नवीकरण प्रक्रियामै आएनन् म्याद सकिएका सामुदायिक वन

दाङ– चालु आर्थिक वर्षमा म्याद सकिने सामुदायिक वन हालसम्म नवीकरणको प्रक्रियामा आएका छैनन् । नवीकरणको प्रक्रिया अघि नबढेका सामुदायिक वन उपभोक्ता समूहको संख्या १८५ रहेको छ । जिल्लामा रहेका डिभिजन वन कार्यालयले दिएको जानकारी अनुसार १८५ सामुदायिक वन उपभोक्ता समूहको यस आर्थिक वर्षमा म्याद सकिँदैछ । ती सामुदायिक वनले नवीकरणको प्रक्रिया सुरु गरेका छैनन् ।
डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत यस आवमा म्याद सकिने तर नवीकरणको प्रक्रिया अघि नबढेका सामुदायिक वन उपभोक्ता समूहको संख्या ४७ छ । जसमा १२ हजार ५९७ दशमलव ४२ हेक्टर क्षेत्र वन पर्छ । डिभिजन वन कार्यालय घोराही दाङअन्तर्गत यस आवमा म्याद सकिने तर नवीकरणको प्रक्रिया अघि नबढेका सामुदायिक वन उपभोक्ता समूहको संख्या १३८ छ । जसको क्षेत्रफल २७ हजार ६९९ दशमलव १७ हेक्टर रहेको छ ।
देउखुरी कार्यालयअन्तर्गत हालसम्म सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नवीकरण संख्या ४० छ । जुन १७ हजार ४४९ दशमलव ३१ हेक्टर क्षेत्रफल हो भने यसमा आव १२ हजार ८३७ घरधुरी आबद्ध छन् । डिभिजन वन कार्यालय दाङ घोराहीअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नवीकरण संख्या पाँचमात्रै छ जसको क्षेत्रफल एक हजार ६८० दशमलव ८४ हेक्टर छ भने त्यसमा एक हजार २७४ घरधुरी आबद्ध छन् । यता सामुदायिक वन उपभोक्ता महासंघले सरकारको लापरबाहीका कारण कार्ययोजना नबनेको बताएको छ ।
वन महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष भीमप्रकाश खड्काले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने दायित्व सरकारको भए पनि दायित्व निर्वाह नगर्दा वनमा समस्या भएको बताए । ‘नवीकरण गर्ने अख्तियार नै वन कार्यालयलाई छ । अख्तियारवालाले गर्नुपर्ने दायित्व ननिभाउँदा हो यो भएको छ,’ उनले भने, ‘सामुदायिक वन उपभोक्ता समूहको कार्ययोजना नै भएन, विधान नै भएन भने काम गर्नै पाउँदैनन् । काम गर्नका लागि कार्ययोजना चाहिन्छ । यसमा मुख्य दायित्व भएको वनका प्राविधिक अथवा डीएफओले समय नपाएर हो वा के हो काम भएको छैन ।’
नवीकरण नहुने वनको संख्या बढ्दो क्रममा रहेको बताउँदै यसमा सरकारको लापरबाही भएको उनको भनाइ छ । ‘प्राविधिक खटाउने, कहाँ सकिए सकिएका छैनन् भन्ने व्यवस्थापन गर्ने काम जिल्ला वन कार्यालयको हो । सामुदायिक वनलाई स्तरीकरण गर्नुपर्छ । ठूला र साना तथा वृक्षरोपण गरेका सामुदायिक वनको फ्याक्टर फरक छ । ठूला र साना स्तरीकरण गर्ने, वनलाई क ख ग मा बाँड्ने त्यसपछि तिनीहरूलाई प्राविधिक दिएर काम गर भन्ने र सिस्टममा जाउ भन्ने हो,’ उनले भने, ‘जिल्ला वन कार्यालयले लापरबाही गरेको हुनाले वनमा वनमाराभन्दा अरु छैन । सरकारले अभिभावकको भूमिका निभाएन, करमात्रै देउभन्दा पनि समस्या भएको छ ।’
वनमा सचेतनाका कार्यक्रम पनि नभएको उनले बताए । ‘अहिले स्थानीय प्रदेश तथा संघ कुनै पनि निकायबाट वनमा सचेतनाका कार्यक्रम छैनन् । वनको नीति नियम फेरिरहन्छ तर सचेतना गाउँतहसम्म पुर्याउन केही मेकानिज्म छैन । यसले अफ्ठेरो भएको छ,’ उनले भने, ‘सामुदायिक वनले कार्ययोजना नभएर काम गर्न पाएका छैनन् । काठहरू सुकेका छन् । रुखहरू सुकेका छन् । पुराना रुख छन् निकासी गर्न दिँदैन । वैज्ञानिक वन दिगो वन के के भनेर रुख निकाल्न दिइएको छैन ।’
सामुदायिक वनले कार्ययोजनाको मापदण्डभित्र रहेर पुराना रुख पहिले उपभोक्ता र बाँकी रहेको बाहिर बेच्ने प्रावधान सरकारले ल्याइदिनुपर्ने बताउँदै उनले त्यो पोलिसी नल्याएकाले सामुदायिक वनभित्र निराशा बढ्ने वातावरण भएको बताए । ‘सामुदायिक वन उपभोक्ताले थला परेका रुख काट्न पाएका छैनन् । वैशाख जेठ आउँछ । आगलागी भएर सब सखाप हुनसक्छ । लाखौं क्युफिट जल्छ तर उपभोक्ताले ल्याउन पाउने प्रावधान छैन,’ उनले भने, ‘सरकार चनाखो भएर उपभोक्तामुखी नीति बनाउने र सचेतना अभियान चलाउने गर्नुपर्छ ।’
जिल्लाभर वनको अवस्था
डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत गठन तथा हस्तान्तरण भएका नयाँ सामुदायिक वन पाँच छन् जसको क्षेत्रफल दुई हजार ३१४ दशमलव ७१ हेक्टर छ भने आबद्ध घरधुरी ४७४ छन् । देउखुरी कार्यालयअन्तर्गत हालसम्म जम्मा कायम भएका १५१ सामुदायिक वनको क्षेत्रफल ५७ हजार ४६४ दशमलव ६५ हेक्टर छ जसमा ४३ हजार ६२ घरधुरी आबद्ध छन् ।
देउखुरी अन्तर्गतका सामुदायिक वनमा महिला अध्यक्ष भएको सामुदायिक वन १० छन् । जसको दुई हजार ६ सय सात दशमलव २३ हेक्टर क्षेत्रफल हुन्छ भने सामुदायिक वन उपभोक्ता समितिको कार्यसमितिमा सबै महिला भएका सामुदायिक वन पाँच छन् जसको क्षेत्रफल ५४८ दशमलव सात हेक्टर छ । देउखुरीमा ३८ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको एउटा धार्मिक वन पनि छ । चालु आर्थिक वर्षको ६ महिनासम्म ४६ वटा नयाँ दर्ता भएका निजी वन छन् जसको क्षेत्रफल एक दशमलव २२ हेक्टर रहेको छ ।
डिभिजन वन कार्यालय घोराहीअन्तर्गत गठन तथा हस्तान्तरण भएका नयाँ सामुदायिक वन तीनवटा छन् जसको क्षेत्रफल एक हजार २७७ दशमलव ९६ हेक्टर छ भने त्यहाँ ४३६ घरधुरी आबद्ध छन् । डिभिजन वन कार्यालय घोराहीमा हालसम्म जम्मा कायम भएका ३९२ सामुदायिक वन छन् जसको क्षेत्रफल ६१ हजार ८६४ दशमलव ६५ हेक्टर छ भने ती वनमा ११ हजार ९४३ घरधुरी आबद्ध छन् ।
घोराही कार्यालयअन्तर्गतमा महिला अध्यक्ष भएको सामुदायिक वन ३३ वटा छन् जसको क्षेत्रफल ७९ हेक्टर छ भने सामुदायिक वन उपभोक्ता समूहको कार्यसमितिमा पूरै महिला भएका सामुदायिक वन पनि ३३ रहेका छन् जसको क्षेत्रफल पाँच हजार ११५ हेक्टर रहेको छ । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत ११२ दशमलव ५२ हेक्टर क्षेत्रफल ओगटेका धार्मिक वन पाँचवटा छन् । चालु आर्थिक वर्षको हालसम्म १२ दशमलव ३ हेक्टर क्षेत्रफलमा ६ वटा नयाँ निजी वन दर्ता भएका छन् ।
हालससम्म दर्ता भएका निजी वनको संख्या घोराही कार्यालयअन्तर्गत २४८ छ जसको क्षेत्रफल १२३ दशमलव ३३ हेक्टर रहेको छ । यसैगरी जिल्लामा ९० सामुदायिक वन उपभोक्ता समूह वन संवद्र्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना भएका सामुदायिक वन छन् । डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत २८ हजार ३२ दशमलव नौ हेक्टर क्षेत्रफलमा फैलिएका ६५ सामुदायिक वन वन संवद्र्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना भएका सामुदायिक वन छन् । जसमा १८ हजार ८९८ घरधुरी आबद्ध छन् ।
डिभिजन वन कार्यालय घोराहीअन्तर्गत नौ हजार ६२४ दशमलव ६९ हेक्टर क्षेत्रफलमा फैलिएका २५ सामुदायिक वन संवद्र्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना भएका सामुदायिक वन छन् जसमा १२ हजार १२४ घरधुरी आबद्ध छन् । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत एउटा सरकारद्वारा व्यवस्थित वन पनि वन संवद्र्धनमा आधारित वन व्यवस्थापन कार्ययोजना भएको वन छ जुन ५४५ दशमलव ६३ हेक्टरमा फैलिएको छ ।