माघे संक्रान्तिमा कन्दमूलको कारोबार

यस वर्ष माघे संक्रान्तिका अवसरमा पोखरामा करिब १ करोड ५० लाख मूल्यबराबरको तरुलसहित कन्दमूलको कारोबार हुने व्यवसायीहरू बताउँछन् । |
विभिन्न चाडपर्वका आआफ्नै विशेषता र महत्व हुन्छन् । फरक–फरक पर्वका खानेकुराहरू पनि फरक–फरक नै हुन्छन् । माघे संक्रान्तिमा विभिन्न जाति, समुदायले विशेष गरी माछा, मासु, फलफूललगायतका मिठाई, सेलरोटी, मासको फुराउला, पिंडालु, तरुल, सखरखण्ड, घिउ, चाकु, तिलको लड्डु, भाकालगायतका चिजवस्तुहरू खाने गर्छन् । पुसमा पकाएर माघमा खाने पर्वका रूपमा समेत माघे संक्रान्तिलाई मनाउने गरिन्छ । यसैले माघे संक्रान्तिमा पनि विशेष किसिमको आर्थिक कारोबार हुने गर्छ ।
बजारभर तरुल, सखरखण्ड देख्न पाइन्छ । पोखरामा भने भारतदेखि तरुल र सखरखण्ड भित्रिएको छ । माघे संक्रान्तिका अवसरमा खाइने गरेको कन्दमूलमध्ये तरुलसहित सखरखण्ड भारतबाट समेत पोखरामा बिक्रीका लागि आएको एक व्यवसायी विश्वराम धोवीले बताए ।
भारतबाट यसपालि पोखरामा नयाँ जातको सिमल तरुल भित्रिए पनि अधिकांश पोखरेलीले उक्त तरुल खासै नरुचाएपछि उनले रातरात अन्य बजारमा उक्त तरुल लैजाने बताए । उनले भने, “सिमल जातको यो तरुल दुई दिनदेखि पोखराको शान्ति वनवाटिकाको फलफूल, तरकारी बजारमा राखेको खासै बिक्री भएन, अब यसलाई हामीले अन्य बजारमा लैजानुपर्छ, अन्यथा दुई–तीन दिनमा सबै तरुल बिग्रिन सक्छ ।”
एक गाडी सिमल तरुल पोखरा झारेका उनले मुस्किलले दुई–तीन बोरा मात्र बिक्री गर्न सफल भए । उनले ५५ देखि ६० रुपैयाँमा प्रतिकेजी उक्त तरुल बिक्री गरेका थिए ।
त्यसैगरी उनले पन्जे तरुल प्रतिकेजी ७० रुपैयाँ, भैंसे तरुल प्रतिकेजी ४५ देखि ५० रुपैयाँ, घरतरुल प्रतिकेजी ७० देखि ७५ रुपैयाँ, सखरखण्ड प्रतिकेजी ५० देखि ६५ रुपैयाँ र वनतरुल प्रतिकेजी १ सय ६० रुपैयाँमा बिक्री गरेका छन् । होससेल मूल्यमा लिएर बजार क्षेत्रमा करिब ४० देखि शतप्रतिशत मुनाफा हुने गरी कन्दमूल बिक्री–वितरण गरेको पाइन्छ ।
नेपालको सर्लाही, हेटौँडा, पाल्पा, नवलपरासी लगायतका क्षेत्रबाट उनले यस वर्ष पोखरामा चार गाडी कन्दमूल ल्याएका हुन् । मौसमी व्यापार गरी लाखौं आम्दानी गर्ने योजना बुनेका धोबीले माघे संक्रान्ति आउन एक–दुई दिन बाँकी छँदा धेरै कन्दमूल बिक्री नभएकाले चिन्ता लाग्न लागेको जनाए ।
त्यस्तै पोखरामा कन्दमूल बिक्री गरी एकै सिजनमा लाखौं आम्दानी गर्ने लक्ष्यका साथ धेरै जातको कन्दमूल बिक्री गर्दै गरेका डम्बरबहादुर थापाले यसपालि पनि न्यूनतम १ लाख मुनाफा हुने गरी ४ लाख रुपैयाँ लगानी गरी कन्दमूल खरिद गरेर बिक्री गर्दैछन् ।
गत वर्ष १ लाख कन्दमूल बिक्रीबाट मुनाफा आम्दानी गर्न सफल भएको बताएका केसीले यस वर्ष गत वर्षको तुलनामा बिक्री कम हुने अनुमान गरेका छन् ।
यस वर्ष माघे संक्रान्तिका अवसरमा पोखरामा करिब १ करोड ५० लाख मूल्यबराबरको तरुलसहित कन्दमूलको कारोबार हुने व्यवसायीहरू बताउँछन् । जाडो मौसममा कन्दमूल खाँदा शरीरलाई आवश्यक पर्ने शक्तिसहितको खनिज पदार्थसमेत कन्दमूलबाट प्राप्त हुने गरेको अग्रजहरूकोे भनाइ छ ।