महोत्सवको नाममा विकृति

बारा– महोत्सवको नाममा बारामा विकृति बढेको छ । सामान्य नाचगान कार्यक्रमलाई पनि महोत्सवको नाम दिएर अपारदर्शी ढंगले आर्थिक संकलन गर्न थालेपछि बाराको टोलै पिच्छे विकृति बढ्न थालेको हो ।
सीमित व्यक्ति तथा समूहले निजी आर्थिक लाभका लागि गर्ने यस्ता महोत्सवलाई स्थानीय सरकार, प्रशासनले नबुझेर महत्त्व दिएपछि जिल्लाको सहर तथा ग्रामीण बजारमा विकृति व्यापक बन्दै गएको छ । जितपुर सिमरा उपमहानगरले बडा कार्यालयमार्फत विशेष सहयोग गरेको मनहर्वा कृषि सांस्कृतिक तथा पर्यटन व्यापारको नाम दिएको महोत्सवमा एक मात्र जुत्ता चप्पलको स्टल र केही ठेलामा चटपटे राखिएको अवलोकनकर्ताहरूले बताए ।
पुस २६ देखि गत माघ ७ सम्म चलेको उक्त कार्यक्रम नाचगानमामै सीमित बनेको थियो । त्यस्तै एक दिने उत्सवलाई महोत्सवको नाम दिँदै रामनगरमा लगाइएको महोत्सवमा व्यापारिक स्टलमार्फत व्यवसाय प्रवर्द्धन तथा आर्थिक कारोबार हुने पत्रकार सम्मेलन गरी कार्यक्रमका संयोजक साजन दोङ्गले जनाएका थिए । स्थानीय सरकारले सहयोग उपलब्ध गराएको उक्त कार्यक्रम माघ २० सम्म स्टेजमा कलाकारको सांगीतिक प्रस्तुतिमै सकिएको थियो ।
उद्योग वाणिज्य संघ मधेश प्रदेशका पर्यटन तथा हवाई, यातायात समितिका सभापति मोहन शर्माले सामान्य नाचगानलार्ई पनि आर्थिक महोत्सव भन्दै सस्तो फेसनको रूपमा बारामा अवमूल्यन भइरहेको र विकृति बढेको बताए । ‘महोत्सव बहुआयमिक विषय वस्तुसँग सम्बन्धित हुन्छ । विशेष उपलब्धि प्राप्तिपछि विशेष अवसर पारेर यस्ता महोत्सव सञ्चालन गरिनु पर्छ । तर, यहाँ त्यस्तो हुने गरेको छैन’ सभापति शर्माले भने,‘ वास्तवमा महोत्सव के को निम्ति गरिने भन्ने विषय नै बारामा अन्योल पूर्ण बनाइदैँछ ।’
जिल्लामा विभिन्न स्थानीय तहका सहर बजारका ६ स्थानमा पुस र माघ गरी दुई महिनामा १० दिनसम्म कृषि, पर्यटन, उद्योग, व्यापार, नाम राखेर रित्तो महोत्सव सञ्चालन भएको थियो । जसमा गीत संगीत तथा नाच गान बाहेक व्यावसायिक चहलपहल हुन सकेन । त्यस्ता कार्यक्रममा आयोजक, प्रायोजकलाई समेत भ्रममा पारेर आर्थिक संकलन गर्ने गरेको सह आयोजक बनाइएका एक उद्योग प्रतिष्ठानका प्रतिनिधिले बताए । उनले आफूहरूले अनेक दबाब तथा प्रभाव थेग्न नसकेर आर्थिक सहयोग गरे पनि उक्त सहयोगको उपलब्धि शून्य देखेर दु:ख लागेको बताए ।
माघ २२ सम्म निजगढ उद्योग वाणिज्य संघले कृषि, पर्यटन तथा औद्योगिक व्यापार, समृद्धिको आधार भन्दै गरिएको प्रथम निजगढ महोत्सवमा स्थानीय उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो । स्थानीय उत्पादनहरूलाई बृहत् स्थान दिएर प्रदर्शनी तथा बिक्रीमा राखिए पनि आयोजकले त्यस्तो प्रचार र प्रवर्द्धन छाडेर सांस्कृतिक मनोरञ्जनमै बढी समय खर्चेको थियो । निजगढ महोत्सवका आयोजकहरूले सुरुवाती पहिलो प्रयासमा भएको कमजोरी सिक्दै आगामी दिनहरूमा सुधार गर्दे लैजाने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
उद्योगीहरूकै संगठन आयोजक रहेको निजगढ जिम्मेवार बने पनि अन्य क्षेत्रका आयोजकहरू कार्यक्रम सकिएसँगैपछि त्यस्तो आर्थिक पक्षको सबै खातापाता बन्द गरेर बसेका छन्, सार्वजनिक गरेका छैनन् । ‘व्यावसायिक नाम दिएका महोत्सव उद्योगी व्यापारी तथा उपभोक्ताबीचको बिजनेस प्वाइन्ट बनाइनु पर्छ । तर त्यसो हुन सकेको छैन’ शर्मा भन्छन्,‘ अहिले चलेको नामधारी महोत्सवले सीमित व्यक्तिलाई आत्म सन्तुष्टि प्रदान गरे पनि यसले सामाजिक भ्रम सिर्जना गरेको छ ।’ जिल्ला प्रशासन कार्यालय बाराले महोत्सवको नाममा हुने विकृति रोक्न स्थानीय सरकारले अवरोध गर्ने गरे पनि प्रशासनले प्रयास सुरु गरेको जनाएको छ ।