Logo

साता भरमा दुई दिनमात्रै बढ्यो सेयर बजार, २१ अंकले घट्यो

काठमाडौं– साताभरमा सेयर बजार दुई दिनमात्रै बढेपनि परिसूचक २१.३४ अंकले घटेको छ । सोमबार र बुधबार बजार बढेपनि आइतबार, मंगलबार र बिहीबार बजार घटेको छ । गत साताको बिहीबार नेप्से परिसूचक २६९९.८१ विन्दुमा रहेको थियो । तर आइतबार ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा भर्‍यो । परिसूचकको गिरावटले निरन्तरता पाउँदा सोमबार १०.९८ अंकले घट्यो ।

त्यसपछि मंगलबार ६.५४ अंकले नेप्से परिसूचक बढ्यो भने बुधबार १.८६ अंकले बढ्यो । यो दुई दिनको वृद्धिपश्चात बिहीबार फेरि परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा झरेको छ । साताभरमा परिसूचकमा उतारचढाव आउँदा कारोबार रकममा पनि फेरबदल भएको छ । गत साताको बिहीबार ९ अर्ब ९ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएकोमा गत आइतबार ८ अर्ब ३३ करोड ६१ लाख रुपैयाँको कारोबार भयो ।

यस्तै सोमबार परिसूचक सँगै कारोबार रकम पनि घटेर ६ अर्ब ८६ करोड ४८ लाख रुपैयाँमा सीमित भयो । मंगलबार परिसूचकसँगै कारोबार रकम पनि बढेर ७ अर्ब १५ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भयो । यस्तै बुधबार कारोबार रकम बढेर ८ अर्ब ६१ करोड ५ लाख रुपैयाँ पुग्दा बिहीबार फेरि घटेर ७ अर्ब ७४ करोड १० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।आइतबारदेखि कारोबारमा आएको गार्डिएन माइक्रो लाइफ इन्स्योरेन्सले प्राय: दिनमा सकारात्मक सर्किट हानेको छ ।

बिहीबार चार स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कुमारी सबल योजनाको इकाई, मातृभूमि लघुवित्त वित्तीय संस्था, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमा बुधबार पनि सकारात्मक सर्किट लागेको थियो । बिहीबार बाराही हाइड्रोपावर पब्लिकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ ।

बुधबार रिभर फल्स पावरको सेयरमूल्य ८ प्रतिशत बढेको थियो । मंगलबार ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । जसमा यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको, सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

आइतबार सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको थियो । बिहीबार न्यादी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ८६ रुपैयाँ ८० पैसा घटेर ७८१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । बुधबार उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोपावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो ।

सोमबार नेप्से घटेपनि न्यादी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । यस्तै बोटलर्स नेपाल (बालाजु) र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीले गुमाएका थिए । कारोबार रकमका आधारमा बुधबार र बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ

बिहीबार सो कम्पनीको यस दिन ३४ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मंगलबार कारोबार रकमका आधारमा सिईडिबि होल्डिङ्गस शीर्ष स्थानमा रहेको थियो । सोमबार कारोबार रकमका आधारमा नेपाल रिपब्लिक मिडियाको सबैभन्दा बढी २४ करोड ४४ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आइतबार सर्वाधिक सेयर खरीदबिक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ ।

बिहीबार १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । बुधबार ४ उपसमूहको परिसूचक बढ्दा ९ उपसमूहको परिसूचक घटेको थियो भने मंगलबार ५ उपससमूहको परिसूचक बढ्दा ८ उपसमूहको परिसूचक घटेको थियो । सोमबार २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको थियो । आइतबार ४ समूहको सूचक बढेकोमा अरु सबै सूचक घटेको थियो ।

बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक १.८८ प्रतिशत बढेको छ । बुधबार पनि यही उपसमूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशत बढेको थियो । बिहीबार लगानी र लघुवित्त उपसमूहको परिसूचक भने यस दिन सामान्य बढेको छ । बिहीबार विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ । बुधबार विकास बैंक र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको थियो ।

मंगलबार विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.३७ प्रतिशत बढेको थियो । त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको थियो । यस्तै लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको थियो । व्यापार उपसमूहको परिसूचक भने यस दिन सर्वाधिक १.०५ प्रतिशत घटेको थियो ।

सोमबार दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.०७ प्रतिशत र वित्त उपसमूहको परिसूचक १.२३ प्रतिशत घटेको थियो । आइतबार धेरै बढ्नेमा ब्यापार समूहको सूचक १.३९ प्रतिशत बढेको थियो भने सबैभन्दा बढी विकास बैंक समूहको सूचक १.३५ प्रतिशत घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्