Logo

कास्कीमा सिक्लेस अन्नपूर्ण केबुलकार निर्माण हुने

पोखरा– कास्कीको मादी गाउँ पालिकामा सिक्लेस अन्नपूर्ण केबुलकार प्रालिले सिक्लेसमा केबुलकार निर्माण गर्ने भएको छ । सरकारले निजी क्षेत्रको लगानीमा बन्ने सिक्लेस अन्नपूर्ण केबुलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरेको छ । राष्ट्रिय योजना आयोगको २४ माघमा बसेको बैठकले आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने निर्णय गरेको थियो ।

केही दिन अगाडी नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसद मनबहादुर गुरुङले हेलिकोप्टबाट त्यस क्षेत्रको अध्ययन गरेका थिए । केबुलकारको तल्लो स्टेसन कास्की मादी गाउँपालिका–१ रोहुम, पर्सा र माथिल्लो स्टेसन मादी गाउँपालिका–२ को कोरी डाँडामा रहने प्रतिवेदनमा उल्लेख छ ।

करिब ७ अर्ब लागतमा केबुलकार बनाउने योजना रहेको श्रोतको भनाई छ । वातावरणीय प्रभाव अध्ययन प्रतिवेदन अनुसार यो आयोजनामा झन्डै ३ हजार ८०१ वटा रुख र बोट काट्नुपर्ने जनाइएको छ । केबलकार ६.४१ किलोमिटर लामो रहने गुरुङ जातिको बाहुल्य रहेको क्षेत्रमा पर्यटकीय विकास हुने विश्वास गरिएको छ ।

यो केबलकार सञ्चालन अवधि ३० वर्ष तोकिएको छ भने केबुलकारमा ६० वटा डिब्बा रहने छन् । एउटा बक्समा ८ जनाको क्षमता हुने भएको छ । तल्लो स्टेसनबाट माथिल्लो स्टेसन पुग्न २५ मिनेट समय लाग्ने प्रारम्भिक अध्ययनबाट बताइएको छ भने केबलकारका लागि ३० वटा टावर राखिने भएको छ । उक्त केबलकार निमार्णका लागि करिब साढे तीन वर्ष लाग्ने कम्पनीले जनाएको छ ।

यसैबीच, मादी गाँउपालिका–१ का अध्यक्ष देविजंग गुरुङले आफ्नो गाँउमा उक्त परियोजना अति आवश्यक भएको बताउँदै पाथिभरा केवलकार जस्तो नहुने गरी अघि बढाउन आग्रह गरे । केबलकार निर्माण गर्नसके पोखरा आएका धेरै पर्यटकलाई सिक्लेसको कोरी डाँडासम्म लैजान सकिने र त्यस क्षेत्रको आर्थिक विकास पर्यटनबाट हुने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्