सात अर्बमात्र बढ्यो कर्जा

काठमाडौं– माघ महिनामा कर्जा विस्तार वृद्धि अन्य महिनाको तुलनामा निकै घटेको छ । पुसमा ९४ अर्बले बढेको कर्जा विस्तार वृद्धि माघमा ७ अर्ब रुपैयाँ बढेर ४८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको हो । पुसमा ४८ खर्ब १६ अर्ब रुपैयाँले कर्जा विस्तार वृद्धि भएको थियो ।
‘विगतका वर्षहरूमा पनि माघमा कर्जा विस्तार वृद्धि सुस्त नै हुने गरेको थियो । अहिले पनि यही ट्रेन्ड कायम भयो,’ बैंकर्स संघका सदस्यसमेत रहेका एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले भने ।
चालु आवमा सबैभन्दा धेरै कर्जा विस्तार पुसमा भएको छ । वाणिज्य बैंकहरूले पुसमा ९४ अर्ब रुपैयाँले कर्जा प्रवाह बढाएका छन् । तर, पुसको वृद्धि माघमा टिक्न सकेन । ‘क’ वर्गका बैंकहरूले माघ २५ सम्ममा ७ अर्ब रुपैयाँमात्रै कर्जा विस्तार बढाउन सकेका छन् । गत असारमा ४५ खर्ब ७१ अर्ब रुपैयाँ वाणिज्य बैंकहरूमार्फत कर्जा प्रवाह भएकोमा माघसम्ममा ४८ खर्ब २३ अर्ब पुगेको छ । सात महिनाको अवधिमा २ खर्ब ५२ अर्ब रुपैयाँमात्रै कर्जा विस्तार बढेको बैंकर्स संघको तथ्यांक छ । यो ५.५१ प्रतिशतको वृद्धि हो ।
साउनमा वाणिज्य बैंकहरूको कर्जा विस्तार दुई अर्ब रुपैयाँले बढेर ४५ खर्ब ७३ अर्ब पुगेको थियो । भदौमा कर्जा विस्तार बढ्ने क्रममा रह्यो । भदौमा ५३ अर्बले बढेर कर्जा विस्तार ४६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको थियो ।
त्यसपछि चाडपर्वको समय असोजमा कर्जा विस्तार ५६ अर्बले बढेको थियो । असोजमा वाणिज्य बैंकहरूले ४६ खर्ब ८२ रुपैयाँ कर्जा विस्तार गर्न सकेकोमा कात्तिकमा २ अर्ब रुपैयाँले घट्न पुग्यो । कात्तिकमा कर्जा विस्तार घटेर ४६ खर्ब ८० अर्ब रुपैयाँमा संकुचित भएको थियो ।
कात्तिकमा ऋणात्मक बनेको कर्जा विस्तार वृद्धि माघमा भने ४२ अर्ब रुपैयाँले बढ्यो । मंसिरमा ४७ खर्ब २२ अर्ब रुपैयाँ पुगेको वाणिज्य बैंकहरूको कर्जा विस्तार पुसमा यो आर्थिक वर्षकै सबैभन्दा धेरै ९४ अर्ब रुपैयाँले बढेर ४८ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो ।
त्यसपछि माघ २५ सम्ममा पुसको तुलनामा ७ अर्ब रुपैयाँमात्रै बढेर ४८ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । दोस्रो त्रैमासको अन्तिममा कर, कर्जाको किस्ता तथा ब्याजलगायत तिर्नुपर्ने दबाबका कारण पनि कर्जा बढेको थियो । तर, माघमा त्रैमासको अन्तिमको दबाब नपर्ने भएका कारण विगतदेखि नै कर्जा कम विस्तार हुने गरेकोमा अहिले पनि त्यसैको निरन्तरता भएको बैंकरहरू बताउँछन् ।
माघमा बैंकहरूको निक्षेप पनि ८ अर्ब रुपैयाँले मात्रै वृद्धि भएको छ । माघ २५ सम्ममा निक्षेप ५९ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । पुसमा निक्षेप ५९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको थियो । वाणिज्य बैंकहरूको कर्जा निक्षेप अनुपात ७९.२९ प्रतिशत रहेको छ । तथ्यांकअनुसार यो अवधिसम्म निक्षेप ४.४१ प्रतिशतले वृद्धि हुँदा कर्जा वृद्धि ५.५१ प्रतिशतले भएको छ । यो तथ्यांकलाई हेर्दा चालु आवमा कर्जा विस्तार वृद्धि सुस्त रुपमै भए पनि बढिरहेको छ । यसरी कर्जा विस्तार बढाउनका लागि ब्याजदरको पनि सहयोग रहेको बैंकरहरू बताउँछन् ।
पछिल्लो समय ब्याजदर घटेर निकै न्यून विन्दुमा झरिसकेको छ । फागुनका लागि पनि ब्याजदर स्थिर छ । यसले कर्जा विस्तारका लागि अझै सहयोग पुग्ने बैंकरहरूको अपेक्षा छ । केन्द्रीय बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको औषत आधार दर ६.६५ प्रतिशतमा झरेको छ । गत आवको सोही अवधिमा ९.३५ प्रतिशत थियो । त्यसैगरी २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ८.६९ प्रतिशत रहेकोमा २०८० पुसमा ११.३८ प्रतिशत थियो ।
ब्याजदर कम हुँदै गर्दा आयात पनि बढ्न थालेको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको पुससम्ममा कुल वस्तु आयात ७.१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा आयात ३.१ प्रतिशतले घटेको थियो । आयात बढ्दै जानुको अर्थ बजार चलायमान बन्न थालेको छ । अहिले बैंकहरूमा कर्जाको माग पनि विगतको तुलनामा बढ्न थालेको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् आर्थिक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले अर्थतन्त्रले विस्तारै गति लिँदै गएको देखिएको बताए । आयात बढ्दो क्रममा रहेकाले बैंकिङ प्रणालीमा रहेको तरलताको उपयोग विस्तारै बढ्दै जाने देखिएको उनको भनाइ छ ।
पछिल्ला महिनाहरूमा आयात कर्जा बढ्दै गएकाले अर्थतन्त्रलाई यसले बल पुगेको जानकारहरू बताउँछन् । ‘विभिन्न किसिमले पछिल्लो समय निर्माण क्षेत्रमा कर्जा बढ्दै गएको छ । यसले अर्थतन्त्रलाई गतिशिलता प्रदान गर्न सहयोग गर्दै गएको बुझ्न सकिन्छ,’ पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीले भने ।