कृषि पर्यटन प्रवर्द्धनको आवश्यकता

मानवीय इच्छा एवम् चाहनाहरू परिवर्तनशील छन् । एउटै वातावरण, दृश्य एवम् परिस्थितिले सधैँभरि उनीहरूलाई सन्तुष्टि दिइरहन्छ भन्न सकिँदैन । नयाँ खोज–अनुसन्धान, नवीनतम प्रयोग र फरक अनुभव प्राप्त गर्न खोज्नुलाई सामान्य मानवीय व्यवहारका रूपमा लिन सकिन्छ । पर्यटनको क्षेत्रमा पनि समयअनुसार पर्यटकका रुचि एवम् इच्छाहरू परिवर्तन हुँदै गएका छन् ।
केही समय पहिलेसम्म पर्यटन स्थल भन्नेबित्तिकै मठ–मन्दिर, कलात्मक भवन, दरबार, संग्रहालय, संरक्षित क्षेत्र, निकुञ्ज, भौगोलिक दृश्य आदिलाई मात्र लिने गरिन्थ्यो । तथापि, अहिलेको बदलिँदो समयसँगसागै पर्यटन स्थलको दायरा पनि फराकिलो हुँदै गएको छ । नयाँ प्रयोग र नवीनतम प्रवृत्तिले पर्यटकलाई आकर्षित गर्ने होडबाजी नै चलेको देखिन्छ । यसै क्रममा, पछिल्लो समय कृषक र कृषि गतिविधिसँग सम्बधित कृषि पर्यटनको लोकप्रियतासमेत बढ्दो क्रममा देखिन्छ ।
कृषि पर्यटनलाई व्यावसायिक कृषि उद्यमका रूपमा लिन सकिन्छ । यसले कृषि उत्पादन र प्रशोधनलाई पर्यटनसँग जोड्छ । पर्यटकलाई मनोरञ्जन र शिक्षा दिने उद्देश्यले गरिने हरेक कृषि व्यवसाय र योसँग सम्बन्धित विभिन्न क्रियाकलाप नै कृषि पर्यटन हो । यो यस्तो प्रकृतिको पर्यटन हो, जसमा पर्यटक कृषि क्षेत्रमा रमाएर कृषिसँग सम्बन्धित क्रियाकलापबाट मनोरञ्जन अथवा ज्ञान हासिल गर्छन् । कृषि पर्यटनले किसान र पर्यटकलाई जोड्ने भएकाले पर्यटनबाट हुने कुनै पनि प्रकारको लाभले किसानलाई प्रत्यक्ष फाइदा पुर्याउन सक्छ । यसले किसानको आय मात्र बढाउँदैन, वरपरको ग्रामीण क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्रको पुनरुत्थानमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्ने देखिन्छ ।
विगतका वर्षहरूको तुलनामा मुलुकमा पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ विदेशी पर्यटक नेपाल भित्रिए । यो संख्या सन् २०२३ को तुलनामा करिब १४ प्रतिशतले बढी हो । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तथापि, यसबाट मुलुकले अपेक्षित लाभ उठाउन नसकेको भन्दै चिन्ता व्यक्त गरिएको छ । विशेष गरी पर्यटकले नेपालमा बस्ने औसत दिन एवम् औसत खर्च बढ्न नसक्दा यसबाट मनग्य फाइदा उठाउन सकिएको छैन । अहिले पनि नेपालमा पर्यटकको औसत बसाइ करिब १३ दिनको छ भने औसत दैनिक खर्च करिब ४१ डलर अर्थात् करिब ५ हजार ४ सय नेपाली रुपैयाँ मात्र छ । अन्य मुलुकको तुलनामा यो अत्यन्त कम हो । यसै कारण मुलुकको समग्र पर्यटन प्रवद्र्धनका लागिसमेत कृषि पर्यटन अपरिहार्य देखिन्छ ।
नेपालमा दुईतिहाइभन्दा बढी जनसंख्या ग्रामीण क्षेत्रमा बसोबास गर्छन र तीमध्ये अधिकांश कृषिमा निर्भर छन् । कुल जनसंख्याको लगभग ५० प्रतिशत रोजगारी यही क्षेत्रबाट सिर्जना भएको छ, तर अझै पनि परम्परागत निर्वाहमुखी खेती नै प्रचलनमा रहेका कारण देशको कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा एक चौथाइभन्दा कम छ । अर्कातर्फ, अधिकांश किसान गरिबीको रेखामुनि जीवन निर्वाह गर्न बाध्य छन् । कृषि क्षेत्र भनेको फसल उत्पादन गर्ने र त्यसको बिक्री–वितरणबाट आम्दानी प्राप्त गर्ने क्षेत्र मात्र हो भन्ने एकतर्फी सोचका कारण किसानले यो क्षेत्रबाट आर्जन गर्न सक्ने अतिरिक्त लाभ लिन सकिरहेका छैनन् । कृषि क्षेत्रमा वस्तु उत्पादनबाहेक विशेष उत्पादन विधि, खेती प्रणाली र प्रशोधनजस्ता क्रियाकलापहरूले पर्यटकलाई आकर्षित गर्न सकिन्छ । यो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रको अन्य स्वरूपहरू जस्तै— ग्रामीण पर्यटन, जातीय वा सांस्कृतिक पर्यटन, खेलकुद पर्यटन, साहसिक पर्यटन आदिसँग पनि जोडिएको हुन्छ । किनकि सबै प्रकारका पर्यटकका लागि खाद्यान्नको आपूर्ति कृषि क्षेत्रबाटै हुन्छ ।
नेपालमा कृषि पर्यटनसँग सम्बन्धित स्पष्ट योजना नदेखिए पनि विकसित देशहरू भने यसमा गम्भीर रूपमा लागिपरेका देखिन्छन् । संयुक्त राज्य अमेरिकामा कृषि पर्यटनअन्तर्गत ‘आफ्नो बाली आफ्नै छान्नुहोस्’ जस्ता उत्सवहरू आयोजना गरिन्छ । यस्तै ‘क्रिसमस ट्री’ को बिक्री, शैक्षिक कार्यक्रम, चिडियाखाना र विभिन्न प्रकारका विशिष्ट कृषि फर्मको सिर्जना गरी पर्यटकलाई आकर्षित गर्न खोजेका हुन्छन् । त्यहाँ आउने अधिकांश पर्यटकले कृषि फार्महरू भ्रमण गरेको पाइन्छ । यसबाट कृषकले मनग्य लाभ लिइरहेका हुन्छन् ।
यस्तै, जापान र इटालीका किसानले आगन्तुकलाई सेवा दिन स्थानीय खाना, खेतीका लागि प्रयोग गरिने परम्परागत प्रविधि, मूर्त र अमूर्त ग्रामीण सम्पदा, कृषि उत्पादनअन्तर्गत बहुफसल प्रणालीका अनुभव साटासाट गरेर पर्यटकलाई आकर्षित गर्ने गरेको पाइन्छ । पछिल्लो समय विश्वका प्रमुख कृषि पर्यटन गन्तव्यहरूमा ताइवानको चिया खेती, उखु खेती, फलफूलका साथै होमस्टे व्यवसाय, इटालीको स्थानीय टमाटर, जडीबुटी र चिज उत्पादन, ब्राजिलको स्वदेशी वनस्पति संरक्षण अभियान, फिलिपिन्सको अर्किड फर्म, मौरी फर्म, ड्रागन र पपिताजस्ता फलहरूको उत्पादन, संयुक्त राज्य अमेरिकाअन्तर्गत क्यालिफोर्नियाको प्रसिद्ध वाइन, एभोकाडो फर्म, मत्स्यपालन, यस्तै हवाई सहरको ऊष्ण कटिबन्धीय वृक्षारोपण र कफी बगान, इजराइलको खेती प्रणाली, श्रीलंकाको मसला पर्यटन आदिले विश्वका कृषि पर्यटकको ध्यान केन्द्रित गर्न सफल भएका छन् ।
नेपालको कृषि पर्यटनको वर्तमान अवस्थाका बारेमा चर्चा गर्ने हो भने केही सीमित कृषि गतिविधि मात्रै उपलब्ध छन् । देशको पूर्वी भूभागअन्तर्गत भारतको दार्जीलिङ र सिक्किमनजिकको चिया बगान आन्तरिक पर्यटकमाझ लोकप्रिय छ । सामान्यतया देशका विभिन्न भागबाट चिया खेतीलाई शैक्षिक भ्रमणको रूपमा हेर्न विद्यार्थी र सर्वसाधारणहरू त्यहाँ जाने गर्छन् र फार्मभित्र न्यून मात्रामा मौद्रिक लेनदेन हुने गरेको चिया किसानहरू बताउँछन् । रुपन्देहीको अस्ट्रिच फार्मसमेत केही समयअघिसम्म चर्चामा थियो । देश तथा विदेशका विभिन्न भागबाट स्वदेशी एवम् विदेशी पर्यटक अस्ट्रिच चरा हेर्न यहाँ जाने गर्थे । तथापि, अहिले यसले सोचेजस्तो गति लिन सकेको देखिँदैन ।
यीबाहेक केही ट्राभल तथा ट्रेकिङ कम्पनीले पर्यटन प्रवद्र्धन गर्न पदयात्राको आयोजनाजस्ता कार्यक्रमहरू गरेको पाइन्छ । विभिन्न संघसंस्थाको आयोजनामा घरेलु तथा कृषि उत्पादन मेला, खाना महोत्सव, कृषि सामग्री प्रदर्शनीजस्ता अन्तरिक पर्यटन प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने गरेका छन् । यस्तै देशका विभिन्न ठाउँमा मौरी फर्म, माछा फर्म, चरा–चुरुंगी फर्म, जडीबुटी फर्म, जैविक तरकारी तथा फलफूल खेती, विभिन्न हाटबजार, पोल्ट्री एक्स्पो तथा प्रदर्शनी, घोडचढी र सिकारसँग सम्बधित क्रियाकलापहरू सञ्चालनमा छन् । विभिन्न जातजातिका कृषि अभ्यास, परम्परागत स्थानीय कृषि वस्तु तथा मौलिक प्रविधि, वागवानी, कृषि उपज उत्पादन क्षेत्रका बारेमा चर्चा चले पनि पूर्ण रूपमा कृषि पर्यटनकै रूपमा भने अगाडि बढेको देखिँदैन ।
आर्थिक वर्ष २०६३÷६४ को बजेटमा सरकारले ‘एक गाउँ एक उत्पादन’ अवधारणा राष्ट्रिय कार्यक्रममा समावेश गरेको थियो । सार्वजनिक–निजी क्षेत्रको सहकार्यमा सञ्चालित यो अवधारणाको निरन्तरताले देशका विभिन्न गाउँलाई आफ्नो छुट्टै विशिष्ट पहिचान मिलेको छ । यसले किसानहरूमा छुट्टै उत्साह थपेको छ । यसैगरी २०६६÷६७ को स्मार्ट कृषि कार्यक्रमले नेपालमा विदेशी विज्ञहरूलाई भ्रमण गराउन सफल भएको थियो । देशका विभिन्न गाउँ जस्तै— कैलालीको घोडाघडी, सुनसरीको माछामरा, उदयपुरको रौतामाई, सोलुखुम्बुको पाटले तथा नुवाकोटको ककनीमा सामुदायिक कृषिको सुरुवात गरी कृषि र पर्यटनलाई जोड्ने प्रयास गरेको पाइन्छ । सरकारले विभिन्न समयमा घोषणा गरेका पर्यटन गाउँ कार्यक्रमले स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र घानापोखरा, काभ्रेको बल्थली, चितवनको चेपाङ गाउँ, तनहुँको बन्दीपुर, कास्कीको घान्द्रुक पर्यटकको रोजाइमा परेका छन् । यो ग्रामीण भेगका मानिसका लागि रोजगारी र आयको मुख्य स्रोत बनेको छ ।
देशको सामाजिक–आर्थिक रूपान्तरणमा पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्छ । तथापि, मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा भने यो क्षेत्रको योगदान ५ प्रतिशतभन्दा कम छ । पर्यटन क्षेत्र मात्र यस्तो क्षेत्र हो, जसले प्रकृति र पर्यावरणमा ठूलो नोक्सानीबिना आर्थिक सञ्चालन र गतिविधि गर्छ । नेपालका लागि पर्यटन क्षेत्र सधैँ तुलनात्मक लाभको क्षेत्र रहेको छ, तर अहिलेसम्म पनि हामीले पर्यटनलाई नयाँ अवधारणासँग जोड्न सकेका छैनौं । देशले नयाँ प्रकृतिको पर्यटन क्षेत्रको खोजी गरिरहेको समयमा कृषि पर्यटन एउटा बलियो विकल्प बन्न सक्छ । भौगोलिक विविधता र विशिष्ट धरातल संरचनाले गर्दा नेपाल कृषि जैविक विविधताले सम्पन्न र सुशोभित छ ।
यसैकारण भौगोलिक शान्त दृश्य र परिदृश्य, प्राकृतिक र मानव निर्मित स्रोतसाधनको आदर्शतम उपयोग गरी कृषि पर्यटनलाई अघि बढाउन सकिने प्रबल सम्भावना छ । समुद्री सतहबाट संसारको सबैभन्दा उचाइ हिमालमा फल्ने धान, जडीबुटीदेखि होचो भाग तराइमा उत्पादन हुने नरिवल, जुटसम्मको विविधताले नेपाल एउटा विश्वमै कृषि पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छ । यसका लागि सरकारी र निजी दुवै पक्षको सहकार्य आवश्यक छ । कृषि पर्यटनलाई किसानको वैकल्पिक आम्दानीको स्रोतका रूपमा स्थापित गर्ने सम्भावना मात्र होइन, यसले ग्रामीण क्षेत्र र पूरै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने विषयमा दुईमत छैन । यसका साथै, कृषि पर्यटनको विस्तारले गरिबी निवारणजस्ता राज्यका महत्वपूर्ण कार्यक्रममा समेत मद्दत पुग्ने देखिन्छ ।