Logo

सुन आयातमा व्यवसायीबीच मतभेद

काठमाडौं- राष्ट्र बैंक गर्न लागेको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ परिमार्जनमा व्यवसायीबीच मतभेद रहेको छ । सोही कारण सुन व्यवसायीको फरक–फरक धारणा आएको हो । एक थरी व्यवसायीले कोटा प्रणालीलाई नै यथावत् राखी कार्यविधि परिमार्जन हुनुपर्ने धारण राखेका छन् भने अर्काे थरी व्यवसायीले सुन आयातको कोटा प्रणालीलाई हटाइ खुला गर्नु पर्ने माग गरेका छन् ।

विशेष गरी सुन व्यवसायीहरुका छाता संगठनले हालकै कोटा प्रणालीलाई यथावत् राखी २० किलो बढाएर बजारको माग अनुसार ४० किलोसम्म पुर्‍याउनु पर्ने माग गरेका छन् । विशेष गरेर विवाह मौसममा सुनको माग बढ्ने हुँदा आयातको कोटा बढाउने र माग कम हुँदा कम गर्ने नीतिगत व्यवस्था गर्नुपर्ने सुन व्यवसायीका छाता संगठनको माग छ । तर, अन्य व्यवसायीहरुले भने सुन आयात खुला स्वतन्त्र हुनुपर्ने माग गरेका छन् ।

विदेशी मुद्रा विनिमय सञ्चिती अभाव भएको समयमा राष्ट्र बैंकले नियमन गर्ने प्रतितपत्र ( एल्सी) खोलेर व्यवसायी आफैले लगाउन पाउने नीतिगत व्यवस्था गर्नु पर्ने माग राखेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका कोषाध्यक्ष सुदीप श्रेष्ठ सुन कोटा प्रणालीबाट आयात गर्दा सही हुने बताउँछन् । आयात खुला गर्दा मुलुकमा विदेशी मुद्रा विनिमय सञ्चितिमा चुनौती हुनका साथै व्यवसाय भित्रै विकृति निम्तने सक्ने उनको धारण छ ।

कोषाध्यक्ष श्रेष्ठ भन्छन्,‘ कोटा प्रणाली हटाएर खुला गर्‍याे भने अत्यधिक मात्रामा सुन भित्रिन सक्ने हुँदा राज्यले नै धान्न सक्दैन । अहिले राज्यसँग विदेशी मुद्रा विनिमय सञ्चिति धेरै भयो भन्दैमा खुला गर्दा भोलीका दिनमा संकट आउन सक्छ । यो अव्यवस्थित हुन्छ’ उनले भने,‘ खुला आयात छोड्दा साना र दुर्गम जिल्लाका व्यवसायीले सुन खरिद गर्न नसकेर व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्था आउँछ ।’

आयात खुला हुनुपर्छ भन्ने हो तर, यसले राज्यलाई पनि मुद्रा सञ्चितिमा चाप पर्छ र ती साना व्यवसायीले सुन खरिद गर्न आफैं धाउनुपर्ने, बैंकसँगको पहुँचमा अप्ठ्यारो हुने भएकोले अहिलेको प्रणालीलाई यथावत राख्नु पर्ने उनको भनाइ छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका वर्तमान अध्यक्ष माणिक रत्न शाक्य सुन आयात खुला हुनुपर्ने बताउँछन् । राष्ट्र बैंकको कोटा प्रणालीले सुन व्यवसाय गर्ने ठूला व्यवसायीलाई माग अनुसार सुन नपाउँदा समस्या भएको उनको भनाइ छ ।

व्यवसायीहरुको क्षमता र मग अनुसार कच्चा सुन नपाउँदा अनौपचारिक व्यापार बढेको छ । शाक्य भन्छन,‘ सुन व्यवसायलाई औपचारिक रूपमा स्वच्छ कारोबार बढाउन र बजारलाई पारदर्शी बनाउन आयात खुला हुनुपर्छ । राष्ट्र बैंकले नियमन गर्ने गरी प्रतितपत्र खोली व्यवसायीले सुन आयात गर्न पाउनुपर्छ । यस्तो नीतिले राज्यको आम्दानी र रोजगारी दुवै बढ्ने हुँदा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा हुनेछ ।’

अहिलेको कोटा प्रणाली र संघ महासंघले सिफारिस गर्ने प्रणालीले ठूलो व्यवसाय गर्न चाहनेले पर्याप्त सुन नपाउँदा व्यवसाय विस्तार गर्न नपाएको उनको गुनासो छ । मुलुकमा विदेशी मुद्रा विनिमय सञ्चितिको अभाव हुँदा राष्ट्रले आवश्यक पर्दा नियन्त्रण गर्न सक्ने नीतिगत व्यवस्था गर्नुपर्छ । तर, पर्याप्त विदेशी मुद्रा विनिमय सञ्चिति भएको खण्डमा आयात खुला गर्नुपर्ने उनको भनाइ छ । अर्का सुन चाँदी व्यवसायी तेजरत्न शाक्य सरकारले विदेशी मुद्रा विनिमय सञ्चिति भएको समयमा सुन आयात खुला गर्नुपर्ने बताउँछन ।

संकट पर्दा राज्यले नियन्त्रण गर्ने र सहज हुँदा व्यवसायीको मागअनुसार खुला गर्ने नीति ल्याउनु पर्ने उनको भनाइ छ । व्यवसायी शाक्यले भने,‘हाल जुन प्रणाली लागु छ, उक्त प्रणालीले स्वच्छ व्यवसाय गर्न नै समस्या छ । अहिले व्यवसायीहरुले आफूलाई आवश्यक भएको समयमा सुन पाउँदैन । बजार खुला गर्दा क्षमता अनुसार व्यवसायीले सुन खरिद गर्न सक्छ । राज्यले विदेशी मुद्रा विनिमय सञ्चितिमा कमी आउँदा आफै नियन्त्रण गर्ने व्यवस्था गर्नुपर्छ ।’

१३ वर्ष अघिदेखिकै कार्यविधिमा सुनको आयात तथा बिक्री वितरण भइरहेको छ । अझै पनि सोही प्रणाली कार्यान्वयन हुने गरी कार्यविधि परिमार्जन गर्नुको कुनै अर्थ नभएको उनको भनाइ छ । राज्यले सुन कारोबारलाई कोटा प्रणाली बनाउँदा व्यवसायीहरुको संवैधानिक हक हनन गरेको उनले गुनासो गरे । संकट पर्दा राज्यले नीतिगत गर्ने सुन आयात खुला गर्ने गरी सुन आयात तथा बिक्री वितरण कार्यविधि परिमार्जन हुनुपर्ने शाक्यको भनाइ छ ।

राष्ट्र बैंकका सहप्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पौडेलका अनुसार व्यवसायीको तर्फबाट सुन आयात खुला गर्नुपर्ने माग जाहेज हो । तर, सुन आयात खुला छोडिदिँदा विदेशी मुद्रा विनिमय सञ्चितिमा चुनौती देखिने हुँदा कोटा प्रणाली नै हाललाई उपयुक्त देखिन्छ । हाललाई विदेशी मुद्रा सञ्चिती बढे पनि सधै अहिलेको जस्तो हुन्छ भन्ने नहुँदा कोटा प्रणालीलाई नै यथावत् हुँदा नियम गर्न सहज हुने उनको भनाइ छ । हाल सुन आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणालीमा सुन आयात र वितरणको व्यवस्था गर्दै आएको छ ।

वाणिज्य बैंकले दैनिक २० किलो मात्रै सुन आयात गर्न पाउँछन् । व्यवसायीले पनि दिनको २० किलो मात्रै किन्न पाउँछन् । तर गहना व्यवसायीले सिधै बैंकबाट सुन किन्न पाउँदैनन् । सुन आयात तथा बिक्रीवितरण कार्यविधि २०६८ अनुसार दैनिक कोटाको ५० प्रतिशत (२० किलोमध्ये १० किलो सुन) कोटा साबिकको बागमती अञ्चलका लागि छुट्याइएको छ । साबिकको बागमती अञ्चलमा छुट्याइएको कोटामा पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले ५० प्रतिशत सिफारिस गर्न पाउँछ ।

बाँकी ५० प्रतिशतमा तीन वटा संस्था (रत्न तथा आभूषण महासंघ, हस्तकला महासंघ, नेपाल कला व्यवसायी संघ) को सिफारिसमा मात्रै व्यवसायीले बैंकबाट गहना किन्न सक्छन् । साबिकका १३ अञ्चलका लागि ५० प्रतिशत कोटा (दैनिक २० किलोको हिसाबले १० किलो) छुट्याइएको छ । यसमध्ये सुनचाँदी व्यवसायी महासंघलाई ६५ प्रतिशत, रत्न तथा आभूषण व्यवसायी महासंघलाई २५ प्रतिशत, नेपाल कला व्यवसायी संघलाई ७.५ प्रतिशत र हस्तकला महासंघलाई २.५ प्रतिशत सिफारिसको अधिकार छ ।

परिमार्जन गर्न सुझाव
आयत गरिएको सुन नेपाल भर बिक्री हुने व्यवस्था मिलाउनु पर्ने, आयातको लागि तोकिएको परिमाण मुलुकभरका लागि भएकोले हाल आयात गरिएको सुन नेपाल भर विक्री वितरण गर्ने व्यवस्था नेपाल बैंकर्स संघले मिलाउनु पर्ने सुझाव सुनचाँदी व्यवसायी संघले दिएको छ ।

आयात गरिएको सुन बिक्री वितरण गर्न नेपाल भरका विभिन्न सुनचाँदी व्यवसायीहरुलाई सदस्य संख्या, पान नम्वर र ठूला करदाताका आधारमा बिक्री वितरण गर्ने गरी कोटा निर्धारण गरी देशभर बिक्री गर्ने व्यवस्था मिलाउनु पर्ने विषय सुझावमा रहेको छ । सुनचाँदी व्यवसायी महासंघलाई ६५, रत्न तथा आभूषण महासंघलाई ३० र नेपाल हस्तकला महासंघलाई ५ प्रतिशत मिलाउनु पर्ने, बैंकहरुले सुनचाँदीसँग सम्बन्धित संघहरुले तोकको ठाउँमा दिने व्यवस्था मिलाउनु पर्ने सुझावमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्