Logo

भैरहवा क्षेत्रका तारे होटलमा भ्यालेन्टाइन डे प्याकेज

भैरहवा– भ्यालेन्टाइन डे (प्रणय दिवस) लाई लक्षित गर्दै भैरहवा र वरपर क्षेत्रका तारे होटलहरूले भ्यालेन्टाइन अफर ल्याएका छन् । खासगरी जोडीहरुलाई लक्ष्यित गरी ती होटलहरुले प्याकेज ल्याएका हुन् । लन्च अथवा क्यान्डल लाइट डिनर, ब्रेकफास्ट, बसोबास तथा सजावटसहितका विशेष कोठाका प्याकेजमा छुटका अफर रहेका छन् । होटल तथा रिसोर्टमा भ्यालेन्टाइन अफर युगल जोडी मात्र नभई वैवाहिक जोडी साथै ज्येष्ठ नागरिकलाई समेत हुने गरी बनाइएको होटलका प्रतिनिधिहरुले बताएका हुन् ।

यस्ता अफरका कार्यक्रममा म्युजिकल इभेन्टदेखि उपहारसम्मका योजना रहेका छन् । पछिल्लो समय होटल रिसोर्ट तथा रेष्टुरेन्टहरूमा गएर आफ्ना नजिककासँग गएर भ्यालेन्टाइन मनाउने प्रचलन नेपाली समाजमा बढ्दै गएको छ । रुपन्देहीको पाँचतारे होटल टाइगर प्यालेस बाइ सोल्टीले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै २ प्रकारका प्याकेज ल्याएको होटलकी सिनियर सेल्स एक्जुकेटिभ निशा थापाले बताइन् ।

थापाका अनुसार टाइगरले भ्यालेन्टाइन डेको विशेष स्पेसल प्याकेज ३९ हजार ९ सय ९९ रूपैयाँको ल्याएको छ । यो एकदमै विशेष र भ्यालेन्टाइन डेको सबैभन्दा आकर्षक प्याकेज हो । त्यसैगरी उक्त होटलले पुल साइडमा सांगीतिक कार्यक्रमसहितको डिनर प्याकेज ल्याएको छ । जसमा युगल जोडीका लागी चार हजार ५ सय रूपैयाँ र सिंगलका लागि २ हजार ५ सय रूपैयाँ रहेको थापाले बताइन् । भैरहवास्थित अर्को पाँच तारे होटल सिद्धार्थ भिलाषाले भ्यालेन्टाइन डे लाई लक्षित गर्दै आकर्षक प्याकेज ल्याएको छ ।

युगल जोडीका लागि एकरातको १४ हजार ९ सय ९९ रूपैयाँको प्याकेजमा आकर्षक रूपमा सजाइएको भ्यालेन्टाइन रुमका साथै एक जोडीका लागी क्यान्डललाइट डिनर रहेको होटलका सञ्चालक महेन्द्र न्यौपानेले बताए । एक सातादेखि सुरु भएको भ्यालेन्टाइन अफरमा अन्य होटलले प्रदान गर्ने सेवा सुविधामा पनि छुटको व्यवस्था मिलाइएको न्यौपानेको भनाइ छ ।

चार तारे होटल नान्सले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै भ्यालेन्टाइन गेटवे नामक अफर ल्याएको महाप्रबन्धक सुनिल श्रेष्ठले जनाए । यो अफरमा रुम र ब्रेक फास्ट समावेश गरिएको छ । जसअनुसार प्रेसिडेन्सियल सुइट रुमको १५ हजार रूपैयाँ र जुनियर सुइट रुमको ६ हजार पाँच सय रूपैयाँ रहेको छ । दुवै अफरमा ब्रेक फास्टसमेत एक जोडीलाई रहेको छ । अन्य खानालगायतका मेनु अनुसारको परिकारमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ ।

युवा एवं युगल जोडीलाई लक्षित गर्दै अफर ल्याइएको श्रेष्ठको भनाइ छ । चार तारे होटल मौर्याले जोडीका लागी १० हजार ९ सय ९९ रूपैयाँको प्याकेज ल्याएको छ । यो प्याकेजमा प्रेमिलमय हुने गरी आकर्षक रूपमा सजाइएको एक्जिक्युटिभ सुइट रुमका साथै ब्रेकफास्ट र गुलाफको फुल उपहार उपलब्ध हुने होटल मौर्यका प्रबन्ध निर्देशक रामबहादुर कोइरीले बताए । त्यसैगरी होटलले ५ हजार ५ सय ५५ रूपैयाँको भ्यालेन्टाइन डे स्पेसल प्याकेज ल्याएको छ ।

यसमा सुपर डिलक्स रुमका साथै ब्रेकफास्ट, मकटेल र जोडीलाई गुलाफको फुल उपहार रहेको छ । दुवै अफरमा होटलको मेनुमा फुड एन्ड बेभरेजतर्फ १५ प्रतिशतसम्म छुट दिइएको छ । चार तारे ड्रिमल्याण्ड रिसोर्टले ल्याएको भ्यालेन्टाइन अफरमा आकर्षक रूपमा सजाइएको रुमका साथै क्यान्डललाइट डिनर, बिबिक्यु स्पेशल, भ्यालेन्टाइन केकका साथै सांगीतिक कार्यक्रमसमेत रहेको छ ।

सहरका अन्य चार तारे होटल निर्भाना लक्जरी इन्टरनेशनल, एशियन वुद्ध, बोधिरेडशन, ल्याण्डमार्क भैरहवाले समेत भ्यालेन्टाइन डेमा छुटसहितका आकर्षक प्याकेज ल्याएका छन् । तारे होटलसँगै अन्य पर्यटकीय होटलहरूले पनि भ्यालेन्टाइन प्याकेज ल्याएको होटल व्यवसायी एवं ल्याण्डमार्क भैरहवाका प्रबन्ध निर्देशक आशा गुरुङले बताए । प्रत्येक वर्ष १४ फेब्रुअरीका दिन प्रणय दिवसका रूपमा भ्यालेन्टाइन डे मनाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहोस्