नुप्चे-लिखूको सुरुङ ब्रेक थ्रु

लाछ्वोर (रामेछाप)– रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखू जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु भएको छ । बुधबार दिउँसो नुप्चे खोला र लिखू खोला र नुप्चेको सुरुङ जोडिने स्थानको बीचको सुरुङ ब्रेक थ्रु भएको हो । मंगलबार साँझसम्म दुवैतर्फबाट सुरुङ निर्माण गरी बाँकी रहेको ४.३७ मिटर सुरुङ बुधबार दिउँसो छेडिएको हो ।
बुधबार सुरुङ छेडिएपछि नुप्चे खोलादेखि लिखु खोलातिरबाट आएको सुरुङ जोडिने स्थानसम्मको १५ सय ९९ मिटर मुख्य सुरुङ खुलेको भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष सिए टिएन आचार्यले जानकारी दिए । आयोजनाको यसअघि गत जेठ पहिलो हप्ता लिखू खोलादेखि दुवैतिरबाट आएको सुरुङ जोडिने स्थानसम्म सुरुङ जोडिएको थियो ।
लिखू खोलादेखि नुप्चे खोलातिरबाट आउने सुरुङ जोडिने विन्दुसम्म १४ सय २५ मिटर लम्बाइको सुरुङ छ । लिखु खोला र नुप्चे खोलाको पानीलाई मिसाएर नुप्चे-लिखू जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ २०७८ असोजदेखि आयोजना निर्माणाधीन छ । नुप्चे-लिखू जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले स्विच थिचेर विष्फोट गराएपछि सुरुङ छेडिएको हो ।
५९० मिटर सुरुङ बाँकी
आयोजनाको लागि कुल ७४ सय ४६ मिटर सुरुङ निर्माण गर्नुपर्छ । यी सुरुङमध्ये २९५ मिटर मुख्य सुरुङ निर्माणका लागि अडिट सुरुङ निर्माण गरिएको नुप्चे-लिखू जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन इनर्जी एण्ड पावर लिमिटेडका महाप्रबन्धक रमेश अधिकारीले जानकारी दिए । नुप्चे खोला र लिखू खोलातिरबाट पानी ल्याउन निर्माण हुने सुरुङको विन्दुभन्दा केही तल अडिट निर्माण गरी उत्तरतिर र दक्षिणतिर मुख्य सुरुङ निर्माण भइरहेको उनले जानकारी दिए ।
अडिटदेखि उत्तरतिर तीन सय मिटर सुरुङमा दुवै खोलाको पानी आउने सुरुङ जोडिने र ती सबै सुरुङ निर्माण भएकाले अब लाइनिङ र सर्किटको काम सुरु हुने उनले बताए । दक्षिणतिरको २७ सय ५० मिटर सुरुङमध्ये बाँकी सुरुङ आगामी जेठभित्र ब्रेक थ्रु गर्ने अधिकारीले बताए । आयोजनाको ४० सय ५१ मिटर पेनस्टक पाइपमध्ये अब चार सय मिटरमात्रै जडान हुन बाँकी छ । विद्युतगृहमा उपकरण जडानको काम पनि धमाधम जारी छ । आयोजनाको समग्र प्रगति ८५ प्रतिशत भएको छ ।
आयोजनाको २०८२ साउन अन्तिममा विद्युत उत्पादन गर्ने लक्ष्य रहेकोमा कुनै समस्या नआए निर्धारित समयमै आयोजना पूरा गर्ने उनले जानकारी दिए । नुप्चे–लिखू जलविद्युत आयोजना ३३ सय ५० मिटर उचाइमा रहेको नुम्बुर हिमालको फेदमा छ । यो आयोजना उच्च हिमाली क्षेत्रमा निर्माण भएका संसारका थोरै जलविद्युत आयोजनामध्ये पर्ने उच्च हेड भएको आयोजना हो । आयोजनाको खुद हेड एक हजार पाँच मिटर रहेको छ ।