व्यावसायिक क्षेत्र सुरक्षित बनाउन माग

बारा– व्यावसायिक क्षेत्रका सहर, बजारमा उपभोक्ता र व्यापारी दुवै असुरक्षित हुन थालेको भन्दै जितपुर सिमराका उद्यमी तथा व्यवसायीहरूले प्रहरी प्रशासनसँग सुरक्षा माग गर्न थालेका छन् । पथलैया–वीरगन्ज औद्योगिक करिडोर भित्रको सहर सिमरा र ठूलो बजार जितपुरमा लगातार अपराधका घटना घट्न थालेपछि नगर उद्योग वाणिज्य संघले उक्त माग गरेको हो । सरोकारवालाहरू राखेर आयोजना गरेको अन्तक्र्रियामा उपस्थित उद्यमी व्यवसायीले प्रहरी, प्रशासनलाई व्यावसायिक सहर बजार सुरक्षित वातावरण बनाउन आग्रह गरेका थिए ।
एक महिना यता करिडोरका सहर बजारमा दर्जन बढी लुटपाट, चोरी, तथा मानवीय क्षतिका घटना श्रृखलावद्ध रूपमा घटेपछि उद्योगी व्यवसायीहरूले असुरक्षित महसुस गरेका छन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघ पथलैया–वीरगन्ज औद्योगिक करिडोरका सभापती संजय साहले करिडोर क्षेत्र, यहाँका प्रमुख सहर, बजारलाई सुरक्षा घेरामा राखी बलियो नबनाएसम्म उद्यमी, व्यापारी तथा सर्वसाधारणले सहज महसुस गर्न नसक्ने बताए ।
आर्थिक मन्दीको चपेटामा पर्दै गएको बजारमा दिन प्रतिदिन बढेको अपराधको घटनाले आम उपभोक्ताले असुरक्षित महसुस गर्न थालेका छन् । त्यस्तो असर स्थानीय व्यापार व्यवसायमा देखिँदै गएको कस्मेटिक संघका अध्यक्ष रिना बजगाईले बताइन । उनले जितपुर बजारमा परिवारसहित आउने उपभोक्ताहरू माघ १७ गते हराएकी ३ वर्षिया बालीका अंशु जयसवाल मृत अवस्थामा भेटिएपछि त्रास बढेर सन्नाटा छाएकोले व्यवसायिक क्षेत्रलाई सुरक्षित बनाउन सुरक्षा निकायले प्रभावकारी योजनाका साथ अगाडि वन कार्यक्रममार्फत आग्रह गरेकी छिन ।
आन्तरिक व्यापार प्रवर्द्धन र बजारीकरणमा जिल्लमै बलियो भूमिका गर्दै आएको जितपुर सिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले कार्यक्रममा सुरक्षा चुनौतीमा व्यवसाय र व्यापार सम्भव नहुने भन्दै उपस्थित प्रहरी, प्रशासनका प्रमुखहरूलाई नगर क्षेत्रको सुरक्षा बलियो बनाई सुरक्षित वातावरण बनाउन अनुरोध गरे । कार्यक्रममा साना तथा मझौला उद्यमीहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरूले व्यावसायिक नगरको खस्कँदो सुरक्षा सवल बनाउन सुझाव सहितका धारणा प्रस्तुत गरेका थिए ।
जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले ठूलो आर्थिक कारोबार हुने जितपुर सिमरा तथा मुलुककै ठूलो औद्योगिक कोरिडोरसमेत यसै क्षेत्रमा रहेकोले व्यावसायिक वातावरण सुरक्षित बनाउन प्रहरीले नयाँ ढंगबाट कारबाही सुरु गरेकोले ढुक्कसँग व्यापार व्यवसाय गर्न अनुरोध गरे । जिल्लाको १६ स्थानीय तह जितपुर सिमरा उपमहानगरमा ठूला पूर्वाधार निर्माणका योजना, औद्योगिक कोरिडोर, सिमरा सेज, प्रमुख सहर तथा ठूला बजारहरू सञ्चालनमा रहेका छन् ।