Logo

लुम्बिनीमा दुई हजार उद्योग थपिए

दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ हजार बढी उद्योग थपिएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशमा दुई हजार दुई सय १६ नयाँ उद्योग थपिएका हुन् । जसमा ७ सय ७७ महिला र १ हजार ४ सय ३९ पुरुष उद्योग र उद्यमी थप भएको मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको रेकर्डअनुसार आधा आर्थिक वर्षको समयमा ७ हजार १ सय ८९ जनाले रोजगारी प्राप्त गरेका छन् । जसमा दुई हजार पाँच सय ७१ महिला र ४ हजार ६ सय १८ जना पुरुषले रोजगारी प्राप्त गरेका छन् । यसले उद्यमी पनि पुरुष र रोजगारी पनि पुरुषले नै धेरै प्राप्त गरेको देखाएको छ । उद्यमीतर्फ रुपन्देहीमा महिला १ सय ७३ र पुरुष ३ सय ३४ उद्यमी थपिएका छन् ।

त्यसैगरी बाँकेमा १ सय ७ महिला र २ सय ८६ पुरुष, नवलपरासी पश्चिममा ७० महिला र १ सय २६ पुरुष, कपिलवस्तुमा ७१ महिला र एक सय ३९ पुरुष, दाङमा दुई सय ३५ महिला र तीन सय २२ पुरुष, बर्दियामा ५२ महिला र ९३ पुरुष, पाल्पामा २० महिला र ३५ पुरुष, गुल्मीमा ९ महिला र १५ पुरुष, अर्घाखाँचीमा ९ महिला र ३७ पुरुष, प्युठानमा ६ महिला र ९ पुरुष, रोल्पामा १४ महिला र २४ पुरुष एवं रुकुम पूर्वमा ११ महिला र १९ पुरुष उद्यमी थप भएका छन् । रोजगारीतर्फ रुपन्देहीमा एक हजार तीन सय ४४ पुरुष र पाँच सय ८३ महिलाले रोजगारी पाएका छन् ।

बाँकेमा ६ सय २० महिला र आठ सय ८१ पुरुष, नवलपरासी पश्चिममा दुई सय ५२ महिला र ६ सय १६ पुरुष, कपिलवस्तुमा तीन सय ६३ महिला र चार सय ९३ पुरुष, दाङमा दुई सय ५५ महिला र ५ सय ५ पुरुष, बर्दियामा दुई सय २३ महिला र तीन सय ६७ पुरुष, पाल्पामा ७७ महिला र ९८ पुरुष, गुल्मीमा ५१ महिला र १ सय ६ पुरुष, अर्घाखाँचीमा ४४ महिला र १ सय पुरुष, प्युठानमा ३० महिला र २३ पुरुष, रोल्पामा ४१ महिला र ४७ पुरुष तथा रुकुम पूर्वमा ३२ महिला र ३८ पुरुषले रोजगारी प्राप्त गरेका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी प्रदेशमा रहेका साना उद्योग तथा वाणिज्य फर्मको कूल लगानी साढे आठ अर्ब थप भएको छ । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको अर्धवार्षिक तथ्यांकअनुसार लुम्बिनीका १२ जिल्लामा आठ अर्ब ४९ करोड ९ लाख ९ हजार पाँच सय ४४ रुपैयाँ लगानी थप भएको हो । वाणिज्य फर्मभन्दा साना उद्योगमा केही बढी लगानी थप भएको छ ।

उद्योगतर्फ चार अर्ब ५६ करोड १७ लाख ६२ हजार छ सय ६७ रुपैयाँ र वाणिज्यतर्फ तीन अर्ब ९२ करोड ९१ लाख रुपैयाँ लगानी थपिएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । मन्त्रालयका अनुसार रूपन्देहीमा उद्योगतर्फ एक अर्ब ४० करोड ९६ लाख र वाणिज्यतर्फ एक अर्ब १६ करोड ४६ लाख रुपैयाँ लगानी थप भएको छ ।

बाँकेमा ६ महिनाको अवधिमा उद्योगतर्फ ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्य फर्ममा ५७ करोड ९५ लाख ८१ हजार, नवलपरासी पश्चिममा उद्योगतर्फ ५० करोड ५२ लाख र वाणिज्यतर्फ ४१ लाख ७३ हजार, कपिलवस्तुमा उद्योगतर्फ ५७ करोड २० लाख ६० हजार र वाणिज्य फर्ममा ४१ करोड ७३ लाख, दाङमा उद्योगतर्फ ४१ करोड २२ लाख ७१ हजार दुई सय ९० रुपैयाँ र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार लगानी थपिएको छ । पाल्पामा उद्योगतर्फ ३४ करोड ३४ लाख ३५ हजार र वाणिज्य फर्ममा २४ करोड ७५ लाख ५० हजार रुपैयाँ लगानी थप भएको छ ।

बर्दियामा उद्योगतर्फ ९५ करोड र वाणिज्यतर्फ १६ करोड लगानी थपिएको छ । गुल्मीमा उद्योगतर्फ ८६ करोड र वाणिज्य फर्ममा ५० करोड ७० लाख, अर्घाखाँचीमा उद्योगतर्फ २२ करोड ५२ लाख र वाणिज्य फर्म तर्फ पाँच करोड ४९ लाख, प्युठानमा उद्योगतर्फ दुई करोड ४३ लाख र वाणिज्य फर्ममा चार करोड एक लाख ९५ हजार एक सय, रोल्पामा उद्योगतर्फ तीन करोड २७ लाख ५० हजार र वाणिज्य फर्मतर्फ दुई करोड ६५ लाख २० हजार लगानी छ भने रुकुम पूर्वमा उद्योगतर्फ तीन करोड ९३ लाख र वाणिज्य फर्ममा ६ करोड १३ लाख लगानी थप भएको छ ।

प्रतिक्रिया दिनुहोस्