Logo

सार्वजनिक यातायात चुस्त र वातावरणमैत्री बनाउन मन्त्री दाहालको जोड

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायातलाई चुस्त र वातावरणमैत्री बनाउन जरुरी रहेको बताएका छन् । बुधबार एशियाली विकास बैंक र मन्त्रालयले काठमाडौंमा आयोजना गरेको गुणस्तरयुक्त सहरी सार्वजनिक यातायातका विषयमा भएको कार्यक्रममा उनले यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी रहेकोमा जोड दिए ।

‘नेपालको सार्वजनिक यातायातका क्षेत्रमा निजी क्षेत्रको उल्लेखनीय योगदान र भुमिका रहेको छ । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मार्फत अझ स्तरीय र पहुँचयोग्य बनाउन सकिन्छ’ उनले भने । यातायात क्षेत्रका साथै पूर्वाधार विकासमा समेत निजी क्षेत्रको सहभागीता स्वागतयोग्य रहने उनको भनाइ छ ।

यातायात क्षेत्रका सम्बन्धमा संघीय सरकारले नीतिगत व्यवस्था, समन्वय र व्यवस्थापनका लागि प्रदेश तथा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहेको मन्त्री दाहाले उल्लेख गरे । यातायात क्षेत्रमा स्वच्छ उर्जा तथा ईन्धनको उपयोगलाई सरकारले प्रोत्साहन गरिरहेको छ । यसका लागि चाहिने चार्जिङ् स्टेशन, पार्किङ्, मर्मत लगायतलाई पनि थप व्यवस्थित बनाउन जरुरी रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले सहरीकरण र सहर विस्तार नियमित प्रकृया रहेको उल्लेख गर्दै यसलाई रोक्न नसकिने बताए । तर सहरीकरणको विस्तार र विकासलाई व्यवस्थित गर्न सार्वजनिक यातायात व्यवस्थित र पहुँचयोग्य बनाईनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्