Logo

वीपी राजमार्ग

वर्षायाममा सडक सुचारु गर्न मर्मत सुरु

मर्मतको लागत ६ करोड रुपैयाँ
बजेट सुनिश्चत भएपछि स्थायी सडक बनाउन थालिने
सडकखण्डको पुनर्निर्माणका लागि नौ अर्ब ६६ करोड लाग्ने

काठमाडौं– वीपी राजमार्गको पुर्ननिर्माण दुई चरणमा गरिने भएको छ । पहिलो चरणमा आगामी वर्षायाममा सवारी सुचारु राख्न अस्थायी संरचना र त्यसपछि स्थायी संरचना निर्माण गरिने भएको हो । यो योजना अनुसार पहिलो चरणमा क्षतिग्रस्त खण्डको अस्थायी मर्मत सुरु गरिएको छ । गत असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको वीपी राजमार्गको अस्थायी मर्मत कार्य सुरु गरिएको हो । बाढी पहिरोले अवरुद्ध भएको राजमार्ग दुई हप्तापछि अस्थायी बाटो बनाएर सञ्चालनमा ल्याइएको थियो ।

त्यस क्रममा बगाएको सडकमा डाइभर्सन तयार गरेर सवारी आवागमन खुलाइएको थियो । विभागका अनुसार बाढीले राजमार्गको १३ किलोमिटर खण्डमा बढि क्षति पुर्‍याएको थियो । त्यसमध्ये ८.५ किलोमिटर सडक पूर्णरुपमा बगाएको छ । क्षतिग्रस्त सडकको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मका विभिन्न खण्डमा पछिल्लो समय सडक विभागले मर्मत थालेको हो । सो सडक खण्ड मर्मतका लागि भक्तपुर तथा खाल्डे डिभिजन कार्यालय परिचालित भएको छ ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार हाल विभिन्न खण्डको मर्मत भइरहेको छ । ‘बाढीले क्षति पुर्‍याएको १३ किलोमिटरमध्ये ८.५ किलोमिटर सडक पूर्ण रुपमा बनाउनुपर्ने भएको छ’ उनले भने, ‘बाँकी खण्डमा सडक चौडा पार्ने, सम्याउने, ग्राभेल भर्नेलगायतका काम सुरु गरिएको छ ।’ स्थायी सडक मर्मतका लागि विभागले करिब ६ करोड रुपैयाँको लागत अनुमान गरेको छ । विभागअन्तर्गतका कार्यालयमा रहेका हेवी इक्युमेन्ट ल्याएर मर्मत कार्य तीव्र पारिएको विभागको भनाइ छ ।

सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार सडक मर्मतका लागि पहिलो चरणमा आगामी वर्षायाममा सवारी सुचारु गर्न काम थालिएको बताए । उनले भने, ‘अहिले भएको डाइभर्सनलाई पुरानै संरचनामा फिर्ता गराएर सवारी सुचारु गर्न लागिएको हो । विभागकै स्रोत, साधन र जनशक्तिलाई अधिकतम उपयोग गरी क्षतिग्रस्त १४ स्थानको मर्मत थालिएको छ ।’

काम नभएका स्थानबाट यन्त्र, उपकरण ल्याएर भए पनि कामलाई तीव्रता दिने र २ महिनामा अस्थायी सडक निर्माण पुरा हुने उनको भनाइ छ । डिभिजनले पहिलो प्राथमिकतामा राखेर वर्षामा सवारी आवागमन सुचारु गर्न सडक मर्मत थालेको जनाएको छ । उनले भने, ‘अहिले वीपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौं, आगामी वर्षायाममा सडक अवरुद्ध हुन नदिन डिभिजनका स्रोत साधनको अधिकतम उपयोग गरी काम भइरहेको छ ।’

डिभिजन प्रमुख योगेशले आवश्यक परे रातको समयमा समेत काम गरी मर्मतलाई चुस्त र तीव्र पारिने बताए । स्थायी संरचनाका लागि भने डीपीआर तयार भएपनि स्रोत सुनिश्चत नभएकाले केही समय लाग्ने देखिएसँगै विभागले पहिलो चरणमा अस्थायी र त्यसपछि स्थायी संरचना निर्माण गर्ने योजना अगाडि सारेको छ ।

‘साढे आठ किलोमिटर स्थायी संरचना बनाउन स्रोत सुनिश्चि भएसँगै ठेक्का प्रक्रियामा जान्छौं’ प्रमुख योगेशले भने, ‘स्थायी सडक निर्माणका लागि तीन किसिमका पर्खाल (आरसिसी रिटेनिङ, प्लम र गेभियन वाल) लगाएर वर्षाले असर नपर्ने गरी निर्माण गरिने छ । सडकको चौडाइ पनि ९ मिटरको बनाइने छ । यसअघि साढे पाँच मिटर थियो ।’ खोलाबाटै आरसिसी वाल निर्माण गरी २ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने योजना रहेको छ । पुनर्निर्माणका लागि करिब नौ अर्ब ६६ करोड रुपौयाँ लागत अनुमान गरिएको छ । आगामी आर्थिक वर्षबाट निर्माण प्रक्रिया पूर्णरुपमा सुरु हुने जनाइएको छ ।

शनिबार वीपी राजमार्गको निरीक्षण गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुनर्निर्माणका लागि स्रोत अभाव हुन नदिने बताएका थिए । मन्त्री दाहालले क्षतिग्रस्त खण्डमा तुरन्त पुनर्निर्माणको काम सुरू गर्न निर्देशन दिँदै वर्षायाममा निर्वाद यातायात सुचारु हुनेगरी काम गर्न निर्देशन दिएका थिए । उनले भनेका थिए, ‘सडक मर्मतका लागि स्रोत अभाव हुन नदिने प्रतिबद्धता पनि जनाउन चाहन्छु ।’

यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड्ने लाइफलाइन समेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरी काम अघि बढाउन विभागलाई मन्त्री दाहालले निर्देशन दिएका हुन् । राजमार्ग अन्तर्गत चौकीडाँडादेखि कालढुंगासम्मको १२ किलोमिटर सडक पूर्णरुपमा बगेको सडक विभागले अस्थायी ट्रयाक खोलेर हाल सवारी सञ्चालन गर्दै आएको भएपनि यात्रा गर्न सहज छैन ।

वीपी मार्ग राजधानीलाई पूर्वी तराई जोड्ने वैकल्पिक राजमार्ग हो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने १६० किलोमिटर लामो वीपी राजमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले करिब २० वर्षको निर्माण पछि (सन् १९९६–२०१५) मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्