Logo

रोजगारीकै लागि दैनिक औषत २२ सयले छोडेका छन् देश

काठमाडौं– स्वदेशमा रोजगारीका नयाँ क्षेत्र सिर्जना हुन नसक्दा रोजगारी खोज्दै यो वर्ष औषतमा दैनिक २ हजार २ सय जना वैदेशिक रोजगारीमा गएको देखिएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा दैनिक औषत २ हजार २०३ र प्रतिमहिना औषतमा ६६ हजार ९२ जना विदेश गएका हुन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि माघसम्मको ७ महिनामा ४ लाख ६२ हजार ६ सय ४४ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिएका छन् । यो तथ्यांकअनुसार दैनिक औषतमा २ हजार २ सय ३ जनाले श्रमस्वीकृति लिएको देखिन्छ । यस्तै, महिनालाई औषतमा हेर्दा प्रतिमहिना ६६ हजार ९२ जनाले श्रमस्वीकृति लिएका छन् ।

नेपालबाट वैदेशिक रोजगारीका लागि मुख्य रुपमा मध्यपूर्वका मुलुक, मलेसिया र युरोपेली मुलुकमा जाने गरेका छन् । आन्तरिक रोजगारीका क्षेत्र संकुचित बन्दै जाँदा विकल्प खोज्दै विदेशिनेको संख्या उच्च भएको हो । विभागका निर्देशक लोकनाथ भुसालले चालु आवमध्ये पछिल्लो ३ महिनायता वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति दिनेको संख्या झनै बढेको बताए । उनले भनेजस्तै चालु आवमा श्रमस्वीकृति लिनेको संख्या गत आवमा भन्दा धेरै पुगेको छ । गत आर्थिक वर्षको पहिलो ७ महिनामा ४ लाख ५ हजार जनाले विदेश काम गर्न जान श्रमस्वीकृति लिएका थिए । यो वर्ष ५७ हजार बढेका छन् । यो प्रतिमहिना ८ हजारभन्दा धेरै संख्या हो ।

चालु आवको अहिलेसम्मको तथ्यांकले यो वर्ष रोजगारीका लागि विदेश जानेको संख्या गत वर्षभन्दा पनि धेरै हुन सक्ने देखाएको छ । गत वर्ष ७ लाख हाराहारीमा विदेश गएका थिए । चालु आवमा प्रतिमहिना औषतमा ६६ हजारभन्दा धेरैले श्रमस्वीकृति लिएको तथ्यांक हेर्दा यो वर्ष विदेश जानेको संख्या करिब ८ लाख पुग्ने देखिन्छ । दुई वर्षअघि नेपालबाट मासिक औषत ४० हजार युवामात्र वैदेशिक रोजगारीमा जाने गरेका थिए । त्यसयता भने विदेश जानेको संख्यामा उच्च वृद्धि भएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा जानेमध्ये यो माघ महिनामा मात्र करिब ७२ हजार जनाले श्रमस्वीकृति लिएका छन् । यो पछिल्लो पुस महिनाका तुलनामा लगभग ७ हजारले बढी हो । चालु आवको साउनमा ५९ हजार ५७५ जनाले श्रमस्वीकृति लिएका थिए । भदौमा यो संख्या ५७ हजार ४९३ जना पुगेको थियो । यस्तै असोजमा ५३ हजार ५२५ जनाले श्रमस्वीकृति लिएकामा कात्तिकमा बढेर ७० हजार ९५० जना पुगेको थियो । गत मंसिरमा भने श्रमस्वीकृति लिनेको संख्या हालसम्मकै उच्च बनेको छ । मंसिरमा ८४ हजार २२६ जनाले श्रमस्वीकृति लिएका थिए । यस्तै, पुसमा यो संख्या ६५ हजारमा झरेको थियो । माघमा फेरि ७२ हजार युवाले श्रमस्वीकृति लिएको विभागले जनाएको छ ।

चालु आवको सुरुमा मलेसिया जाने नेपाली श्रमिकको संख्या घटेपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको थियो । माघको तथ्यांकअनुसार खाडी राष्ट्रमध्ये यूएई जानेको संख्या उच्च दरले बढेको छ । यसैगरी कतार, मलेसिया, साउदी अरब, कुबेत, बहराईन, कोरिया जाने युवाको संख्या पनि उच्च छ ।
चालु आवको सातौं महिनासम्ममा वैदेशिक रोजगारीमा जानेको संख्यामा आएको वृद्धिले आगामी वर्ष पनि रेमिट्ेन्स आय बढ्ने देखिन्छ । यो वर्षको ६ महिनामा ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिटेन्स आएको छ । यो गत आवको यही अवधिको तुलनामा ४.१ प्रतिशतले धेरै हो । अहिलेसम्म आएको रेमिटेन्स अमेरिकी डलरमा ५ अर्ब ५८ करोड हो ।

रेमिटेन्स बढेकै कारण मुलुकमा विदेशी मुद्राको सञ्चिति नेपाली रुपैयाँमा २३ खर्ब १६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ८४ करोड छ । नेपाल र नेपालीको प्रमुख आयस्रोतका रुपमा रहेको वैदेशिक रोजगार कोरोना संक्रमणका बेला दुई वर्ष घटेको थियो । त्यसयताका दिनमा भने यसले गति लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्