Logo

ककनीमा दैनिक आठ टन स्ट्रबेरी उत्पादन

धादिङ– कात्तिकदेखि वैशाखसम्म उत्पादन हुने स्ट्रबेरी टिप्न र बिक्रीका लागि पठाउन भ्याइनभ्याइमा छन् ककनी आसपासका किसान । नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रमा यस वर्षे स्टाबे्रेरी उत्पादन राम्रो भएको छ । यस वर्षको ५० करोडको हाराहारीमा स्ट्रबेरी बिक्री हुने किसानहरुको अनुमान छ ।

यतिबेला स्टाब्रेरी टिप्ने र बजारमा पुर्‍याउने काम भइरहेको ककनीका २८ वर्षीय किसान छेसाङ तामाङले बताए । छेसाङले छ रोपनीमा स्ट्रबेरी खेती गरिरहेका छन् । छेसाङले जस्तै चार सयभन्दा बढी कृषक ६ वर्षदेखि स्ट्रबेरी खेतीमा तल्लिन भएर लागेका छन् । हिजोआज ककनीको काठमाडौंतर्फ फर्किएको पूरै भागमा स्ट्रबेरी टिप्ने, ग्रेडिङ, प्याकेजिङ र बजारीकरण गर्ने काम भइरहेको छ ।

जाडो बढेकाले अहिले एक दिन बिराएर फल टिप्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गरेर बजार पुर्‍याउने किसानहरु बताउँछन् । ककनीस्थित काउलेकी मंगली तामाङले चारआना जग्गाबाट सुरु गरेको स्ट्रबेरी खेती अहिले एक रोपनीमा बिस्तार गरेकी छन् । नौ वर्षदेखि स्ट्रबेरी बिक्रीबाट मात्रै महिनामा ३० देखि ५० हजारसम्म बचत हुने गरेको उनको भनाइ छ ।

‘ककनी स्ट्रबेरी खेतीबाटै चिनियो । तर, हाम्रो अवस्था जस्ताको त्यस्तै छ । आफैँ नर्सरीमा बिरुवा उत्पादन गर्‍यो अनि आफैँ रोप्यो, बेच्यो । पहिला पनि यस्तै थियो, स्थानीय सरकार आए पनि उस्तै छ’ मंगलीले भनिन् । कात्तिकदेखि वैशाखसम्म उत्पादन हुने स्ट्रबेरी ककनीको काहुले, हिलेभित्ते र चित्रेमा राम्रो भइरहेको छ । झन्डै चार सय किसानले स्ट्रबेरी खेती गर्दै आएका छन् ।

उनीहरूले कम्तीमा एक रोपनीदेखि बढीमा १० रोपनीसम्ममा स्ट्रबेरी खेती गरिरहेका छन् । झन्डै तीन दशकदेखि यहाँको प्रमुख नगदे बाली नै स्ट्रबेरी हो । स्ट्रबेरी वर्षमा सात महिनासम्म फल्छ । कात्तिकदेखि वैशाखसम्म स्ट्रबेरी टिप्न मिल्ने छेसाङले बताए । वैशाखदेखि असोजम्म पुरानो बिरुवाको पात टिप्ने, नयाँ बिरुवा र जग्गा तयार पार्ने काम हुन्छ ।

विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा स्ट्रबेरीको उत्पादन बढी हुने उनीहरूको भनाइ छ । ककनीमा २०४६ मा जापानी सहयोग नियोग (जाइका) अन्तर्गतको जाइटी नेपालले स्ट्रबेरी खेती परियोजना थालेको हो । परियोजनाले केही बिरुवा रोपेर परीक्षण थाल्यो । तर, पछि किसान आफैंले उत्पादन गर्न थालेपछि खेती विस्तार भएको हो । अहिले धेरैजसो किसान आफैं बिरुवा उत्पादन पनि गर्छन् । केही वर्षयता स्वदेशी बजारमा पनि स्ट्रबेरीको माग बढ्दो छ ।

ककनीमा उत्पादित स्ट्रबेरी काठमाडौं, पोखरा, विराटनगर, वीरगन्जलगायत बजारमा पुग्छ । ताजा स्ट्रबेरी बिक्री गर्दै किसानले यसबाट बन्ने जाम, जेली, क्यान्डी, चकलेटलगायत खाद्य सामग्री बनाउन भने सकेका छैनन् । स्ट्रबेरीमा लाग्ने रोग, बजार व्यवस्थापनतर्फ पालिकाले समेत ध्यान नदिएको उनले गुनासो गरे ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ककनीलाई स्ट्रबेरी पकेट र जोनबाट हटाएर कुनै कार्यक्रम नराखेको गुनासो छ । ‘स्ट्रबेरी अहिले फ्रेस नै किन्ने, बेच्ने भइरहेको छ, जाम बनाउन लागेका छौं, तर साना स्ट्रबेरीका दानाको वाइन बनाउन सक्थ्यौं, सरकारले सहयोग नै गरेन’ छेसाङले थपे । कम आयात हुने फलफूलमा स्ट्रबेरी पनि पर्छ ।

चालू आर्थिक वर्षको ६ महिनामा एक लाख सात हजारको ४२४ किलो स्ट्रबेरी आयात भएको छ, तर निर्यात शून्य छ । गत आर्थिक वर्षको सोही अवधिमा तीन लाख ४९ हजारको एक हजार ९९२ किलो स्ट्रबेरी आयात भएको भन्सार विभागको तथ्यांक छ । निर्यात शून्य देखिए पनि ककनीको उत्पादन सिजनमा उत्पादनको २० प्रतिशत स्ट्रबेरी भन्सार छलेर भारत निर्यात हुने गरेको अनुमान छ ।

दिनको सातदेखि आठ हजार किलो स्ट्रबेरी उत्पादन हुन्छ । त्यसका आधारमा नुवाकोटको पकेट क्षेत्रमा ६ महिनामा १४ लाख ४० हजार स्ट्रबेरी उत्पादन हुने अनुमान छ, त्यसको २० प्रतिशत भारतमा जान्छ । कृषकलाई बिरुवा हुर्काउन आवश्यक प्राविधिक सहयोग कहीँ–कतैबाट पछिल्लो समय नभएकोसमेत छेसाङकोे गुनासो छ ।

पहिले स्ट्रबेरीका बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि नुवाकोटले बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम गरिरहेको लघु उद्यमी संघ नुवाकोटका अध्यक्ष गीता थापाले बताइन् । काठमाडौं महानगरपालिकाले सडकपेटीमा व्यापार गर्न रोकेपछि बिक्री गर्न व्यवसायीलाई समस्या भइरहेको संघका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्