Logo

आध्यात्मिक पर्यटनको धरोहर लुम्बिनी

हालै मात्र अमेरिकाको प्रतिष्ठित पत्रिका ‘दि न्युयोर्क टाइम्स’ले सन् २०२५ का लागि घुम्नलायक विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनीलाई नवौँ स्थानमा समावेश गरेबाट लुम्बिनी फेरि एकपटक विश्व समुदायमा चासोको विषय बनेको छ । यही मौकामा बुद्धको जन्मस्थल लुम्बिनी पर्यटनका निम्ति महत्वपूर्ण गन्तव्य स्थल हो भन्ने कुरालाई नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायत नेपाल सरकारले प्राथमिकता दिएर प्रचारप्रसार गर्नु आवश्यक छ । नेपालले लुम्बिनीको ब्रन्डिङको विषयलाई जोडतोडका साथ अगाडि बढाउने हो भने नेपालको धार्मिक, सांस्कृतिक एवम् आध्यात्मिक पर्यटन प्रवद्र्धनका निम्ति लुम्बिनी कोसेढुंगा साबित हुन सक्छ ।

त्यसो त लुम्बिनीलाई सन् १९९७ मा युनेस्कोले विश्वसम्पदा सूचीमा समावेश गरिसकेको थियो । त्यसबाट पनि लुम्बिनी नेपालको लागि मात्र होइन, विश्व समुदायकै लागि महत्वको विषय हो भन्ने कुरा प्रस्ट भएकै हो । त्यतिमात्र होइन, इसापूर्व तेस्रो शताब्दीमा सम्राट् अशोकले आएर यहाँ स्तम्भ नै खडा गरिदिएका थिए । लुम्बिनी महत्वको विषय नहुँदो हो त तत्कालीन समयमा यातायातको कठिन अवस्था रहँदा पनि सम्राट् अशोक लुम्बिनी आउनुले यसको गरिमा र महत्व अनुमान गर्न सकिन्छ ।

स्वयम् बुद्धले नै लुम्बिनी चार प्रमुख धार्मिक स्थल (लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर) मध्ये एक हो र मानिस आफ्नो जीवनमा कम्तीमा एकपटक भए पनि लुम्बिनी पुग्नुपर्छ, जसबाट उसले अनित्यताको बोध गर्न सक्छ भन्ने सन्देश ‘महापरिनिर्वाण सुत्त’मा भनेका छन् । यसबाट पनि लुम्बिनीको ऐतिहासिकता र आध्यात्मिकताबारे प्रस्ट हुन्छ ।

आजभन्दा करिब २६ सय वर्षअघि लुम्बिनीमै भएको थियो, राजकुमार सिद्धार्थको जन्म, जो पछि गएर बुद्ध बने । त्यसैले लुम्बिनी ऐतिहासिक क्षेत्र हो । यहाँ विभिन्न ऐतिहासिक एवम् पुरातात्िवक महत्वका सम्पदाहरू छन् । लुम्बिनीमै जन्मिएका बुद्धले संसारलाई शान्ति र खुसी मात्रै होइन, मुक्तिको बाटोसमेत देखाइदिए । शील र समाधिमार्फत प्रज्ञा लाभ गर्न सकिने संयक् मार्गले दुःख निरोध गर्न सक्छ भन्ने सार बताए, जुन बौद्ध दर्शनको मूल हो । लुम्बिनीमा ध्यानका निम्ति केवल बौद्धमार्गीहरू मात्र आउँदैनन्, अपितु अध्यात्ममा जागरण भएका जोकोही लुम्बिनी आउने गर्छन् । यस हिसाबले लुम्बिनी अध्यात्मको केन्द्र पनि हो । विपश्यना ध्यान केन्द्रका कारण मात्र होइन, लुम्बिनी क्षेत्रमा प्रवेश गर्ने सबैजसोले यहाँको परिवेशसँग साक्षात्कार गर्दा अध्यात्मको अनुभूति गर्न पाउँछन् ।

लुम्बिनी ऐतिहासिक एवम् पुरातात्वक वस्तुहरूका निम्ति महत्वपूर्ण क्षेत्र त हो नै, तर यो अध्यात्म र शान्तिको संगम पनि हो । मायादेवी मन्दिर, पुष्करिणी पोखरी, अशोक स्तम्भ, शान्तिद्वीप, लुम्बिनी बगैँचा, विभिन्न देशले निर्माण गरेका स्तूप तथा विहार र लुम्बिनी ग्राम लुम्बिनीका मुख्य आकर्षणहरू हुन् । यहाँ रहेका विभिन्न मुलुकका स्तूप तथा विहारमा मनाइने विभिन्न बौद्ध चार्डपर्व र उत्सवहरू पनि बौद्ध पर्यटनका स्रोत हुन् । बेलाबेला गरिने सांस्कृतिक नृत्य एवम् शान्ति उत्सवका कार्यक्रमहरू पनि पर्यटकका लागि आकर्षणका विषय हुन् । लुम्बिनीमा वर्षाको समयमा मनाइने वर्षावास र कठिन चीवर दान उत्सव तथा मनलान पूजालाई हेर्ने हो भने यो समयमा लुम्बिनीमा तिब्बत, चीन, भारतलगायतका देशहरूबाट चीवर धारण गरेका भन्ते र आनीहरूको घुइँचो देख्न सकिन्छ ।

पछिल्लो समय विभिन्न देशका भिन्दाभिन्दै विशेषताका सुन्दर एवम् कलात्मक मन्दिरहरू निर्माण भएबाट लुम्बिनी विविध बौद्ध सम्प्रदायहरूको सांस्कृतिक संगम स्थल बनेको छ । हरेक दिनजसो कुनै न कुनै गुम्बा, विहार, मन्दिर तथा ध्यान केन्द्रहरूमा केही न केही कार्यक्रम भइ नै रहेका हुन्छन् । त्यसले पनि लुम्बिनीलाई पर्यटकका निम्ति आकर्षणको विषय बनाएको छ । हालै मात्र लुम्बिनीमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ निकै चर्चाको विषय बनेको छ । यसलाई न्युयोर्क टाइम्सले पनि विशेष उल्लेख गरेको छ । महायानी सम्प्रदायको यो मन्दिर निकै चित्ताकर्षक र मनमोहक बनेको छ । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमासँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । त्यतिमात्र होइन, मन्दिरको माथिल्लो भित्ताका पेन्टिङ कलाको उत्कृष्ट नमुनाको रूपमा परिचित बनेको छ ।

लुम्बिनी र पर्यटनको कुरा गर्दा कपिलवस्तु, देवदह र रामग्राम पनि सँगसँगै आउँछन् । यी क्षेत्रलाई जोडेर लुम्बिनी करिडोरको रूपमा प्रस्तुत गरी पर्यटनका प्याकेजहरू ल्याउने हो भने पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ । अनि मात्र नेपालले आर्थिक लाभ लिन सक्छ ।

राजकुमार सिद्धार्थको रूपमा बुद्धले २९ वर्ष बिताएको र बुद्धत्व प्राप्तिपछि पनि कैयौँ पटक आएको स्थान कपिलवस्तु प्राचीन शाक्यहरूको राजधानी हो । अहिले यहाँ प्राचीन शाक्य दरबारका भग्नावशेषहरू देख्न सकिन्छ । त्यसकै सरोफेरो गोटिहवा र निग्लिहवा क्रमशः क्रकुच्छन्द र कनकमुनिको जन्मस्थान रहेका क्षेत्र हुन् । त्यसैगरी शुद्धोदनले बुद्धलाई दिएको न्याग्रोराधाम विहार रहेको क्षेत्र पनि कपिलवस्तुमै छ ।

त्यसैगरी रामग्राम र देवदह पनि पर्यटन प्रवद्र्धनका निम्ति प्रमुख स्रोत हुन् । रामग्राम बुद्धको अस्तिधातुसहितको स्तूप रहेको पवित्र स्थान हो । सम्राट् अशोकको पालामा बुद्धको अस्तिधातु रहेका स्तूपहरूबाट अस्तिधातु झिकी ८४ हजार स्तूप निर्माण गरिएको भए पनि रामग्राममा रहेको स्तूप भने सुरक्षित रहको भन्ने कुरा बौद्ध साहित्यहरूमा पाइन्छ । देवदह शाक्यमुनि बुद्धकी आमा मायादेवी, कान्छीआमा प्रजापति र पत्नी यशोधराको माइती गाउँ हो । बुद्धले आफ्नो ज्ञान प्राप्तिको सातौँ वर्षमा आफ्ना सहयोगीका साथ देवदहको भ्रमण गरेको विभिन्न बौद्धग्रन्थमा उल्लेख गरेको पाइन्छ । प्राचीन कोलीय कालखण्डको पाकरी वृक्षसमेत यहाँको भ्रमणबाट अवलोकन गर्न सकिन्छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वको कुल जनसंख्याको ६.६ प्रतिशत मानिस बौद्ध धर्म मान्छन् । यस हिसाबले बौद्ध धर्मावलम्बीहरूको जनसंख्या करिब ५१ करोड हुन आउँछ । यो त बौद्ध धर्म मान्नेहरूको संख्या हो । पछिल्लो समय बौद्ध धर्मबारे विश्वमा चासो बढ्दै गएको छ । खासगरी यसलाई दर्शन एवम् मानवधर्मका रूपमा लिइएबाट विश्वका आस्तिक मानिएका मानिससमेत बौद्ध शिक्षाप्रति आकर्षित छन् । यसले पनि लुम्बिनी पर्यटकहरूनिम्ति आकर्षणको केन्द्र बन्न सक्छ ।

बौद्ध शिक्षालाई पूर्वमा धार्मिक एवम् सांस्कृतिक अभ्यासको रूपमा लिँदै गर्दा पश्चिममा भने जीवन ज्युने कलाको रूपमा लिन थालिएको छ । मानव अधिकार, समानता, पर्यावरण संरक्षण, दिगो विकास, पर्याप्त अर्थशास्त्र, खुसी अर्थशास्त्र, ‘इन्गेज बुद्धिजम’, जातीय समानताजस्ता विषयहरूमा बौद्ध शिक्षाको व्यावहारिकतालाई प्राथमिकता दिन थालिएको छ । एसिया, अमेरिका एवम् युरोपका अधिकांश विश्वविद्यालयमा बौद्ध शिक्षाको अध्ययन, अध्यापन र अनुसन्धानको क्रम बढ्दै गएको छ । यस सन्दर्भमा बुद्धको जन्मस्थल लुम्बिनी विश्वका लागि आकर्षणको केन्द्र बन्ने सम्भावना बढ्दै गएको छ ।

पर्यटकको तथ्यांक हेर्ने हो भने गत वर्ष तेस्रो मुलुकबाट १० लाख १४ हजार ८ सय ७४ पर्यटक नेपाल भित्रिएका छन् । यस्तो संख्याले पर्यटनको क्षेत्रमा केही आशा जगाए पनि लुम्बिनी आउने पर्यटकको संख्या भने अत्यन्त न्यून रहेको छ । कुल पर्यटक आगमनमा साढे ७ प्रतिशत हाराहारी मात्रै लुम्बिनी आउने गरेको देखिएको छ । सन् २०२३ मा तेस्रो मुलुकबाट ७६ हजार २ सय १० जना पर्यटक लुम्बिनी आएका छन् । जबकि सन् २०१९ मा १ सय १५ मुलुकबाट गरी १ लाख ७४ हजार १५ जना पर्यटक लुम्बिनी आएका थिए ।

सरकारको चालू बजेट हेर्ने हो भने १६ लाख पर्यटक भित्याउने लक्ष्य लिइएको छ । त्यसैगरी सन् २०२३ देखि २०३३ लाई पर्यटक दशकका रूपमा मनाउने घोषणा पनि गरिएको थियो । यस अवधिमा ३५ लाख पर्यटक भित्याउने सरकारको योजना छ । सरकारको यस्तो महत्वाकांक्षी योजनालाई लुम्बिनीको प्रवद्र्धन र प्रचारप्रसार गर्ने हो भने विश्वमा बौद्ध धर्मको बढ्दो प्रसारणका कारण सहज रूपमा यस्तो लक्ष्य भेट्न सकिने सम्भावना बढ्दै गएको छ ।

नेपालले पर्यटनको विकासका निम्ति पर्यटन पूर्वाधारको विकास गर्दै पर्यटन शिक्षा, बजारीकरण र कूटनीतिक पहललाई समेत ध्यान दिनुपर्छ । स्थलमार्ग हुँदै भारतबाट आउने पर्यटकहरू दिनभरि लुम्बिनी घुमेर फर्किने गरेको अभ्यास छ । यसलाई रोक्न र कम्तीमा पनि एक रात पर्यटकलाई यहाँ राख्न लुम्बिनीसँगै कपिलवस्तु, रामग्राम र देवदहको महत्व र गरिमाबारे प्रचारप्रसार गर्नु आवश्यक छ । यसका साथै पर्यटकीय क्षेत्रमा सरसफाइको व्यवस्था, बौद्ध शिक्षाप्रति सचेत टुरिस्ट गाइडको व्यवस्था, पर्यटक सहायता कक्ष आदिको व्यवस्था गर्नु जरुरी छ ।

बौद्ध पर्यटन प्रवद्र्धन गर्न यसलाई दिगो विकाससँग जोड्नु आवश्यक छ । यसो गर्न सके बौद्ध सम्पदाको दीर्घकालीन संरक्षण र आर्थिक लाभ दुवै हासिल गर्न सकिन्छ । बौद्ध धर्मले करुणा, अहिंसा र पर्यावरणीय संरक्षणलाई जोड दिने भएकाले बौद्ध पर्यटनले पनि धार्मिक र सांस्कृतिक मूल्य–मान्यतालाई प्रवद्र्धन गर्दै स्थानीय समुदायको आर्थिक अवस्था सुधार्न र वातावरणीय संरक्षणमा जोड दिन्छ । लुम्बिनीको सांस्कृतिक पक्षको जगेर्ना गर्दै यसको आध्यात्मिक पक्षलाई उजागर गर्दै जाने हो भने लुम्बिनी पर्यटकका निम्ति उत्कृष्ट गन्तव्य बन्न सक्छ । न्युयोर्क टाइम्सले आफ्नो नवौँ स्थानको सूचीमा लुम्बिनीलाई घुम्नुपर्ने गन्तव्य स्थलका रूपमा राखेबाट नेपालको पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ । तर, यसका निम्ति पर्यटन पूर्वाधारको विकास गर्दै यसलाई थप प्रवद्र्धन गर्न उचित योजना, स्थानीय सहभागिता र अन्तर्राष्ट्रिय सहयोगलाई समेत प्रवर्धन गर्नु जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्