहभागिताका छ सूचक गरी सेवा प्रवाहसम्बन्धी सूचक ३६ वटा र संस्थागत विकासका १५ सूचक गरी जम्मा ५१ वटा सूचक उल्लेख गरिएको छ ।
उपमहानगरमा २६५ टोल स्तरीय र १०६ वटा बाल समूह गरी जम्मा ३७१ वटा बाल समूह तथा १९ वडा स्तरीय र १ नगर स्तरीय गरी २० वटा बाल समूह सञ्जालसहित ३७१ वटा बालबालिकाका संरचना क्रियाशील अवस्थामा छन् । ती विभिन्न संरचनागत समितिसमेत गरी ९ हजार २५० जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको बताइएको छ । २०७९ भदौ २४ गते हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले सम्पूर्ण वडा र नगरलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणाको तयारी गर्ने निर्णय गरेको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा कार्यक्रममा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकका साथै संघ, प्रदेश र स्थानीय सरकारले जिम्मेवार भएर काम गर्नुपर्ने बताए । आवश्यक सूचकहरू पूरा गर्दै उपमहानगरलाई बालमैत्री घोषणा गर्न सफल भएकोमा बधाईसमेत दिँदै बालमैत्री स्थानीय शासनयुक्त घोषणा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे ।