दुई सय बिगाहभन्दा बढी खेत डुबानले प्रभावित

वीरगन्ज– पानीको उचित निकास नहुँदा डुबानमा परेको वीरगन्ज महानगरपालिकाका चारवटा वडाको धान खेतमा किसानले खेती गर्न नपाएको गुनासो गरेका छन् । वीरगन्ज महानगरपालिका–१७, २४, २५ र २६ मा पर्ने खेतको पानी निकास नहुँदा गएको वर्षामा डुबानमा परेको थियो । त्यही डुबानको पानी अहिलेसम्म नसुक्दा किसानले यो वर्ष गहुँखेती गर्नै नपाएको गुनासो गरेका हुन् ।
वर्षायाममा आएको बाढीले डुबानमा परेको चारवटा वडाका खेतमा रोपाइँ गरेको धान पनि किसानले राम्रो उत्पादन गर्न सकेनन् । खेत डुबानमा परेपछि वीरगन्ज महानगरपालिकाको जेसीबीले नाला खनेर पानीको आस्थायी निकास दिए पनि त्यसले वडाबासीको खेतको पानी सुक्न पाएको छैन । अहिले पनि दुई सय विगाह खेतमा पानी जमेको छ । वर्षाकै पानी अहिलेसम्म नसुक्दा चारवटै वडाका किसानले हिँउदेबाली गहुँ लगाउन नपाएको गुनासो गरेका छन् ।
वीरगन्ज एकीकृत भन्सार जाँचचौकी र ड्राइपोर्टदेखि पथलैयासम्म निर्माण गरेको ६ लेनको व्यापारिक मार्गको छेउको नाला खेतको सतहभन्दा माथि बनाइएको, महानगरका वडामा जथाभावी जग्गा प्लटिङ गर्दा पानीको निकास हुने ठाउँ पुरिएको र नहरबाट आउने पैनी पनि सडक निर्माण र प्लटिङ गर्ने क्रममा पुरिएकाले पानीको निकास नभएर खेतमै जमेको स्थानीयले बताएका छन् ।
अहिले सुक्खा मौसममै पानीको निकासका लागि व्यवस्था नगरे आउने वर्षायाममा फेरि चारवटा वडाको धानखेत र बस्ती नै डुबानमा पर्ने हुँदा चारवटै वडाबासी चिन्तित भएका छन् । वडा नम्बर १४ का मनोज द्विवेदी, वर्षामा आएको बाढीले खेत डुबानमा परेपछि धान पनि राम्रोसँग उत्पादन नभएको र खेतको पानी नसुक्दा गहुँ छर्न पनि नपाएपछि हामी के खाने ? हाम्रो परिवार कसरी पाल्ने ? भन्ने चिन्तामा छन् । उनी भन्छन्, ‘हामी किसानको आम्दानीको माध्यम नै कृषि हो । धान गहुँ नै उब्जाउन नपाएपछि हाम्रो जीविका कसरी चल्छ ?’
जथाभावी गरिएको प्लटिङले भएका नाला पैनी पनि पुरिएको र सडक निर्माणका क्रममा नालाको निकाससमेत नदिँदा खेतको पानीको निकास नहुँदा डुबान भएको र अहिलेसम्म जमेको पानी नसुक्दा खेती गर्न नपाएको स्थानीय वडाबासीको गुनासो छ । स्थानीय ७० वर्षीय वृद्ध भगिरथप्रसाद कुर्मी भन्छन्, ‘यो उमेरसम्म खेत डुबानमा परेको थाहा थिएन । सडक बनाउने नाममा पानी बग्ने ठाउँ नै बन्द गरिदियो । बग्न नपाएपछि खेतमा पानी जम्यो । हाम्रो धानबाली समेत राम्रो उत्पादन भएन । गहुँ लगाउनै पाइएन । कुनै सरकारले हामीलाई हेरेनन् ।’
वर्षामै खेत डुबानमा परेपछि वीरगन्ज महानगरपालिकाले पानी निकासका लागि वडा नम्बर १७ मा डोजर लगाएर नाला खन्ने क्रममा स्थानीय र महानगरका प्रमुखबीच नै विवाद भएर हात हालाहाल नै भयो । त्यसपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको कार्यकक्षमा डुबान प्रभावित क्षेत्रका जनप्रतिनिधि, वीरगन्ज महानगरपालिकाका प्रमुख र स्थानीय प्रशासनबीच तत्कालका लागि सडकको किनारै किनार जेसिबीले नाला खनेर पानीको अस्थायी निकास गर्ने काम भयो ।
तर, सडक छेउमा रहेका घर तथा पसलेले पुन: खनेको नाला माटोले पुरिदिएपछि पानीको निकास नै बन्द भयो । यसपटक हिउँदमा वर्षा पनि भएन । तर, डुबान प्रभावित क्षेत्रको खेत अझै पनि जलमग्न छ । रोपेको धानको बोट जरैसम्म काट्न नपाउँदा परालको पनि नोक्सानी बेहोर्नु परेको छ । धान पनि कम फल्ने, फलेको धान भित्र्याउनलाई पनि लागत बढी लाग्नुका साथै परालसमेत नोक्सान भएको उनीहरूको भनाइ छ ।