Logo

राजस्व आएन अपेक्षित सुधार

काठमाडौं– ठुला दुई राजनीतिक दलको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा सुधार आउने अपेक्षा थियो । तर, सरकार बनेको सात महिना हुँदा पनि राजस्व संकलनमा अपेक्षित सुधार देखिएको छैन । गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार भए पनि अपेक्षित सुधार नभएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिना अर्थात् माघसम्ममा ६ खर्ब ४२ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो वार्षिक लक्ष्यको ४५.२९ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । बजेटको कुल आकार १८ खर्ब ६० अर्ब ३० करोडको हो ।

अर्थतन्त्रमा सुधार नदेखिएपछि अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षामार्फत चालु आवको बजेटलाई एक खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोडमा झारेका छन् ।

कुल बजेट घटाएपछि राजस्व असुलीको लक्ष्य पनि कम गरिएको छ । अर्थमन्त्री पौडेलले राजस्वको वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँलाई घटाएर १२ खर्ब ८६ अर्ब रुपैयाँमा झारेका छन् । यो सुरु बजेटले राखेको लक्ष्यभन्दा एक खर्ब ३३ अर्बले घटाइएको हो । तर, राजस्व असुलीको अहिलेसम्मको अवस्था हेर्दा अर्थमन्त्री पौडेलले संशोधन गरेको १२ खर्ब ८६ अर्ब रुपैयाँको लक्ष्य पनि पूरा नहुने अवस्था देखिन्छ ।

महालेखाका अनुसार चालु आवको साउनको तुलनामा भदौमा २१.२७ प्रतिशतले राजस्व घटेको थियो । असोजमा भने ८.१० प्रतिशतले बढेको थियो । यस्तै कात्तिकमा ६.२५ प्रतिशतले घटेकोमा मंसिरमा १.३३ प्रतिशतले वृद्धि भएको थियो । गत पुसमा भने राजस्व असुलीको वृद्धिदर ११०.५२ प्रतिशत थियो । गत आर्थिक वर्षको अन्तिम राजस्व बुझाइने हुँदा पुसमा राजस्व बढ्नु स्वाभाविकै हो । माघमा भने ८३ अर्ब राजस्व उठेको छ । यो चालु आवका अन्य महिनाको तुलनामा बराबरजस्तै हो ।

चालु बजेट ल्याउँदा ३४ प्रतिशतभन्दा माथि राजस्व संकलनको वृद्धिदर राखिएको थियो । गत वर्ष १० खर्ब ५८ अर्ब रुपैयाँ राजस्व असुली भएको थियो । चालु आवमा यसभन्दा ३६१ अर्ब बढाएर राजस्वको लक्ष्य १४ खर्ब १९ अर्ब रुपैयाँ राखिएको थियो । यो ३४.१२ प्रतिशत धेरै हो ।

राजस्व लक्ष्य भिमकाय राखिएका बेला असुली भने त्यसको आधा पनि हुन सकेको छैन । गत आवको माघसम्ममा राजस्व ५ खर्ब ६७ अर्ब रुपैयाँ उठेको थियो । यो वर्ष माघसम्ममा ६ खर्ब ४२ अर्बमात्र असुली भएको छ । यो गत वर्षका तुलनामा ७५ अर्ब अर्थात् १३.२२ प्रतिशतको मात्र वृद्धि हो ।

यो माघसम्ममा असुली भएको राजस्वलाई प्रतिमहिनामा हेर्दा ९१ अर्ब ७१ करोड हुन्छ । आगामी दिनमा पनि यही हिसाबले राजस्व असुली हुने हो भने यो वर्ष ११ खर्ब रुपैयाँ उठ्ने देखिन्छ । अर्थमन्त्री पौडेलले राजस्व संकलनमा अपेक्षित सुधार नदेखिएकाले केही आयोजना र केही कार्यक्रमको बजेट कटौती गरेका छन् । राजस्व संकलनमा संकुचन आएको, अपेक्षित रुपमा अन्तर्राष्ट्रिय सहायता प्राप्त हुन नसकेको तथा नेपाली मुद्रा अमेरिकी डलरसँग कमजोर भएका कारण चालु खर्च एवम् वैदेशिक ऋणको साँवाब्याज भुक्तानी गर्न विनियोजित बजेट नै अपर्याप्त हुने अवस्था सिर्जना भएकाले बजेट कटौती गरिएको भनिएको छ ।

कमजोर पुँजीगत खर्च
ठूला दलहरुको नेतृत्वमा सरकार सञ्चालन भइरहेको अवस्थामा पुँजीगत खर्चतर्फ पनि उपलब्धि कमजोर देखिएको छ । सरकारले चालु आवमा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएको छ । यसमध्ये माघसम्ममा १९.४२ प्रतिशत अर्थात् ६८ अर्ब ४१ करोड रुपैयाँ खर्च भएको छ ।

गत वर्ष पुँजीगततर्फ ३ खर्ब २ अर्ब बजेट छुट्याएको थियो । यसमध्ये माघसम्ममा २१.१६ प्रतिशत अर्थात् ६३ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको थियो ।

चालु खर्च
सरकारले माघसम्ममा चालु बजेट खर्च ५ खर्ब २२ अर्ब गरेको छ । यो कुल बजेटको ४५.८२ प्रतिशत हो । यो वर्ष चालु बजेटमा ११ खर्ब ४० अर्ब रुपैयाँ छुट्याएको थियो ।

वित्तीय व्यवस्थापन
वित्तीय व्यवस्थापनतर्फ भने उच्च खर्च भएको छ । यो शीर्षकमा ३ खर्ब ६७ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । यसमध्ये माघ मसान्तसम्म १ खर्ब ६३ अर्ब ८१ करोड रुपैयाँ खर्च भएको छ । यो वार्षिक लक्ष्यको ४४.६ प्रतिशत हो । गत वर्ष सरकारले यसमा ३ खर्ब ७ अर्ब रुपैयाँ बजेट छुट्याएको थियो । माघसम्ममा १ खर्ब १४ अर्ब अर्थात् वार्षिक लक्ष्यको ३७.१२ प्रतिशत खर्च भएको थियो ।

कुल खर्च र आम्दानी
सरकारले चालु आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएकामा माघ मसान्तसम्ममा ७ खर्ब ५४ अर्ब खर्च गरेको छ । यो वार्षिक लक्ष्यको ४०.५८ प्रतिशत हो । अर्थमन्त्री पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारेका छन् ।

यस्तै, चालु आवको सात महिनामा सरकारको कुल आम्दानी ७ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यो वार्षिक लक्ष्यको ४०.८२ प्रतिशत हो ।

वैदेशिक अनुदान
पछिल्लो समय वैदेशिक अनुदान घट्दै गएको छ । चालु आवमा सरकारले वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिएको छ । माघसम्ममा ८ अर्ब ८२ करोड ६० लाख रुपैयाँ प्राप्त गरेको छ । यो वार्षिक लक्ष्यको १६.८७ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्