ब्याजदर घट्ने क्रम रोकियो

काठमाडौं– न्यूनतम विन्दुमा पुगेको बैंक ब्याजदर घट्ने क्रम रोकिएको छ । कर्जा लगानीसमेत क्रमशः बढ्दै गएकाले ब्याजदर घट्न रोकिएको हो ।
बैंकरहरूका अनुसार पछिल्ला केही महिनायता कर्जा विस्तार सुस्त गतिमै भए पनि बढ्ने क्रममा छ । आयात–निर्यातमा भएको वृद्धि तथा सस्तो ब्याजदरका कारण कर्जा केही बढ्न थालेसँगै ब्याजदर स्थिर रहन पुगेको हो । यसबाहेक केन्द्रीय बैंकको नीतिका कारण घटाउने अवस्था नहुँदा बैंकहरूले ब्याजदर स्थिर राख्नुपरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।
वाणिज्य बैंकहरूले फागुन महिनाका लागि बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा दुई बैंकको बाहेक सबैको स्थिर छ । ग्लोबल आइएमई बैंकले ब्याजदर बढाउँदा लक्ष्मी सनराइजले घटाएको छ । बाँकी बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माघमा पनि १८ बैंकले पुसको ब्याजदरलाई निरन्तरता दिएका थिए । ‘निक्षेपमा संस्थागत ब्याजदर ३ प्रतिशत छ । योभन्दा तल गएमा केन्द्रीय बैंकको सीमाभन्दा तल जान्छ । त्यसो भएमा केन्द्रीय बैंकसँग तरलता लिन र दिन पाइँदैन । त्यसकारण ब्याजदर स्थिर राख्नुपरेको हो,’ खालिङले भने । विगतका महिनामा अत्यधिक घट्दै आएपछि केही पूर्वबैंकरले अब ब्याजदर घटाउन नहुने बताउँदै आएका छन् ।
बैंकहरूले पनि पुस र माघमा ब्याजदर घटाएनन् । अहिले फागुनमा पनि ब्याजदर उस्तै छ । माघ र फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको औषत ब्याजदर बराबर छ । बैंकहरूले फागुनका लागि व्यक्तिगत मुद्दति निक्षेपमा दिने अधिकतम औषत ब्याजदर ६ प्रतिशत छ । माघमा पनि त्यति नै थियो ।
बैंकहरूले व्यक्तिगत मुद्दतिमा न्यून अवधिको ब्याजदर कम निर्धारण गरेका छन् भने ५ वर्षमाथिको अवधिका लागि केही बढी तोकेका छन् । फागुनका लागि व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर एनएमबि र एनआईसी एशिया बैंकको सबैभन्दा धेरै छ । दुवै बैंकले यस्तो ब्याजदर ६.६ प्रतिशत तोकेका छन्, जुन लामो अवधिका लागि हो ।
बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै गराउन नपाउने व्यवस्था केन्द्रीय बैंकको छ । साथै संस्थागत मुद्दति निक्षेपमा व्यक्तिगत मुद्दति निक्षेपभन्दा कम्तीमा १ प्रतिशत विन्दुले ब्याजदर कम गर्नुपर्छ ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । झण्डै सात खर्ब हाराहारी तरलता रहे पनि कर्जा अपेक्षित गतिमा विस्तार हुन सकेको छैन । जसकारण बैंकहरूले कर्जाको ब्याजदर बढाउन नसकेका हुन् । एकातिर घटाउन नमिल्ने तथा अर्कोतिर बढाउन नमिल्ने बाध्यकारी अवस्थामा बैंकहरूले ब्याजदरमा स्थिर नीति अवलम्बन गरेका हुन् । अबका केही महिनामा ब्याजदर स्थिर नै रहने बैंकरहरूको अनुमान छ ।
विगतमा कर्जा प्रवाह बढाउनका लागि ब्याजदर एकल अंकमा झर्नुपर्ने माग राख्दै आएको निजी क्षेत्रले अहिले ब्याजदर न्यून विन्दुमा पुग्दा पनि कर्जाको माग गर्न सकेको छैन । केन्द्रीय बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको औषत आधार दर ६.६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ९.३५ प्रतिशत थियो ।
यस्तै २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औषत ब्याजदर ७.३२ प्रतिशत रहेकोमा २०८१ पुससम्ममा ४.७५ प्रतिशतमा झरेको छ । यसैगरी २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औषत ब्याजदर ११.३८ रहेकोमा चालु आवको सोही अवधिमा ८.६९ प्रतिशतमा झरेको छ ।