नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो शुक्रबारदेखि

काठमाडौं- ”सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” आउँदो फाल्गुन २, ३ र ४ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।
नेपाल भित्रका कृषि उद्यमी, व्यावसायीका साथै विदेशी व्यावसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि.,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रा.लि.ले संयुक्त रुपमा ”सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो” गर्न लागेको हो ।
यस प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धकको मुख्य भूमिकाको रुपमा रहेको छ भने सहयोगी संस्थाहरुमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल पोल्ट्री महासंघ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा राष्ट्रिय कृषक समूह महासंघ नेपाल रहेका छन् ।
साथै प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिनदेखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजक कम्पनीको विश्वास छ ।
यस प्रर्दशनीमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भइ मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
यस प्रर्दशनीमा कृषिका विभिन्न विधाहरु जस्तै कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी प्राप्त गर्न सकिने छ । मुख्य प्रदर्शनी स्थलमा सबै विधाका अलग अलग समूह स्टल रहने छन् । मेलामा अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।