Logo

सडक सञ्जालमा जोडियो तातोपानीको थलाले गाउँ

जुम्ला– तातोपानी गाउँपालिकाको सबैभन्दा विकट बस्ती थलाले गाउँ सडक सञ्जालमा जोडिएको छ । तातोपानी गाउँपालिका–८ को भौगोलिक रूपमा निकै विकट थलाले गाउँ वर्षाैंपछि सडक सञ्जालमा जोडिएको हो । निर्माण सम्पन्न भएको उक्त जोखे आटीदेखि थलालेसम्मको सडक मंगलबार गाउँपालिका अधयक्ष नन्दप्रसाद चौलागाईं, प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले संयुक्त रूपमा उद्घाटन गरे भने गाउँमा पहिलो पटक गाडी पुगेपछि थलालेबासीले भव्य स्वागत गरेका छन् ।

स्थानीय सरकार सञ्चालन भएको सात वर्ष बितिसक्दा पनि सडक नपुगेको थलाले गाउँमा वर्षाैंपछि सडक पुग्दा थलालेबासी खुसी भएका छन् । थलाले निवासी युवा नवराज शाहीको विशेष पहलमा सडक निर्माण सम्पन्न भएको छ । ‘गाउँमा सडक पुग्यो विकास पुगेको अनुभूति भयो । सडक नहुँदा दु:ख हामीले पायौ, हाम्रा छोरा नातिले दु:ख नपाउने भया । यही कुराले खुसी छौं ।’ थलालेका स्थानीय ६० वर्षीय दीर्घबहादुर शाहीले भने, ‘पहिलो पटक गाउँमा गाडी पुग्यो । योभन्दा अगाडि मोटरसाइकल ट्याक्टर पुगिसकेका थिए । अब दैनिक गाडी नआया पनि दु:ख बिरामी पर्दा मोटरसाइलमै भए पनि लिन सकिने भयो ।’

त्यस्तै थलाले गाउँका ५८ वर्षीय लालबहादुर शाहीले गाउँमा पहिलो पटक गाडि पुगेपछि जीवनका कयौं वर्ष उकाली ओराली गर्दै रातोपिरो अनुहार लगाएर पिठ्युँमा भारी बोकेका दिन सम्झिए । ‘यति विकट गाउँमा सडक पुग्ला । गाडी आउला भन्ने कल्पना पनि थिएन,’ उनले भने, ‘गाउँपालिकाले सडक पुर्‍यायो । बल्ल घरघरमा जनताको सरकार आएको अनुभूति भयो । विटक थलाले गाउँलेका सुखका दिन आए ।’

समुद्री सतहदेखि २७ सय ८० मिटर उचाइमा अवस्थित थलाले गाउँमा आफ्नो कार्यकालमा सडक पुर्‍याउन पाउँदा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले खुसी व्यक्त गरे । ‘विकासमा विकट गाउँलाई प्राथमिकता दिनुपर्ने मान्यताअनुसार थलालेमा सडक पुर्‍याएका हांै । अब तातोपानीका कुनै गाउँ सडक पुग्न बाँकी छैनन् ।’

अध्यक्ष चौलागार्इंले भने, ‘चुनावका बेला म थलाले पुग्न सकेको थिइन । तर पहिलो पटक पुगेको गाडीसँंगै थलाले पुगें । थलालेमा बाटो, बत्ती र सञ्चार नपुर्‍याएर थलाले नजाने बाचा गरेको उनले सम्झिए । निर्वाचित भएको साढे दुई वर्षमा विकट थलालेलाई सडक, बत्ती र सञ्चारको पहुँचमा पुर्‍याएर मात्र गाउँमा आएको छु । भेरी खोलालाई विशेष क्षेत्र घोषणा गरेर विकास निर्माण गरिरहेको छु ।’

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सडक विकासको मेरुदण्ड भएकाले थलाले गाउँ सडकमा जोडिनु गौरवको विषय भएको बताए । अब थलाले गाउँको दैनिकी सहज हुने अपेक्षा व्यक्त गरे । अहिलेसम्म सडक पहुँच नपुगेको थलालेमा पालिकाले सडक निर्मण गरी जनताको आवश्यकता पूर्ति गरेको उल्लेख गरे ।

तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले तीन प्याकेज गरी उक्त सडक निर्माण गरिएको बताए । उनले भने, ‘थलालेमा सडक पुर्‍याउन सम्भव हुन्न कि भन्ने सोचेका थियौं । तर स्थानीयको सक्रियतामा विकट गाउँमा सडक पुग्यो । गाउँमा पहिलो पटक गाडी पुग्यो । यो भेरी खोला क्षेत्रका लागि ऐतिहासिक विकास हो । सडकको सुरक्षामा स्थानीयले ध्यान दिन आवश्यक छ ।’

तातोपानीका प्राविधिक शाखा प्रमुख डिल्ली बुढाका अनुसार करिब डेढ करोड लगानीमा सडक निर्माण गरिएको बताए । यो सडकमा पूर्वाधार कार्यालय र तातोपानीको संयुक्त लगानी छ । पहिलो प्याकेजमा १५ लाख, दोस्रो प्याकेजमा २५ लाख, तेस्रो प्याकेजमा ५० लाख र चौथो प्याकेजमा ४० लाख बढी रकम लगानी भएको छ ।

उनका अनुसार पाथरखोलादेखि थलाले गाउँसम्म उक्त सडकको दूरी ४.७१ किलोमिटर रहेको छ । जसमा चालु आर्थिक वर्षमा १८ सय २५ मिटर सडक निर्माण गरिएको छ । इन्जिनियर बुढाले भने, ‘सडक स्टकचरको काम धेरै बाँकी छ । पक्की पर्खाल, नाला तथा अन्य फिनिसिङको काम गर्न बाँकी छ । पूर्वाधार विकास कार्यालयले काम गर्दै छोड्दै गरेको छ ।’

तातोपानी–८ का वडाध्यक्ष नरवीर रावतले विकट थलाले गाउँ सडकमा जोडिनु भेरीखोला क्षेत्रकै ऐतिहासिक क्षण भएको बताए । उनका अनुसार सडक बत्ती, सञ्चार सबै पुगिसकेको छ । अब स्वास्थ्य सेवा लिन कठिन भएकाले त्यसतर्फ तातोपानी गाउँपालिकालाई ध्यान दिन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्