अकासिँदै सुन र डलर मूल्य

काठमाडौं– पहेँलो धातु सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ । एकाध दिन एक–दुई हजारले मूल्य घटे पनि बढ्ने श्रृंखला रोकिएको छैन ।
मंगलबार सुन प्रतितोला १ लाख ७० हजार २ सयमा कारोबार भएको थियो । बुधबार २ हजार ७ सयले घटेर एक लाख ६७ हजार ५ सय भएको छ ।
सुनजस्तै अमेरिकी डलर पनि नेपाली रुपैयाँका तुलनामा मजबुत भइरहेको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डलर पनि क्रमशः मजबुत हुँदै आएको हो । एक डलरको मूल्य १४० नेपाली रुपैयाँ पुगेकामा अहिले १३९ रुपैयाँ हाराहारी छ ।
गत कात्तिक १५ मा सुन प्रतितोला १ लाख ७१ हजारमा कारोबार भएको थियो । सरकारले बजारमा सुनको मूल्य वृद्धिसँगै तस्कारी बढेको भन्दै आयातमा भन्सार महशुल घटाएसँगै मूल्य १ लाख ४८ हजार रुपैयाँमा झरेको थियो । अमेरिकाको राष्ट्रपति ट्रम्प बनेपछि रुस–युक्रेन र इजरायल–हमासबीचको युद्ध अन्त हुने अनुमान गर्दै कतिपयले यसको असर सुनको मूल्यमा पर्ने बताएका थिए । सुन प्रतितोला एक लाख ४० हजार हाराहारीमा आउँछ भनिएको थियो । तर, यो अनुमानविपरीत सुनको मूल्य बढ्दै गएको छ । सुनको मूल्य वृद्धिले यसको व्यवसायमा फाइदाभन्दा बेफाइदा बढी हुने व्यवसायीहरु बताउँछन् । मूल्य उच्च भएपछि कारोबारमा मन्दी आउने व्यवसायीको भनाइ छ ।
अर्कोतिर अमेरिकी डलर मजबुत हुँदा भने सर्वसाधारण र राज्यले फाइदा–वेफाइदा दुवै सहनुपर्छ । डलर मजबुत हुँदा वस्तु तथा सेवा निर्यात गर्नेलाई फाइदा पुग्छ भने रेमिटेन्स पठाउनेहरु पनि फाइदामै हुन्छन् । यस्तै, पर्यटकले विदेशी मुद्रा खर्च गर्ने हुँदा राज्यले त्यसबाट फाइदा उठाउन पाउँछ । सरकारले प्राप्त गर्ने वैदेशिक सहायतालगायतमा पनि डलर मजबुत हुँदा फाइदा पुग्छ । हाम्रोजस्तो रेमिटेन्स आय उच्च भएको मुलुकमा डलर मजबुत हुँदा बजारमा तरलता थपिन्छ, जसले कर्जा लगानी बढाउन सहयोग पुग्छ ।
अर्कोतिर हाम्रोजस्तो आयातको आकार ठूलो भएको मुलुकमा अमेरिकी डलर थप मजबुत हुँदा ठूलो असर पर्छ । आयातित सबै सामानको मूल्य बढेर महँगी चुलिन पुग्छ । यस्तै, सरकारले लिएको वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानीको रकम थपिन्छ । बिरामीका लागि विदेशमा उपचार गर्न जाँदा होस् वा घुम्न विदेश जाँदा नेपालीले धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । अर्को विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको खर्च पनि बढ्न पुग्छ ।
पछिल्लो समय वस्तु तथा सेवा निर्यात बढ्दै जानुका साथै धेरै रेमिटेन्स आउने भएकाले डलर मजबुत हुँदा नेपालमा सकारात्मक प्रभाव पर्ने अर्थविद् गोविन्द नेपाल बताउँछन् । उनले भने, ‘नेपालको वैदेशिक व्यापार धेरै भारतसँग छ । भारतीय रुपैयाँ नेपालीको पैसासँग निश्चित छ । यसले असर गर्दैन । वार्षिक रेमिटेन्स करिब १४ खर्ब नेपाल भित्रिन्छ । वैदेशिक व्यापार करिब १८ खर्ब हाराहारी छ । आयातको ठूलो हिसा भारतसँगै छ । त्यसकारण आयात गर्दा हाम्रो वैदेशिक मुद्रा सञ्चिती कम नै बाहिरिन्छ । निर्यात र ठूलो रेमिटेन्स भित्रिने हुँदा मुद्रा सञ्चिति बढ्छ ।’
यस्तै, नेपालमा वैदेशिक सहायता डलरमा प्राप्त हुने भएकाले डलरको मूल्य बढ्दा घाटाभन्दा फाइदा हुने अर्थविद् नेपालको भनाइ छ । नेपालमा सुनमा भने ठूलो लगानी नहुँदा मूल्य वृद्धिले असर नपर्ने उनले बताए । तर, निरन्तर सुनको मूल्य बढ्दै जाँदा बैंकहरुले कम ब्याज दिइरहेको अवस्थामा कसैले बैंकमा पैसा जम्मा नगरी सुन खरिद गरी राख्न सक्ने सम्भावना रहने उनको भनाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपाली बजारमा असर परेको बताए । रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो लाग्दै ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी हुँदा विश्व व्यापारमा सुधार आउँछ कि भन्ने अपेक्षा थियो । शाक्यले भने, ‘अहिले व्यापार युद्ध बढ्ने देखिएपछि सुनको मूल्य थप वृद्धि हुँदै गएको छ । अमेरिकी डलरको मूल्य मजबुत हुँदा विश्वका व्यवसायी अन्य क्षेत्र छोडेर सुनमा लगानी गर्न थालेका छन् । युद्धका कारण लगानीकर्ताले औद्योगिक र व्यापारिक क्षेत्र असुरक्षित ठानेर सुनमा लगानी गर्दा अन्तर्राष्ट्रिय बजारमा माग निकै बढेको छ । विश्वका ठूला बैंकले समेत सुनमा लगानी गरिरहेका छन् ।’
विश्व बजारमा सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारसमेत निकै घटेको छ । उनले भने, ‘मूल्य बढ्दा पछिल्लो समय सुनको कारोबार शून्यजस्तै भएको छ । जोसँग पुरानो सुन मौज्दात छ, उसलाई मात्र फाइदा हुन्छ । व्यवसायीले गहना बनाएर बिक्री गर्ने हुँदा नेपाली बजारमा सुनको मूल्य वृद्धि हुँदा फाइदा हुँदैन ।’