Logo

जलवायु परिवर्तनको असर र न्यूनीकरण

नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेको छ । तापक्रम वृद्धिदेखि लिएर अनियमित मौसम प्रणालीसम्मका समस्या नेपालमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभाव हुन् । पछिल्लो समय नेपालको हिमाली भेगमा अत्यन्तै न्यून मात्रामा हिउँ देखिन थालेको छ । जसले गर्दा समयमा पानी नपर्ने, पानी नपरेपछि पर्याप्त उब्जनी नहुने, खाद्य संकटजस्ता परिस्थिति सामना गर्नुपर्ने जस्ता स्थिति देखिन थालेका छन् भने सुक्खा याममा वनजंगलमा आगलागी हुने, बेमौसमी वर्षा हुने, बाढीपहिरोका कारण धेरै संख्यामा जनधनको क्षति हुने जस्ता असरहरू देखा पर्ने हुन्छन् ।

यो सबै जलवायु परिवर्तनका कारणले गर्दा नै भएको हो । त्यसैले समयमा यसको नियन्त्रण र रोकथामसम्बन्धी विश्वको ध्यान केन्द्रित हुनु जरुरी छ । गत महिना मात्र कोप–२०२४ सम्पन्न भयो, जसमा नेपालले भोगिरहेको जलवायु परिवर्तन, यसको असर अनि क्षतिको विषयमा पनि ध्यान केन्दि्रत भएको छ, तर राहत र रोकथाम भने नभएको गुनासो आएको छ । यही अवस्थामा निरन्तर चलिरहने हो भने नेपालले पछि जलवायुजन्य घटनाहरूको ठूलो सामना गर्नुपर्ने देखिन्छ । मुख्यतया नेपालमा जलवायु परिवर्तन हुनुका कारण र समाधानका उपाय निम्न छन्-

तापक्रममा वृद्धि : नेपालमा वार्षिक औसत तापक्रम वृद्धि भइरहेको छ, जसले हिमनदी पग्लने दर तीव्र बनाइरहेको छ । जलवायु परिवर्तनका असरमध्ये तापक्रम वृद्धि पनि हो ।
अनियमित वर्षा : कहिले अत्यधिक वर्षा त कहिले सुक्खा मौसम हुने भएकाले बाढी, पहिरो र खडेरीको समस्या बढ्दो छ । यो पनि जलवायु परिवर्तनको असर हो ।
हिमताल फुट्ने र बाढीको जोखिम : उच्च हिमाली क्षेत्रमा रहेका हिमताल फुट्ने जोखिम बढ्दो छ, जसले गर्दा धेरै ठूलो बाढी आउने र जनधनको क्षति गराउने देखिन्छ ।
खडेरी र पानीको संकट : तराई क्षेत्र र पहाडका केही भागमा पानीको बचाव बढ्दै गएको छ, जसले गर्दा स्वच्छ खानेपानीको अभाव हुनु मात्र नभई सिँचाइमा समेत प्रभाव परेको देखिन्छ ।
कृषिमा असर : अनियमित मौसमले गर्दा खेतीपातीमा समस्या आएको छ, जसले खाद्य सुरक्षामा असर गरिरहेको छ । सम्बन्धित निकायले जलवायुजस्तो गम्भीर प्राकृतिक असरलाई न्यूनीकरण गर्नका लागि राज्य र सम्बन्धित निकायले ध्यान दिने हो भने केही मात्रामा भए पनि मुलुकमा देखा परेको विद्यमान जलवायु परिवर्तनलाई कम गर्न सकिन्छ ।
वन संरक्षण र वृक्षारोपण : जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न वन संरक्षण र वृक्षारोपण गर्नु जरुरी छ । वन संरक्षणले जनावरहरूलाई चाहिने आहार र खाद्य श्रृंखलाले गर्दा सजीव प्रालीलाई बाँच्न पनि टेवा पुग्ने हुन्छ ।
हरित ऊर्जा प्रयोग : जलवायु परिवर्तनलाई रोकथाम गर्न जलविद्युत, सौर्य ऊर्जा, वन ऊर्जाजस्ता स्रोतहरूलाई प्राथमिकता दिनुपर्छ । पेट्रोलियम पदार्थको बढ्दो उपयोगका कारण कार्बन बढी उत्सर्जन भई वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले गर्दा हरित ऊर्जा बढी उपयोगमा ध्यान दिनुपर्ने हुन्छ ।
जलस्रोतको उचित व्यवस्थापन : नेपालको जनसंख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । ग्रामीण भेगमा भन्दा पनि सहरी भेगमा पानीको अत्यन्तै कम मात्रामा उपभोग भएको पाइन्छ । कति ठाउँमा त पानीको हाहाकार नै मच्चिएको छ । पानी संकलन गर्ने आधुनिक प्रविधि अपनाउनुपर्छ भने आकाशको पानी सञ्चित गरी सही सदुपयोगमा ल्याइनुपर्छ ।
जलवायुअनुकूल कृषि प्रणाली : पछिल्लो समय नेपालमा जलवायु परिवर्तनका कारण धेरै खाद्यबालीमा नकारात्मक असर गरेको छ । खडेरीका कारणले बालीनाली सुक्ने, अत्यधिक पानीका कारण बोटबिरुवा डुबान हुनेलगायतका घटना घटिरहेको अवस्थामा आधुनिक प्रविधि अपनाएर वातावरण अनुकूलन खेती गर्न सके कृषि क्षेत्रमा पनि केही टेवा पुग्न सक्छ ।
स्थानीय तथा सरकारी नीतिमा सुधार हुनु आवश्यक : नेपालमा दिनानुदिन जलवायु परिवर्तनका घटना र असर देखा परिरहेको अवस्थामा नेपाल सरकार तथा स्थानीय सरकारले पनि जलवायु परिवर्तनको असर र रोकथामबारे विभिन्न कार्यक्रमहरू ल्याउनुपर्ने देखिन्छ । बाली उब्जनीका लागि बीउबिजन, मलखाद तथा कृषिमा लगानी गर्ने वातावरण सहज रूपमा गर्न सके आर्थिक रूपमा पनि स्वावलम्बन हुने देखिन्छ ।

नेपालमा मात्रै नभई यसको असर विश्वव्यापी रूपमा फैलँदै गएको छ । पछिल्लो समय अमेरिकामा धेरै डढेलो लाग्यो । जसले गर्दा धेरै धनजनको क्षति भयो । कुनै–कुनै ठाउँमा अत्यधिक हिउँ परेर जाडोले कठ्याङग्रिने अवस्था भयो भने कतै लामो समयसम्म पानी नपरेर धेरै किसानले लगाएको खाद्यबालीमा पनि क्षति पुग्यो । हाम्रो मुलुकमा पनि केही वर्षदेखि जलवायु परिवर्तनका कारण धेरै क्षति गराएको छ । २०७१ सालमा सिन्धुपाल्चोकमा भीषण वर्षाका कारण ठूलो पहिरो गई ठूलो धनजनको क्षति भएका थियो ।

२०७२ मा भूकम्पका कारण पहाडहरू कमजोर बनी वर्षाको बेला पहिरोको जोखिम बढ्यो । २०७४ सालमा तराईमा विनाशकारी बाढी आयो, जसले हजारौँलाई विस्थापित बनायो । त्यस्तै गरी २०७८ सालमा मनाङ र मेलम्चीमा बाढी आयो, जसले गर्दा धेरै घर भग्नावेशमा परिणत भए भने धेरै धनमालको क्षति भयो । २०७९–२०८० मा डेंगुको महामारीले सबैलाई पिरल्यो । उच्च तापक्रम र अनियमित वर्षाका कारण लामखुट्टेको वृद्धि भयो । त्यसैले यस्ता प्रकोपहरू नियन्त्रण गर्न सबै मिलेर लाग्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्