Logo

चुनौतीपूर्ण बन्दै रासायनिक विषादी प्रयोग

धनकुटा– तरकारी र फलफूल बालीमा प्रयोग गरिने रासायनिक विषादीको प्रयोग चुनौती पूर्ण बन्न थालेको छ । रासायनिक विषादीबारे किसान जानकार नहुँदा विषादी प्रयोग र व्यवस्थापन चुनौती पूर्ण बन्दै गएको हो । धनकुटा नगरपालिका र शहिदभूमि गाउँपालिकाका धेरै वडा गोलभेँडा उत्पादनको पकेट क्षेत्रको रूपमा रहेका छन् । यहाँका अधिकांश किसानले गोलभेँडा र अरू तरकारी उत्पादनलाई आय आर्जनको मुख्य स्रोत बनाएका छन् ।

धनकुटा नगरपालिका र सहिदभूमी मात्र नभइ धनकुटाका ताजा तरकारी उत्पादन र निकासीका लागि कोशी पहाडी जिल्लामै अग्रणी छ । तरकारी बाली उत्पादनका लागि रासायनिक विषादी प्रयोगका बारेमा बेला बेलामा चर्चा परिचर्चा हुने गरेको छ । तर, कुन बालीमा कस्तो विषादी, कुन समयमा कति मात्रामा र कति पटकसम्म प्रयोग हुन्छ भन्ने यकिन विवरण सरकारी निकायसँग छैन । जसका कारण रासायनिक विषादी नियन्त्रण र व्यवस्थापनमा प्रभावकारी काम हुन नसक्दा चुनौती पूर्ण बन्दै गएको हो ।

किसानले गोलभेँडा र तरकारीको राम्रो उत्पादन लिन किरा र ढुसी नाशक रासायनिक विषादी प्रयोग गर्छन् । बालीमा रोग कीरा लाग्ने र उत्पादन घट्ने डरले विषादी प्रयोग गर्नुपरेको किसानको भनाइ छ । रासायनिक विषादी प्रयोग कम मात्रमा गर्नु पर्छ भन्ने सामान्य ज्ञान भए पनि त्यसको मात्र मिलाउने, समय र बालीअनुसार लगाउने भन्ने बारेमा पर्याप्त जानकारी नभएको धनकुटा बेलाहाराकी किसान सुशीला थापा बताउँछिन् ।

बालीनालीमा अनियन्त्रित विषादीको प्रयोगले मान्छे, अन्य जीवजन्तु र वातावरणमा पर्ने नकारात्मक असरबारे धेरथोर ज्ञान किसानलाई छ । तर, कृषि उत्पादनमा रासायनिक विषादी प्रयोग बाध्यात्मक भएको उनीहरू सुनाउँछन् । विषादीको अव्यवस्थित प्रयोगबाट वातावरण र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असरकाबारेमा थाहा पाएर पनि विकल्प अपनाउन नसकिएको धनकुटा नगरपालिका– ९ बेलहराका अर्का किसान वेदप्रसाद रोइलाको भनाइ छ ।

सरकारी निकायले धनकुटाको कृषि क्षेत्रमा विषादी प्रयोग कुन मात्रामा छ भन्ने अध्ययन गरेको छैन । प्रयोग भइरहेको विषादीको मात्रा र प्रकार पहिचान नहुँदा नियन्त्रण व्यवस्थापनका काममा अप्ठेरो परेको र किसानले पनि कृषि प्राविधिकको सिफारिस बिनै एग्रोभेट सञ्चालकको भरमा बाली नालीमा हाल्दा विषादी प्रयोग अनियन्त्रित बनेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र राना बताउँछन् ।

तरकारी र फलफूल बालीमा विषादी प्रयोग घटाउने उद्देश्य राखेर स्थानीय तहमा रहेका कृषि शाखा र जिल्लास्थित कृषि ज्ञान केन्द्रले किसान र समुदाय स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख रानाको भनाइ छ । कृषि बालीमा रासायनिक विषादी प्रयोग बढेको बताउने गरिए पनि नियन्त्रण, न्यूनीकरणका लागि तथ्यांक संकलन र निगरानी प्रणाली विकास गरिएको छैन । रासायनिक मलको विकल्पमा जैविक विषादी उपलब्धताको सुनिश्चितता, प्रवर्द्धन र प्रोत्साहनमा कमी आएको छैन ।

अभिमुखीकरण कार्यक्रमले मात्रै विषादी प्रयोगको मात्रा घटेको नदेखिएको कृषि प्राविधिक तथा कृषिका क्षेत्रमा कम गर्नेहरू बताउँछन् । खेती प्रविधिमा आएको बदलाव, उन्नत बीउ विजनको प्रयोग, जलवायु परिवर्तनको असर, व्यसायीकरण, बेमौसममा उत्पादन लिनु पर्ने बाध्यता जस्ता कारणले तरकारी र फलफूल बालीमा रासायनिक विषादी प्रयोगको मात्रा बढेको प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्