सिद्धार्थनगरमा पूर्वाधारका ५९ योजना कार्यान्वयन हुँदै

भैरहवा– क्षेत्रफलको आधारमा नेपालको सानोमध्येको एक रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा पूर्वाधार निर्माणतर्फ ५९ वटा योजना बोलपत्र तथा दरभाउपत्रका माध्यमबाट सूचना प्रकाशन गरी ४६ योजना सम्झौता गरेको छ । ती योजनाको कार्यसम्पादन साथै निर्माणका काम पनि सुरु भएको सिद्धार्थनगर नगरपालिकाका योजना प्रम्खु तथा इन्जिनियर साकार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बाँकी १३ वटा योजना पनि सम्झौताको प्रक्रियामा रहेका छन् । सिद्धार्थनगर नगरपालिकामा नेपाल सरकार, प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट भएको भौतिक पूर्वाधारतर्फका योजना कार्यान्वयनका लागि अघि बढिरहेको र विकासको काम पनि भइरहेको सिद्धार्थनगरका नगर प्रमुख इस्तियाक अहमद खानले बताए ।
नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म ठेक्का खोलिएका योजनाको काम सम्पन्न भएपश्चात् ग्राभेल सडकतर्फ ५.७ किमि, नाली निर्माणतर्फ ६.५ किमि (एकतर्फी), आरसिसी सडकतर्फ ३५२ मिटर, आरसिसी भवन निर्माणतर्फ १२ वटा, ट्रसबाट निर्माण गरिने भवनतर्फ ३ वटा रहेका छन् ।
सार्वजनिक जग्गा तथा नगरपालिकाका विभिन्न भवनमा पर्खाल निर्माणतर्फ १३९.७५ मिटर, स्टोन मसोनरी वालतर्फ ९३ मिटर निर्माण भइरहेको र यसै आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि निर्माणमा रहेको प्रशासनिक भवन निर्माण कार्य सम्पन्न गरी सोही भवनबाट सेवा प्रवाहको शुभारम्भ हुने योजनाअनुसार काम भइरहेको योजना शाखाले जनाएको छ ।
महत्त्वाकांक्षी योजनाअनुसार एशियाली विकास बैंक, नेपाल सरकार र सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालित हुन गइरहेको यूआरएलआईपी योजनाअन्तर्गत नगरपालिकाभित्रका सडक आरसिसी तथा अस्फाल्ट पिचमा २३.६२ किमि निर्माण हुनेछ भने सोही सडकमा स्ट्रिट लाइटको समेत काम हुनेछ ।
नाला निर्माणतर्फ ४२.९ किमि तथा निर्माण भएका सडकहरुमा खानेपानीको पाइप नभएका स्थानहरुमा खानेपानीको पाइप आवश्यकताका आधारमा जडान गर्ने गरी सिद्धार्थनगर नगरपालिका र भारतीय निर्माण व्यवसायीबीच एक अर्ब १८ करोड १५ लाख बराबरको कार्य गर्ने गरी सम्झौता भएको छ । यो छिट्टै कार्यान्वयनको चरणमा रहेको बताइएको छ ।
नगरको काखै भएर बग्ने डण्डा नदी करिडोर निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन सहरी विकास मन्त्रालयमार्फत् भइरहेकोले योसमेत छिट्टै कार्यान्वयनमा आउने विश्वास रहेको नगर प्रमुख खानको भनाइ छ । नगरमा २०८१ साउनदेखि पुस मसान्तसम्म घरनक्शामा १२८ वटा नक्सा दर्ता भएका छन् भने ७२ वटा घरनक्शा अस्थायी स्वीकृत प्रदान गरिएको छ ।
दर्ता भएका नक्शा र विगतमा स्थायी स्वीकृत हुन बाँकी भएका नक्शासमेत गरी ११४ वटा नक्शा स्थायी, १२४ घरनक्शाको सम्पन्न प्रमाणपत्र जारी गरिएको छ । १६औँ नगरसभाबाट पारित भएको घरनक्शा नियमित वा अभिलेखीकरण गर्ने ऐन, २०८१ बमोजिम अभिलेखिकरणका लागि अनलाइन प्रणालीमार्फत् दर्ता भएका घरनक्शा १३४ वटा रहेकोमा ७३ वटा नक्शाको अभिलेखिकरण भएका छन् भने ५१ वटा नक्शाको नामसारी भएको नक्शा शाखाले जनाएको छ ।