सरकारसँग धेरै आश नगरी स्वदेशमै परिश्रम गर्न युवाहरूलाई डा. महतको आह्वान «

सरकारसँग धेरै आश नगरी स्वदेशमै परिश्रम गर्न युवाहरूलाई डा. महतको आह्वान

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले वाम गठबन्धनसँग आर्थिक एजेन्डालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने एजेन्डा नभएको र उनीहरूबाट धेरै अपेक्षा गर्न नहुने विचार व्यक्त गरेका छन् ।
धादिङबेसीमा सुरु भएको महोत्सवको उद्घाटन गर्दै नेता डा. महतले मुलुकलाई समृद्ध बनाउनका लागि राजनीतिक नेतृत्वमा सुस्पष्ट सोच र दृष्टिकोण आवश्यक पर्ने बताए । त्यसलाई कार्यान्वयन गर्न कहिलेकाहीँ कठोर र अलोकप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ, उनले भने, तर सधंै अस्थिर र सस्ता प्रियतावादी खोक्रा नारा दिएर सत्तामा पुगेको वाम गठबन्धनसँग त्यो साहस र आँट नै छैन ।
राजनीतिक संक्रमणकाल वा अन्य कुनै बाहनाबाजी गर्ने छुट नयाँ सरकारलाई नभएको स्पष्ट पार्दै उनले क्षमता र सोच भए गरेर देखाउने अवसर प्राप्त भएको बताए । विगतमा कांग्रेस नेतृत्वको सरकारले साहसिक र कठोर निर्णय गरेर अर्थतन्त्रलाई आधुनिकतातर्फ अघि बढाएकाले हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालकाबीच पनि गौरव गर्न लायकका उपलब्धिहरू हासिल भएको दाबी गर्दै नेता डा. महतले आर्थिक समृद्धिका लागि काम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।
उनका अनुसार राज्यले धान्न नसक्ने वितरणमुखी सस्ता प्रियतावादी कामभन्दा अर्थतन्त्रको दीर्घकालीन विकास हुने ठोस काम गर्नेतर्फ ध्यान दिनुपर्छ । रोजगारी सिर्जना हुने, लगानी बढ्ने, आर्थिक गतिविधिहरूको विस्तार हुने ठोस काममा सबैको ध्यान जानुपर्छ ।
युवाहरूलाई सरकारसँग धेरै आशा नगरी स्वदेशमै र आफ्नो गाउँमै हुनसक्ने व्यवसाय गर्न आग्रह गर्दै उनले कृषि, पशुपालन र तरकारी खेती गरेर कतिपय युवाहरूले विदेशमा आर्जन गर्नेभन्दा धेरै आम्दानी गरिरहेको बताए । त्यसैले स्वदेशमै मेहनत गरौं, स्वदेशमै नङग्रा खियाउन थालौं, पाखुरा बजार्न थालौं, उनले भने, “कठोर मेहनत नगरी कुनै पनि मुलुक समृद्ध बनेको छैन । डा. महतले महोत्सवमा स्थानीय उत्पादनलाई बढावा दिनुपर्नेमा पनि जोड दिए । युवा स्वरोजगारीको लागि एक घर एक व्यवसायको सोचले काम गर्नु उपयुक्त हुने विचार पनि उनले व्यक्त गरे ।”
साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा सुरु भएको उक्त महोत्सवमा महासंघका संस्थापक अध्यक्ष जंगबहादुर श्रेष्ठ, नीलकण्ठ नगरका मेयर भीम ढुंगाना, कांग्रेस पार्टीका जिल्ला सभापति रमेश धमला, पूर्वमन्त्री कल्पना धमला तथा विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले पनि शुभकामना दिएका थिए । काठमाडौंको तरकारी आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्ने धादिङ जिल्लामा युवाहरूलाई आधुनिक कृषितर्फ आकर्षित गर्ने मात्र होइन, स्थानीय तहको चौतर्फी विकास गर्ने सोचले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन । महोत्सव ११ दिनसम्म चल्ने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्