विद्युतीय सवारी साधनमा आकर्षण

दाङ– जिल्लामा पछिल्लो समय विद्युतीय सवारी साधनमा नागरिकको आकर्षण बढ्दै गएको छ । वातावरण प्रदूषण न्यूनीकरणसँगै पेट्रोलियम पदार्थको खपतलाई कम गर्ने गरी सरकारले विद्युतीय गाडी सञ्चालन नीतिलाई प्रोत्साहन गरेसँगै दाङमा विद्युतीय गाडीका प्रयोगकर्ता बढ्दै गएका हुन् ।
विद्युतीय गाडीका लागि चार्जिङ स्टेशन जिल्लाका मुख्य सहरहरूमा निर्माण भएसँगै साना तथा ठूला सवारी साधनको संख्या वृद्धि हुँदै गएको छ । यातायात व्यवस्था कार्यालय तुलसीपुरका अनुसार जिल्लामा साना तथा ठुला सवारी साधनको संख्या दुई हजार ६ सय ८० वटा रहेको छ । जसमा सबैभन्दा धेरै तीन पांग्रे सवारी साधनहरू अटो रिक्सा तथा टेम्पोको संख्या दुई हजार पाँच सय तीन रहेको यातायात व्यवस्था कार्यालय तुलसीपुरका शाखा अधिकृत सुदर्शन अधिकारीले जानकारी दिए ।
शाखा अधिकृत अधिकारीका अनुसार जसमा २२ वटा साधन चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा मात्र दर्ता भएका हुन् । त्यसैगरी दुईपांग्रे सवारीसाधन मोटरसाइकल र अटोको संख्या एक सय २५, चार पांग्रे सवारी साधन कार, जिप, भ्यान र पिक अफ गाडीको संख्या ३६ वटा र मिनी तथा माइक्रो बसको संख्या १६ रहेको कार्यालयका शाखा अधिकृत अधिकारीले बताए । उनका अनुसार कार, जिप, भ्यान र पिकअफ गाडी ११ वटा र मिनी तथा माइक्रोबस ६ वटा चालु आर्थिक वर्षमा दर्ता भएका छन् ।
जिल्लाका मुख्य सहरहरू तुलसीपुर, घोराही र लमहीलगायत विभिन्न ठाउँहरूमा सरकार तथा निजी क्षेत्रको लगानीमा चार्जिङ स्टेशन निर्माणले सहजता भएसँगै पछिल्लो समय विद्युतीय गाडीको प्रयोग गर्ने सख्यामा वृद्धि भएको शाखा अधिकृत अधिकारीले बताए । उनका अनुसार जिल्लामा चल्ने विद्युतीय सवारीसाधनको संख्या धेरै भए पनि दाङमा दर्ता भएका सवारी साधन करिब २७ सय रहेका छन् । व्यवसायीहरूले भने जिल्लामा सार्वजनिक सवारीसाधन बोक्ने विद्युतीय गाडी करिब एक सयको हाराहारीमा रहेको बताएका छन् ।
अम्विकेश्वरी सार्वजनिक यातायात प्रालिका अध्यक्ष घनश्याम बस्नेतका अनुसार जिल्ला भित्रसँगै दाङबाट नेपालगन्ज, बुटवललगायतका क्षेत्रमा सञ्चालन हुने सार्वजनिक विद्युतीय गाडी करिब एक सयको हाराहारीमा रहेको बताए । खर्चमा बचतसँगै वातावरण प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने भएकै कारण व्यक्तिगत प्रयोगसँगै सार्वजनिक यातायातका रूपमा विद्युतीय गाडी किन्नेको संख्यामा वृद्धि भएको हो ।
जिल्लामा लमहीमा विद्युत प्राधिकरणसँगै घोराही, तुलसीपुर र भालुवाङमा निजी लगानीमा विद्युतीय चार्जिङ स्टेशनको व्यवस्था गरिएको छ । इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा विद्युतीय गाडीको खर्च अत्यन्त कम रहेको विगत दुई वर्षदेखि विद्युतीय गाडी सञ्चालन गर्दै आएका नरेश श्रेष्ठ बताउँछन् ।
उनका अनुसार चार्जिङ स्टेशनमा सामान्य अवस्थामा प्रति युनिट ८ देखि १० रुपैयाँ शुल्क लाग्ने गरेको छ । इन्धनबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी प्रयोग गर्दा धेरै सहुलित हुने श्रेष्ठले बताए । ‘विद्युतीय गाडी प्रयोगले आर्थिक रूपमा सहुलित भएको छ । पहिले चार्जिङ स्टेशन नहुँदा टाढा जान समस्या हुने गरेको थियो । तर, अहिले लमहीसँगै घोराही र तुलसीपुरलगायतका ठाउँमा चार्जिङ स्टेशन निर्माणले सहजता बनाएको छ’ उनले भने ।
नेपाल विद्युत प्राधिकरण लमहीमा दुई वटा चार्जिङ स्टेशन निर्माण गरेर २०८० जेठ महिनादेखि सञ्चालनमा ल्याइएको छ । निजी क्षेत्रको सहयोगमा घोराहीमा एउटा, तुलसीपुरमा तीन वटा, भालुवाङमा एउटा चार्जिङ स्टेशन निर्माण गरिएका छन् । लमहीको बसर्पाकमा निर्माण गरिएको चार्जिङ स्टेशनले स्थानीयसँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चल्ने विद्युतीय सवारीसाधनलाई सहजता भएको व्यवसायी बताउँछन् ।
लमहीमा निर्माण गरिएको चार्जिङ स्टेशनबाट दैनिक २० देखि ३० वटासम्म सवारी साधनहरूले सेवा लिने गरेका छन् । विद्युतीय गाडी बढ्दै गए पनि निर्माणाधिन अवस्थामा रहेको सडकका विभिन्न खण्डमा भएका खाल्डाखुल्डीका कारण विद्युतीय सवारीसाधन सञ्चालनमा भने समस्या हुने गरेको व्यवसायीहरू बताउँछन् ।