क्यानडा, बेलायत, अमेरिकालगायतका देशबाट लगानी भित्र्याउन सक्छौं

लिन्डा जोन्स मेनोनाइट इकोनोमिक एसोसिएसन (मेडा) की साझेदारी तथा नवप्रवद्र्धनतर्फकी उपाध्यक्ष हुन् । मेडा सन् १९५३ मा स्थापित संस्था हो । यसले गरिबी निवारण, जीविकोपार्जनका लागि टिकाउ व्यवसाय, महिला केन्द्रित व्यवसाय, तथ स्थानीय अर्थतन्त्रमा काम गर्दै उद्यमशिलताको विकास गर्न सघाउँछ । विगत ६५ वर्षदेखि सक्रिय यो संस्था विश्वका ६२ देशमा उद्यमशिलता प्रवद्र्धनमा काम गर्दछ । र, लिन्डाका अनुसार यसले १ अर्ब ३० लाख परिवारलाई प्रत्यक्ष प्रभाव पारेको छ । हरेक देशका नागरिक आफ्नो पेशा ब्यवसायमार्फत जीविकोपार्जन गर्न सक्षम हुनु पर्दछ भन्ने मेडाको मान्यता रहेको बताउने लिन्डाले नेपालमा पनि मेडाले केही लघुबित्त संस्थासँग काम गरिसकेको जनाइन् । निजी क्षेत्रमार्फत महिला उद्यमशिलतामा विज्ञता हासिल गरेकी लिन्डा आर्थिक सशक्तीकरण तथा महिला तथा पु्रुष उद्यमीबीचको समानता तथा सहकार्यद्वारा नै आर्थिक विकास हुने बताउँछिन् । मिश्रित वित्त व्यवस्था (ब्लेन्डेड फाइनान्स) र लगानीका लागि जोड दिँदै आएको मेडाले यसका अतिरिक्त अरू परियोजनाहरू पनि गर्दै आएको बताउँदै उनले कृषि विकास, महिलाको आर्थिक सशक्तीकरण, लघुवित्त सेवालगायतका क्षेत्रमा विश्वभर नै काम गरिरहेको पनि जानकारी गराइन् । परियोजना र परामर्श सेवा दिँदै आएको मेडाका लागि नेपाल नयाँ गन्तब्य भएको भन्दै उनले पहिला नेपालमा थोरै मात्र काम गरेको तर अब नेपालमा स्थानीय साझेदारसँग मिलेर काम गर्न चाहेको बताइन् । मिस्रित वित्त ब्यवस्था अर्थात् ब्लेन्डेड फाइनान्स तथा महिला उद्यमशिलता प्रवद्र्धनका लागि काठमाडौंमा दुईदिने कार्यक्रम गर्न नेपाल आएकी लिन्डासँग कारोबार दैनिकले गरेको कुराकानीको सार :
मेडाले गरिबीको न्यूनीकरणका लागि सिर्जनशील आर्थिक समाधानका लागि कसरी काम गर्छ ?
मेडासँग विभिन्न परियोजना छन्, जुन गरिबी निवारणमा केन्द्रित छन् । १९५३ मा वित्तीय क्षेत्र, लगानी, लघुवित्त, साना तथा घरेलु उद्योगहरूको विकासका लागि स्थापना भएको संस्था हो मेडा । हामीले मिश्रित वित्त व्यवस्था (ब्लेन्डेड फाइनान्स) र लगानीका लागि जोड दिँदै आएका छौं । यसका अतिरिक्त अरू परियोजनाहरू पनि हामीले गर्दै आएका छौं । कृषि विकास, महिलाको आर्थिक सशक्तीकरण, लघुवित्त सेवालगायतका क्षेत्रमा विश्वभर नै काम गरिरहेका छौं । परियोजना र परामर्श सेवा ६० राष्ट्रमा छ । नेपाल हाम्रो लागि नयाँ देश हो । पहिला थोरै मात्र काम गरेका थियौं । यसकारण नेपालमा हामी धेरै काम गर्न चाहन्छौं । हामी विशेषगरी स्थानीय साझेदारसँग मिलेर काम गर्न चाहन्छौं । हामीसँग धेरै अनुभव पनि छन् । लक्षित समुदायका लागि स्थानीय साझेदारमार्फत अघि बढ्न चाहन्छौं । गरिबी निवारणका लागि हामीले समाधानसहितको काम गर्न खोजेका छौं ।
विगतमा पनि केही काम गर्नुभएको थियो, के–के गर्नुभएको छ ? के घरेलु तथा सानो अर्थतन्त्रसँग जोडिएका परियोजनाले बृहत् अर्थतन्त्रलाई फाइदा पु-याउँछ ?
विगतमा नेपालमा विशेषगरी विगतमा लघुवित्तसम्बन्धी एउटा र वित्तीय समावेशितासम्बन्धी एउटा परियोजना मात्र थियो । यहाँको वित्तीय समावेशिता धेरै चासोलाग्दो छ । नेपालजस्तो देशमा लघुवित्तजस्ता कार्यक्रमले ठूलो फाइदा पु-याउँछ । यसको दीर्घकालीन रूपमा प्रभाव पनि हुन्छ । नेपालबाहेक अन्य देशहरूमा हामीले गरेको कामको आधारमा अनुभव भन्नुपर्दा यस्ता कार्यक्रम प्रभावकारी देखिएका छन् । विशेषगरी सरकारसँगको सहकार्य, व्यापारी र स्थानीयवासीको सहभागिता तथा नागरिक समाजसँगको साझेदारीको ठूलो अर्थ हुन्छ ।
नेपालजस्तो मुलुकमा मिश्रित वित्त मोडलका कार्यक्रमको प्रभावकारितालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
निश्चय नै प्रभावकारी हुन्छ । नेपालजस्तो अल्पविकसित राष्ट्रमा यो महत्वपूर्ण छ । काठमाडौँमा त सोफिस्टिकेटेड जनसंख्या छ । यहाँ धेरै पैसा, राम्रो शिक्षा छ तर ग्रामीण क्षेत्रमा कमजोर छ । त्यहाँ शिक्षा, स्वास्थ्यको अवस्था राम्रो छैन । मेडा जहिले पनि ग्रामीण क्षेत्रका जनताका लागि काम गर्छ । जहाँ धेरै पछाडि परेको जनसंख्या छ । हामीले खाली साना किसानका लागि मात्र होइन, महिलाको आर्थिक विकासका लागि काम गर्न लागेका छौं । मेडाले नेपालमा काम गर्नका लागि साझेदारी खोज्दैछौँ, जोसँग यसबारे गहिरो ज्ञान छ, जसको आर्थिक र आर्थिक समावेशिताबारे अनुभव छ । हामी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासको उपयोग गर्न चाहन्छौं ।
तपाईंको विचारमा नेपालजस्ता अल्पविकसित राष्ट्रमा लगानी गर्नका लागि कस्ता अप्ठेरा र चुनौतीहरू छन् ?
मलाई लाग्छ, नियमनको समस्या नेपालमा छ । यसमा हरेक देशको फरक फरक समस्या हुन्छ । यसका लागि स्वीकृति लिनुपर्ने हुन्छ । यसको लामो प्रक्रिया छ, तर चुनौतीहरू हुन्छन् । यसलाई समाधान गरेर आर्थिक र वित्तीय व्यवस्थापन गरेर अघि बढ्नुपर्छ । मलाई लाग्छ, मेडाले उत्कृष्ट लगानीका लागि प्रयास गर्नेछ । यसको जोखिमताको विश्लेषण गर्छ । उदाहरणका लागि हामीले लघुवित्तमा लगानी गरेका थियौं । यो लामो अवधिको कुरा भयो । लघुवित्त संस्थाहरूले व्यापार, साना तथा घरेलु उद्योगहरू, ग्रामीण क्षेत्रका किसानका लागि लगानी गरेका छन् । यसमा केही जोखिमता त हुन्छ नै । लामो समयका लागि ऋण दिँदा यसको पुँजी संरक्षणका लागि केही कुराको ग्यारेन्टी त राख्नुपर्छ । यसको अनुभव हुँदै जाँदा भने यसमा जोखिमता पनि कम हुँदै जान्छ । उनीहरूको पोर्टफोलियो पनि बढ्दै जान्छ ।
वित्तीय क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकले पछाडि परेका क्षेत्रको लगानीका लागि निश्चित दर नै निर्धारण गरेको छ । साना तथा घरेलु उद्योगहरूका लागि बैंक लगानी गर्नका लागि त्यति उत्सुक पनि देखिँदैन । बैंकहरूको त्यति चासो देखिँदैन । यस्तो अवस्थालाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?
हामीसँग व्यापारका लागि पनि विभिन्न कोष छन् । मेडासँग कृषि र कृषि उपकरण, ऊर्जा, व्यापारलगायतका क्षेत्रहरू पनि छन्, जसमा चासो छ । हामीले आवश्यता हेरिरहेका पनि छौं । आपूर्ति श्रृंखला (सप्लाई चेन) लाई विश्लेषण गरिरहेका छौं । व्यापार–व्यवसायमा लगानी पनि गर्न सकिन्छ । यस्तो कुरा दातृ निकायको वित्तीय सहायतामा पनि निर्भर हुन्छ । हामीसँग दातृ निकायको कोष छ । आफ्नै लगानी कोष छ । हामी आवश्यकताको विश्लेषण पनि गर्छौं ।
नेपालका साना उद्योग–व्यवसायहरूले मेडाबाट कोष ल्याउनुपरेमा कस्ता प्रक्रियाहरू छन् ?
यो कुन किसिमको व्यापार हो भन्नेमा निर्भर हुन्छ । हामीले लगानी कोषबाट लगानी गर्छौं । यसको आफ्नै इकोसिस्टम छ । बढी रोजगारी दिने, धेरैलाई फाइदा पुग्ने व्यापार–व्यवसायमा हाम्रो जोड रहन्छ । लगानी गर्दा आर्थिक दिगोपनमा जोड दिन्छौं । स्थानीय लगानीकर्ताहरूलाई समेत लगानीका लागि वातावरण बनाउने कुरामा पनि हाम्रो जोड रहन्छ । लगानीका लागि माग आएपछि त्यसको प्रक्रिया अघि बढ्छ । नेपालमा हामीले लगानी गर्न चाहेका छौं र यसको प्रक्रिया पनि अघि बढेको छ । हामी पनि दातृ निकायसँग निर्भर छौं । नेपालमा लगानी माग भएमा क्यानडा, बेलायत, अमेरिकालगायतका देशहरूसँग समन्वय गरेर हामी लगानी भित्र्याउन सक्छौं । केही कार्यक्रमका दातृ निकायको पैसा पनि छ । हामी लगानीकर्ता मात्र होइन, अरूसँग समन्वय गरेर लगानी भित्र्याउनका लागि समेत सक्रिय छौं ।
नेपाललाई केन्द्रित गरेर केही लगानीका लागि विशेष योजना छन् भन्नु भयो यसका लागि कस्ता प्रयास भएका छन् ?
केही परियोजनाहरू अघि बढाउन लागेका छौं । अन्तर्राष्ट्रिय दातृ निकायसंगको सहायतामा पनि परियोजना अघि बढ्ने छन् । मलाई लाग्छ, नेपालमा दातृ निकायको कोषमा पहुँच छ । इकोसिस्टम बढाउने परियोजनाहरूमा लगानी आवश्यक छ । हामी पनि लगानी गर्न चाहेका छौं, यसका लागि तयारी अघि बढेको छ । बहुकोष लगानी अघि बढाउने योजना छ । यसले इकोसिस्टममा ठूलो योगदान पु-याउने अपेक्षा गरेका छौं । फन्ड म्यानेजरहरूमार्फत सँगसँगै काम गर्ने योजना छ । प्रतिस्पर्धात्मक माध्यमबाट समुदायमा पु-याउने योजना छ ।
तपाईंको विश्लेषणमा र अरू देशको अनुभवमा बैंकिङ च्यानल र फन्ड म्यानेजरमध्ये कुन महत्वपूर्ण हुन्छ र किन ? औपचारिक च्यानलका रूपमा लिइने बैंकिङ च्यानल बढी दक्षतापूर्ण हुन्छ कि हुँदैन ?
मलाई लाग्छ, यसको महत्व सप्लाई चेनमा हुन्छ । साना तथा घरेलु उद्योगहरूका लागि ऋण प्रवाह महत्वपूर्ण हुन्छ । उनीहरूले कहाँबाट ऋण ल्याउन सक्छन् भन्ने पनि महत्वपूर्ण हुन्छ । ठूला–साना तथा घरेलु उद्योगहरूमा बैंकिङ च्यानलको पनि आवश्यकता पर्छ । मलाई लाग्छ, लगानी विभिन्न फरक निकायबाट आवश्यकताका आधारमा ल्याउने गरिन्छ । कस्तो साना तथा घरेलु उद्योग (एसएमई) हरू हो भन्ने परिभाषाका आधारमा लगानीको कुरा हुन्छ । विश्व बैंक र आईएफसीका आधारमा एसएमईका लागि ठूलो लगानी आवश्यक पर्छ । मेडा भने मध्यम वर्गका लागि विशेष फोकस हुन चाहेको हो । हामीले अलि धेरै जनसंख्यालाई लक्षित गरी फन्डको उपयोग गर्न चाहेका हौं । हामीले माइक्रोफाइनान्स र सहकारीमार्फत लगानी गर्न खोजेका हौं । यसमार्फत हुने लगानीको बजारीकरणको कुरा पनि महत्वपूर्ण हुन्छ ।
लगानीपछि त्यसको लागत र प्रतिफलको कुरा आउँछ । यसलाई कसरी हेर्नुभएको छ ? कतिसम्म लगानी कसरी गर्नुभएको छ ?
मेडालाई व्यावसायिक रूपको फाइदा आवश्यकता पर्दैन । थोरै प्रतिफल मात्र चाहेको छ । हामी धेरै फाइदाभन्दा पनि उत्पादन वृद्धि चाहन्छौं । हामी यसलाई लक्षित गरी लगानी गर्छौं । हामीले घानामा १ सय हजार डलरसम्मको लगानी गरेका छौं । हामीले बढी माइक्रोफाइनान्समा लगानी गरेका छौं । माइक्रो बिजनेसमा हामीले लगानी गर्ने हो । हामीले काजकिस्तानमा कृषिको क्षेत्रमा लगानी गरेका छौं । साना कृषकलाई लगानी गरेका छौं । एउटा गैरसरकारी संस्थासँग मिलेर काम गरेका छौं । त्योसँग पनि लगानी कोष छ । हामीसँग लङ क्यापिटल छ । यसले व्यवस्थापनलाई पनि बलियो बनाएको छ । उनीहरूले प्रभावकारी रूपमा पनि काम गरेका छन् । वित्तीय संस्थाहरूले पनि यसको विकास र वृद्धिमा सहयोग गरेका छन् ।
के तपाईंहरूले पुँजी लगानी गर्दा विज्ञतालाई पनि ल्याउनुहुन्छ ?
हो, केही सहायता दिँदा हामीले के देख्यौं भने उनीहरूलाई केही मार्गदर्शन आवश्यक छ । हामी कहिल्यै नियन्त्रण र अपनत्वमा लगानी गर्दैनौं, तर मार्गदर्शन र सहजीकरणमा सहयोग गर्छौं । हाम्रो उद्देश्य स्थानीय संस्थालाई सहयोग गर्नु र बलियो बनाउनेमा छ । स्थानीय साझेदार र स्थानीय इकोसिस्टममा हाम्रो सहायता रहन्छ । हामी नाम, नाफा वा नेटवर्कका लागि काम गर्दैनौं, हामी त स्थानीय समुदायको आर्थिक वृद्धिका लागि केन्द्रित हुन्छौं । हामी इकोसिस्टम र लघुवित्तीय संस्थालाई बलियो बनाउन काम गर्छौं । उनीहरूको क्षमता र दक्षता बढाउन चाहन्छौं । विभिन्न किसिमका उत्पादनकर्ता, आपूर्तिकर्ता, बिक्रेता हुन्छन् । उनीहरूलाई बलियो बनाउनु हाम्रो उद्देश्य रहन्छ । कृषि, प्रविधि र वित्तीय व्यवस्थापनमा हाम्रो जोड छ ।
नेपालमा धेरै माइक्रोफाइनान्सहरू छन्, तर उनीहरूले बढी ब्याज लियो भनेर आरोप पनि लाग्ने गर्छ । यसलाई कसरी हेर्नुभएको छ ?
यो सत्य हो । यसमा बढी ब्याज लगाइन्छ पनि । यसको कारण उच्च जोखिम हो । बेला–बेलामा यसबारे मैले पनि विचार विमर्श गर्ने गरेकी छु । यसमा सतर्क पनि हुनुपर्छ । हामी सहकारी वा ठूलो तहका वित्तीय संस्थाको कुरा पनि छ, तर हामीले निश्चित कृषिक्षेत्रको कुरा गरिरहेका छौं । हामीले साना कृषकसँग काम गर्न खोजेका छौं । उनीहरू उत्पादनका लागि काम गरिरहेका छन् । यस्तो गर्दा समग्र बजार प्रणालीको विश्लेषण गर्नुपर्छ । हामीले कहिले साना त कहिले ठूला व्यापारमा लगानी गरिरहेका हुन्छ । यसमा बजार विश्लेषण महत्वपूर्ण हुन्छ । साना कृषकमा हुने लगानीको कुरा म्याचिङ फन्डको कुरा महत्वपूर्ण हुन्छ । १० हजार, २० हजार म्याचिङ फन्डको कुरा हुन्छ । किसानकै कुरा गर्दा बेच्ने मिलको कुरा हुन्छ, त्यसको उपकरणको पनि कुरा हुन्छ । त्यसपछि प्रतिस्पर्धी बजारको कुरा हुन्छ । साना किसानले फाइदा हुने गरी लगानी आवश्यक हुन्छ । यसका लागि उत्पादन र बजारबीचको सम्बन्ध महत्वपूर्ण हुन्छ ।
साना उद्योगहरूको कुरा गर्दा यसलाई मुस्किल कुराका रूपमा पनि लिइन्छ, तपाईं के भन्नुहुन्छ ?
दातृ निकाय, क्यानडा, बेलायत, स्वीस फन्डलगायतले गर्ने सहायता हेर्ने हो भने उनीहरूले साना किसानका साथै पर्यटन क्षेत्रमा पनि दिइरहेका हुन्छन् । उनीहरूले साना व्यवसाय र उनीहरूको क्षमता अभिवृद्धिका लागि काम गरिरहेका हुन्छन् । गुणस्तर वृद्धि, बजार पहुँच स्थापनामा जोड दिएका हुन्छन् । साना उद्योग र व्यवसाय वृद्धिका लागि लगानी गर्न मुस्किल छ जस्तो लाग्दैन । उनीहरूको गरिबी निवारणलगायतका महत्वपूर्ण पक्ष पनि छ ।