Logo

कृषि बजारका लागि सूचना र प्रविधिको प्रयोग

कृषि पेसा जीविकोपार्जनको उपाय मात्र नभएर व्यवसाय पनि हो । बढ्दो जनसंख्यालाई पोषणयुक्त, सुरक्षित खानेकुरा उत्पादन गर्न, उत्पादन र उत्पादकत्व बढाउन, नयाँ खाले समस्यासँग लड्ने क्षमताको विकास गर्न तथा उत्पादकलाई स्वदेश तथा विदेशमा फाइदा पुर्‍याउने व्यवसायमा संग्लग्न गराउन, साझेदारसँग मिलेर काम गर्नका लागि सञ्जाल निर्माण गर्न सूचना र सञ्चार प्रविधि कृषि पेसामा महत्वपूर्ण अंग बनेको छ । त्यस्तै खाद्य सुरक्षा र किसानको जीविकोपार्जनमा सुधार ल्याउन, साना किसानलाई उत्पादन प्रविधि अपनाउन, जोखिम व्यवस्थापन गर्न, आफ्नै आर्थिक वृद्धिमा सक्रिय भाग लिन मद्दत गर्न, नीति र कार्यक्रमहरूमा अनुसन्धान गरी निष्कर्षलाई प्राथमिकता र विकल्पहरूका बारेमा सुसंगत गर्न सूचना र सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

अहिले सूचना र सञ्चार प्रविधिको विकासले सारा विश्व एउटा गाउँ बनेको छ । देश र विश्वभरका अन्वेषकहरूसँग काम गर्न, देशभित्र र बाहिरका आवश्यकता सम्बोधन गर्ने अवसरहरू पहिचान गर्न, अनुसन्धान र खोजहरूको विश्वव्यापी प्रभाव पार्न सूचना र सञ्चार प्रविधिले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

सूचना र सञ्चार प्रविधिले सामान्यतया किसानले सामना गर्ने चुनौतीहरू बुझ्नका लागि अनुसन्धान गर्न र समाधान डिजाइन गर्न मद्दत गर्छ । त्यसैले सूचना र सञ्चार प्रविधि आफैँमा वास्तविक समाधान हो । विकास समुदायको रूपमा हामीले प्राथमिकता र व्यवहारहरू बुझ्न धेरै बाधाको सामना गर्छौं, जसलाई सूचना र सञ्चार प्रविधिले सहज बनाउन मद्दत गरिरहेको हुन्छ । सूचना र सञ्चार प्रविधिले यसलाई क्षेत्र सर्वेक्षण सञ्चालन गर्न धेरै सजिलो बनाउँछ । हाम्रा सीमान्तकृत स्थानीय क्षेत्रहरूमा सूचना प्राप्त गर्न सूचना र सञ्चार प्रविधिले सजिलो बनाइरहेको हुन्छ । यदि हामीले उपलब्ध सूचना र सञ्चार प्रविधिको प्रयोग गरेर समस्या समाधान गर्न सक्यौँ भने त्यो वास्तविक खेल परिवर्तक हुन सक्छ ।

नेपालमा सूचना र सञ्चार प्रविधिको प्रयोग गर्नका लागि सीमित वातावरण छ । नेपाल सरकार एवं विभिन्न विकास साझेदारहरूबाट सूचना र सञ्चार प्रविधिको क्षेत्रमा विभिन्न काम भइरहेका छन् । नेपाल सरकारको निर्णयअनुसार २०७५ साउनदेखि कृषि सूचना तथा सञ्चार केन्द्र र राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष लाई एक ठाउँमा गाभी कृषि सूचना तथा प्रशिक्षण केन्द्रको रूपमा कायम गरिएको छ ।

कृषि सूचना तथा सञ्चार केन्द्रले परम्परागत कृषि पेसालाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न आम सञ्चारमाध्यमको उपयोग गरी कृषि प्रविधियुक्त सामग्री र जानकारीमूलक सूचना कृषक, कृषि उद्यमी, प्रसारकर्ता र सरोकारवालाहरूसमक्ष पुर्‍याउने मुख्य जिम्मेवारीका साथ वि.सं. २०२२ मा कृषि विभाग मातहत कृषि सूचना शाखाको नाममा हालको अवस्थामा आइपुगेको हो ।

वि.सं. २०४६ देखि श्रव्यदृश्य कार्यक्रमअन्तर्गत भिडियो डकुमेन्ट्री तयार गरी नेपाल टेलिभिजनबाट प्रसारण गराउन सुरु भएकोमा वि.सं. २०५४ देखि नेपाल टेलिभिजनबाट नियमित रूपमा कृषि कार्यक्रम प्रसारण गर्दै आएको छ । वि.सं. २०६२ मा केन्द्रको वेबसाइट निर्माण गरी आफ्नो वेबपेजमा केन्द्रबाट प्रकाशित तथा अन्य उपयोगी सामग्रीमार्फत अनलाइन सेवा प्रदान गरिएकोमा हाल कृषि सूचना तथा प्रशिक्षण केन्द्रको वेबसाइटबाट सेवा प्रदान गरिराखेको छ । ६० को दशकको सुरुवातदेखि नै जिल्लास्थित एफएमहरूसँगको सहकार्यमा स्थानीय परिवेश, आवश्यकता र कतिपय ठाउँमा स्थानीय भाषामा समेत कृषि कार्यक्रम उत्पादन तथा प्रसारण भइरहेका छन् ।

नेपालमा प्रदेश र स्थानीय स्तरमा कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन विभिन्न सफ्टवेयर प्रणाली सञ्चालनमा छन् । प्रमुख प्रणालीहरूमा एग्री पोर्टल सामेल छ, जसले कृषक र कृषि अधिकारीहरूलाई बाली उत्पादन, बीउबिजन, मलखाद, आधुनिक खेती प्रविधि र सरकारी सहायता योजनाहरूको जानकारी प्रदान गर्छ । मूल्य जानकारी प्रणालीले बजारमा कृषि उपजहरूको दैनिक मूल्य अद्यावधिक गरी कृषकलाई उचित मूल्य निर्धारण र व्यापार योजना बनाउन सहयोग पुर्‍याउँछ । त्यस्तै, नेपाल कृषि मोबाइल एपले बाली व्यवस्थापन, रोग नियन्त्रण, मौसम पूर्वानुमान र बजार पहुँचसम्बन्धी जानकारी मोबाइलमार्फत उपलब्ध गराउँछ ।

कृषि ज्ञान केन्द्र पोर्टलले किसानलाई अनुसन्धान, तालिम, प्राविधिक परामर्श र स्थानीय सेवाको जानकारी प्रदान गर्न मद्दत गर्छ । फसल बीमा प्रणालीले प्राकृतिक प्रकोपका कारण हुने क्षतिबाट बच्न बीमासम्बन्धी प्रक्रिया सरल बनाउँछ । साथै, प्रदेशस्तरमा विभिन्न पोर्टल सञ्चालनमा छन्, जसले स्थानीय आवश्यकता सम्बोधन गर्छन् र जिआइएस आधारित प्रणालीमार्फत कृषियोग्य जमिन, सिँचाइ व्यवस्थापन र उत्पादन क्षमताको नक्सांकन गरी कृषि योजना बनाउन मद्दत गरिन्छ । यी सफ्टवेयरहरूले कृषि क्षेत्रको डिजिटलीकरण गर्दै कृषकको जीवनस्तर सुधार गर्न योगदान पुर्‍याइरहेका छन् ।

विश्वका अरू देशहरूले सूचना र सञ्चार प्रविधिको भरपुर उपयोग गरिरहेका छन् । अफ्रिकी देश घानामा एसएमएस सन्देशले नाटकीय प्रभाव देखाएको छ । तिनीहरूले सूचना र सञ्चार प्रविधिलाई दैनिक र साप्ताहिक मौसम पूर्वानुमान पठाउन प्रयोग गरिरहेका छन्, जसले किसानलाई मौसमको ढाँचाको उत्तम प्रयोग गर्न र निर्णय गर्ने प्रक्रियामा सुधार गर्न मद्दत गरेको छ । त्यसबाट किसानले कुन बाली कहिले रोपण गर्ने, सिँचाइ र र मलको प्रयोगका लागि मिति अनुकूलन गर्ने गरेका छन् । त्यसैगरी केन्यामा पनि आधारभूत कृषिसम्बन्धी सल्लाह दिने एसएमएस पाठ सन्देशहरूले आधारभूत उखु खेती उत्पादनलाई ११.५ प्रतिशतले वृद्धि गर्न मद्दत गरेको छ । त्यस्तै युगान्डामा कुडु नामक डिजिटल ट्रेडिङ प्लेटफर्मको प्रयोग भएको छ, जहाँ अनाज भण्डारण गरी बजारसँग जोड्न प्रयोग भइरहेको छ । यसले खाद्य सुरक्षाका बाधा हटाउने र ग्रामीणदेखि सहरी बजारसम्म डिजिटल माध्यमबाट जोडिने काम भएको छ । यसले खाद्यान्नको बढ्दो माग पूरा गर्न र स्थानीय बजार प्रणालीको कमजोर प्रणालीलाई बलियो बनाउने काम गरेको छ । यसको प्रयोगले उत्पादनको बिक्री नहुने निराश अवस्थाको अन्त्य, मूल्यमा स्थिरता र बजारमा कृत्रिम अभावको अवस्थाको अन्त्य गरेको पाइएको छ ।

युगान्डाको विश्वविद्यालयसँगको संयोजनमा विकसित भएको अनलाइन ट्रेडिङ प्लेटफर्मले खरिदकर्ता र विक्रेताहरूलाई प्रभावकारी, लागत–प्रभावी तरिकामा व्यवसाय गर्न मद्दत गरेको छ । यसले सहरी खरिदकर्ताहरू आफूलाई चाहिने कुरा देशभित्रै छ भन्ने कुरामा निश्चिन्त भएका छन् भने साना किसानबाट संकलन गर्न सहज बनेको छ । यो मोडेलको विकास गर्ने बेला निजी क्षेत्रको चासो थाहा पाउनु, तिनीहरूसँग घनिभूत छलफल गरेर व्यावसायिक दिगोपन हुने कुरा सुनिश्चित गर्नु थियो । त्यसैले निजी क्षेत्रका साझेदारहरू समेत यो मोडेलको विकास गर्न सहभागी थिए ।

हामी सूचना र सञ्चार प्रविधि भन्नेबित्तिकै प्रायः आकर्षक टेक्नोलोजीद्वारा मोहित हुन्छौँ । कहिलेकाहीँ सरल समाधानहरू अझै पनि उत्तम हुन्छन् भन्ने कुरामा ध्यान पुर्‍याइरहेका हुँदैनौँ । यो नयाँ–नयाँ प्रविधि विकास गर्न र समस्यालाई समाधानको नेतृत्व गर्न दिनुको सट्टा लागू गर्ने प्रयास नै गर्दैनौँ वा यसलाई ठूलो कुरा वा हाउगुजी सम्झन्छौँ । उदाहरणका लागि, मौसमका बारेमा किसानलाई एसएमएस पाठ, यो एक आधारभूत समाधान हो, जुन सरलदेखि जटिल प्रविधि हुन सक्छ । यसलाई सजिलैसँग प्रयोग गर्ने बनाउँदा यसको प्रभाव दिगो र उच्च भएको छ ।

अहिले केही निजी क्षेत्रले सूचना र सञ्चार प्रविधिसँग सम्बन्धित नयाँ–नयाँ परियोजनाहरू अगाडि बढाएका छन् । सूचना र सञ्चार प्रविधिसँग उपलब्ध उत्पादनका बारेमा बजारलाई शिक्षित गर्न कसरी यसको प्रयोग गर्न सकिन्छ र यी उत्पादनलाई सबैभन्दा बढी आवश्यक पर्ने मानिसलाई कसरी वितरण र सुधार गर्न सकिन्छ भनेर सरकार चनाखो बन्नु जरुरी छ । यदि यी उत्पादन सबैभन्दा बढी चाहिने मानिसलाई प्राप्त गर्न सक्ने बनाइयो भने यसको प्रतिफल र प्रभाव बढी हुन्छ ।

अबको कृषि सूचना र सञ्चार प्रविधिसँग सम्बन्धित कृषि हुनुपर्छ । कृषिका लागि डिजिटल समाधान हुनुपर्छ । अबको अनुसन्धान र अन्वेषण देशमा साना तथा गरिब किसानका समस्याको डिजिटल समाधानबाट लाभ उठाउने हुनुपर्छ । विश्वको बढ्दो जनसंख्याको खाद्य सुरक्षाका लागि डिजिटल समाधान दिनु जरुरी छ । डिजिटल समाधानले वास्तवमा प्रभाव पार्छ भन्ने कुराको ठोस प्रमाण जुटाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्