Logo

घोराही–तुलसीपुर सडकको फेरि ठेक्का आह्वान

दाङ– जिल्लामा निर्माण गर्न थालिएको चार लेन सडकको फेरि ठेक्का आह्वान गरिएको छ । घोराही–तुलसीपुर सडक स्तरोन्नतिका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेको हो । यसअघि भारतीय एक्जिम बैंकको सशर्त ऋण सहयोगमा ठेक्का भई काम सुरु भएको सडक स्तरोन्नतिको काम अलपत्र परेपछि ठेक्का सम्झौता रद्द भएको थियो ।

अहिले नेपाल सरकारको लगानीमा उक्त सडक क्षेत्र स्तरोन्नतिका लागि ठेक्का भएको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालयबाट डिपिआर र आईई भइसकेको सडकमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले तीन वर्षमा सक्ने गरी करिब चार अर्बको ठेक्का खुलाएको हो । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर प्रकाश मगरले ठेक्का आह्वान भएको जानकारी दिए ।

भारतको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकको ऋण सहयोगमा सडक निर्माणको ठेक्का पाएको भारतको मुम्बईस्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले काम नगरी अलपत्र पारेपछि एक करोड २१ लाख ८२ हजार अमेरिकी डलरको ठेक्का तोडिएको करिब तीन वर्षपछि नेपाल सरकारले नै बनाउने गरी ठेक्का लगाउने तयारी भएको हो ।

बबईदेखि तुलसीपुरसम्मको चार लेन सडकका लागि लमही–घोराही–तुलसीपुर योजनाको नाममा २०७५ माघ १४ गते ठेक्का सम्झौता भएको थियो भने काम नभएर अलपत्र भएपछि २०७९ चैत २६ गते ठेक्का तोडिएको थियो । सुरुको ठेक्कामा बबईदेखि घोराही र घोराहीदेखि तुलसीपुर दुई खण्डमा काम गर्ने भनिए पनि अहिले भने घोराही तुलसीपुरको लागि मात्रै बजेट सुनिश्चित भएकाले बबई–घोराहीको काम यस ठेक्कामा नहुने मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर मगरले जानकारी दिए ।

‘बहुवर्षेको सहमतिमा कुइरेपानी घोराहीको सहमति आएन । कुइरेपानीदेखि घोराहीसम्मको क्षेत्रको सहमति नआएकोले घोराहीदेखि तुलसीपुरसम्मको मात्रै यस पटक ठेक्का खुलेको हो,’ उनले भने, ‘टोटल हामीले सडकको ३० मिटर कभर गर्छौं । पुरानो संरचना नभत्काउने गरेरै सडकको १५–१५ मिटर हुन्छ भने अहिलेको बहुवर्षे सहमतिमा घोराहीदेखि तुलसीपुर मात्रैको २१ दशमलव ५८ किलोमिटर सडकको काम हुन्छ,’ तीन वर्षको अवधि राखेर ठेक्का खुलाउने र ठेक्का कार्यान्वयनको सबै काम सडक डिभिजन दाङले गर्ने उनको भनाइ छ ।

‘प्रोजेक्टको ड्युरेसन तीन वर्ष राखेका छौं । ठेक्का खुलेपछि दाङ डिभिजनले नै कार्यान्वयन गर्छ । अहिलेलाई जस्ट ठेक्का लाग्छ भने अर्को सालदेखि दाङ डिभिजनमै यस शीर्षकमा बजेट आउँछ,’ उनले भने । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका अनुसार घोराही तुलसीपुरको सबै क्षेत्रमा चार लेन सडक बन्ने गरी ठेक्का लाग्दैछ ।

‘त्यो पुरानो ठेक्का सम्झौता रद्द भइहाल्यो । अब सबै चार लेन बन्ने हो,’ निर्देशनालयका इन्जिनियर मगरले भने, ‘सडक सुधार तथा विकास निर्देशनालयबाट डिपिआर र आईई सबै तयार भएको हो । पछि ठेक्का लगाउने क्रममा मदन भण्डारीकै क्षेत्रमा पर्छ त्यसैले मदनभण्डारीबाटै ठेक्का व्यवस्थापन गर्नु भनेर आयो । यसमा हामीले उतैबाट बनाइएको डिपिआर आईईबाट स्टिमेट गरेर आएका हौं ।’

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले सडक डिभिजन दाङको सहभागितामा स्थलगत अध्ययन अवलोकन गरी लागत अनुमानको फाइल तयार गरेको थियो । निर्देशनालयका प्रमुख इन्जिनियर दीप बाराही, सडक डिभिजन दाङका प्रमख दीपेन्द्रबहादुर विष्टसहितको प्राविधिक टोलीले घोराही–तुलसीपुर प्रस्तावित चार लेनको स्थलगत अध्ययन गरी लागत अनुमान तयार पारेको हो ।

टोलीले घोराही तुलसीपुरको २१ दशमलव ५८ किलोमिटर सडक लम्बाई र ३० मिटर चौडाइ रहने सडक स्तरोन्नतिका लागि तीन अर्ब ९९ करोड नेपाली रुपैयाँ लागत अनुमान गरेको छ । त्यही रकममा ठेक्का लाग्ने निर्देशनालयले जनाएको छ । सडकको केन्द्र विन्दुदेखि दायाँ १५ मिटर र बायाँ १५ मिटर चौडाइमा स्तरोन्नति हुने गरी लागत स्टिमेट गरिएको छ । सडकको बीच भागमा एकदेखि तीन मिटरसम्मको मेडियन हुनेछ ।

सडकमा मुख्य बस्ती हेरेर मेडियन कायम भएको निर्देशनालयले जनाएको छ । लागत अनुमानदेखि ठेक्का प्रक्रियासम्म मदन भण्डारी राजमार्ग परियोजनाले अगुवाइ गरे पनि यसको नियमित रेखदेखको स्वामित्व भने डिभिजन सडक कार्यालय दाङलाई नै रहने छ । यसअघि लमही–घोराही–तुलसीपुर योजनाको नाममा ठेक्का गरिएको सडकको सुरुको सम्झौतामा २०७८ जेठ ६ गते सडक निर्माण गरिसक्नुपर्ने थियो । त्यो अवधिमा सात प्रतिशतमात्रै काम भएपछि २०७८ साउन २७ सम्म सक्ने गरी म्याद थप गरियो ।

पुन: २०७८ पुस २८ गतेसम्मका लागि अर्को म्याद थप गरियो । दुईपटक थप गरेको म्याद गुजारेको निर्माण कम्पनीलाई फेरि २०७९ वैशाख २९ गतेसम्म काम सक्ने गरी म्याद थप्दा पनि काम नभएर सडक अलपत्र भएको थियो । चार लेन ठेक्का कतै टु लेन त कतै चार लेनको रूपमा थियो । त्यसबेला बबईदेखि तुलसीपुरसम्मको सडक खण्डमा २८.१९ किमि सडक बबईदेखि घोराही र घोराहीदेखि तुलसीपुर गरी दुई खण्डमा निर्माण गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्