लम्पी स्किनको क्षति रोक्न सस्तोमा भारतीय खोप

हैदराबाद (भारत)– नेपालमा लम्पी स्किनको प्रकोप रोक्न भारतीय कम्पनीले सस्तो मूल्यमा खोप उपलब्ध गराउने भएको छ । पशुमा लम्पी स्किनको प्रकोपसँगै ठूलो आर्थिक क्षति भएपछि सरकारले चालु आर्थिक वर्षबाट खोप अभियान सुरु गरेको छ ।
नेपालले हाल प्रयोग गरिरहेको खोपको तुलनामा सस्तो मूल्यमा प्रभावकारी भ्याक्सिन उपलब्ध गराउने तयारी आफूहरुले गरिरहेको भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. कृष्णा एल्लाले जानकारी दिए । उनका अनुसार नेपाली किसानलाई लम्पी स्किन रोगविरुद्धको खोप सस्तो मूल्यमा उपलब्ध गराउने तयारी भइरहेको छ । हाल नेपालले प्रतिखोप तीन डलर हाराहारीमा ल्याइरहे पनि भारत बाायोटेकले नेपाली किसानलाई एक डलरमै खोप उपलब्ध गराउने योजना बनाएको उनले बताए ।
हैदराबादस्थित जेनोममा रहेको कम्पनीको कार्यालयमा नेपाली सञ्चारकर्मीसँगको अन्तत्र्रिmयामा डा. एल्लाले नेपालले गत वर्ष लम्पी स्किनका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि प्रभावकारी खोप कार्यक्रम लागु गर्न सकिए थप क्षतिबाट जोगाउन सकिने बताए । भारत बायोटेकले उत्पादन गरेको खोप ‘बायोभेट’ले सम्बन्धित निकायहरुबाट स्वीकृति पाइसकेको र नेपाललगायत छिमेकी मुलुकका किसानलाई सस्तो मूल्यमा उपलब्ध गराउने आफूहरुको योजना रहेको जानकारी उनले दिए । उनका अनुसार नेपाललगायत मुलुकमा यो प्रकोपका कारण गाईभैंसीको दुग्ध उत्पादन क्षमताका सम्बन्धमा अध्ययन हुनु पनि उत्तिकै आवश्यक छ । साथै हाल उपलब्ध र प्रयोग भइरहेका खोपका सम्बन्धमा गुणस्तर सुनिश्चितता आवश्यक देखिएको छ ।
‘भारत बायोटेक समूहको कम्पनी बायोभेटले उत्पादन गरेको लम्पी स्किन रोगविरुद्धको खोप बजारमा ल्याउनका लागि भारतको राष्ट्रिय औषधि नियामक निकायबाट स्वीकृति प्राप्त गरिसकेको छ,’ उनले भने, ‘यो खोपको प्रयोगबाट ठूलो संख्यामा गाईभैंसी बचाउन सकिन्छ भन्ने हामीलाई विश्वास छ र भोलिका दिनमा हिजोको जस्तो क्षति व्यहोर्नु पर्नेछैन ।’ कम्पनीले उत्पादन गरेको खोपलाई भारत सरकारको सेन्ट्रल ड्रग्स स्टान्डर्ड कन्ट्रोल अर्गनाइजेसनले स्वीकृति दिइसकेको एल्लाले जानकारी दिए ।
नेपालमा गत वर्ष लम्पी स्किनको प्रकोप ७७ वटै जिल्लामा फैलिएको थियो । पशु चिकित्सा परिषद्को अध्ययनअनुुसार १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको संक्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपैयाँबराबरको आर्थिक क्षति व्यहोरेका छन् । एउटा स्वस्थ पशुमा लम्पीको संक्रमण भएमा ४९ हजार १३५ रुपैयाँको आर्थिक क्षति हुने सो अध्ययनले देखाएको थियो । यसरी नेपाली किसानलाई लम्पी स्किनका कारण ठूलो क्षति पुगेसँगै सरकारले चालु आवमा यसविरुद्ध खोप अभियान सुरु गरे पनि प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । लम्पी स्किनका कारण पशुधनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठूलो क्षति किसानले व्यहोर्नुपरेको हो ।
भारत बायोटेकका कार्यकारी अध्यक्ष डा. एल्लाले पछिल्ला दुई वर्षमा यो रोगका कारण भारतमा मात्रै करिब दुई लाख गाईभैंसी मरेको उल्लेख गर्दै त्यसले दूध उत्पादनमा समेत ठूलो ह्रास आएको जानकारी दिए । नेपालमा संख्यात्मक रुपमा क्षति सानो देखिए पनि भूगोलको हिसाबले ठूलो रहेको उल्लेख गर्दै उनले यसमा थप अध्ययन आवश्यक रहेको दोहोर्याए । ‘लम्पी स्किन रोगको संक्रमणपछि गाईभैंसीले दिने दूधको परिमाणमा उल्लेख्य कमी आउँछ,’ उनले भने, ‘गाईभैैंसीमा दुग्ध उत्पादन क्षमता कसरी पुनस्र्थापित गर्ने भन्ने सम्बन्धमा अध्ययन आवश्यक छ ।’
भारतमा उत्पादित खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिता भारतीय कृषि अनुसन्धान परिषद्, नेसनल रिसर्च सेन्टर अन इक्वाइन र भारतीय पशुचिकित्सा अनुसन्धान संस्थानमा परीक्षण गरिएको कम्पनीको भनाइ छ । लम्पी स्किन रोग लागेपछि गाईभैंसीको शरीरभरि छालामा गिर्खाहरू देखा पर्ने, ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, दूध उत्पादन घट्ने र हलचल गर्न कठिनाइ हुने लक्षण देखिने गरेका छन् । गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिने गरेको छ । यो रोग झिंगा (डाँस), भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो ।
यो रोग लागेका गाईभैंसीको छालामा साह्रो गिर्खा देखिने र उच्च ज्वरो आउने गर्छ । रोगी गाईभैंसीको दूध उत्पादन घट्छ । यो रोगको रोकथाम तथा उपचारका लागि पशु सेवा विभागले ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्ने, घाउ चिलाउन कम गर्न प्राविधिकको सल्लाहअनुसार उचित औषधिको प्रयोग गर्ने तथा फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलहम प्रयोग गर्ने सल्लाह दिने गरेको छ ।
भारत बायोटेकका संस्थापक एल्लाले यो खोप पशु चिकित्सा क्षेत्रमा रोगको निगरानी र उन्मूलनका लागि ‘गेमचेन्जर’ हुने दाबी गरेका छन् । कम्पनीले तत्कालका लागि ५० करोड डोज खोप उत्पादन गरी बजारमा पठाउने योजना बनाएको छ । यो रोग लागेपछि पशुहरूको दूध दिने क्षमतामा ३५ प्रतिशतभन्दा बढीले कमी आउने भएकाले समयमै समस्या समाधानमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
कम्पनी सन् १९९६ मा स्थापना भएको हो । यसले कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन लगायतका करिब तीन दर्जन खोप उत्पादन गरिसकेको छ । अमेरिकाबाट स्वदेश फर्किएर डा. एल्ला र उनकी श्रीमती सुचित्रा एल्लाले कम्पनी स्थापना गरेका थिए । हाल भारत बायोटेक कम्पनीसँग २२० भन्दा बढी पेटेन्ट छन् । भारत बायोटेक कम्पनीले खोप उत्पादनसँगै कृषि र जैविक क्षेत्रमा पनि काम गरिरहेको छ । साथै कम्पनीसँग विभिन्न स्थानका प्लान्टमार्फत वार्षिक ६ अर्ब डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको त्यस अवसरमा जानकारी दिइयो ।