बेलायती राजपरिवारमा ह्यारी दम्पतीको निर्णयबारे छलफल «

बेलायती राजपरिवारमा ह्यारी दम्पतीको निर्णयबारे छलफल

लन्डन-बेलायती राजकुमार ह्यारी दम्पतीको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ ।
महारानी एलिजावेथसहित राजपरिवारका वरिष्ठ सदस्यहरू र राजकुमार ह्यारीसमेतका बीचमा छलफल भएको राजपरिवार स्रोतले जनाएको छ ।
राजकुमार ह्यारी र उनकी पत्नी मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन आफ्नै तरिकाले काम गर्ने घोषणा गरेको विषयमै छलफल केन्द्रित भएको थियो ।
बैठकमा सहभागीहरूले राजपरिवारको जिम्मेवारी त्याग्ने घोषणा फिर्ता लिएर पुनः पहिलेकै अवस्थामा फर्कन आग्रह गरेका थिए ।
ह्यारीका पिता तथा युवराज चाल्स र उनका भाइ विलियमलगायतले पनि ह्यारी दम्पतीलाई राजपरिवारको जिम्मेवारीमा फर्कन आग्रह गरेको बेलायती सञ्चार माध्यमहरूले जनाएका छन् ।
ओमनका सुल्तान काबोसलाई श्रद्धाञ्जली दिन ओमन पुगेका युवराज चाल्र्स उताबाट फर्किएर बैठकमा सहभागी भएका छन् ।
मेगन पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको थियो । उनलाई क्यानाडाबाटै बैठकमा सहभागिताका लागि आउन आग्रह गरिएको थियो । व्यक्तिगत जीवनका लागि उनीहरूले फेरी ‘अर्को कदम’ चाल्न सक्ने आशंका गरिएको छ ।
महारानीले समाधान खोज्दै गर्दा ह्यारी पत्नी मेगन भने केही दिनअगाडि नै क्यानडा गएकी थिइन् । ह्यारी र मेगन क्रिसमसको बिदा मनाउन छोरा आर्चीलाई लिएर क्यानाडा गएर फर्किएपछि अप्रत्याशित रूपमा एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले त्यस्तो घोषणा गरेका थिए ।
ह्यारी र मेगनको घोषणाका कारण राजपरिवारमा खैलाबैला मच्चिएको छ । दरवार स्रोतका अनुसार यस्तो घोषणा गर्नुअघि राजकुमार ह्यारी र मेगनले राजपरिवारका कुनै सदस्यसँग परामर्श गरेका थिएनन् ।
राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने ह्यारी दम्पतीको घोषणापछि विभिन्न चरणमा भएका बैठक र परामर्शपछि सोमबारको छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्