लुम्बिनीमा १०२९ उद्योग बन्द

दाङ– लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा एक हजार २९ वटा उद्योग बन्द भएका छन् । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको अनुसार आर्थिक मन्दीको प्रभाव, युवा जनशक्ति विदेश पलायनले उद्योग बन्द हुन थालेका हुन् । चालु आवको पुस मसान्तसम्म १ हजार ७४२ उद्योग दर्ता भएका छन् ।
यसैगरी यो अवधिमा २ हजार १८० वाणिज्य फर्म दर्ता भएको मन्त्रालयले जनाएको छ । प्रदेशका पहाडी जिल्लाहरूमा खुल्नेभन्दा बन्द हुने उद्योग बढी रहेका छन् । यस प्रकारको समस्या बढ्दै गएमा धेरै समस्या उत्पन्न हुने आर्थिक क्षेत्रका जानकारहरू बताउँछन् । यसप्रकारको कार्य रोक्न समयमै ध्यान दिनु पर्ने उनीहरूको भनाइ छ । तर, सरकार र निजी क्षेत्रको नेतृत्वले समेत यसतर्फ ध्यान दिएको छैन ।
मन्त्रालयको तथ्यांक अनुसार उद्योगतर्फ ५ हजार ५१ उद्योग नवीकरण गरिएका छन् भने वाणिज्यतर्फ ५ हजार ४ सय २७ फर्म नवीकरण भएका छन् । यसैगरी वाणिज्यतर्फ १ हजार ५७ फर्म खारेज भएको मन्त्रालयका सूचना अधिकारी सन्तोषकुमार सुवेदीले जानकारी दिए । प्रदेशका १२ जिल्लामध्ये रुपन्देही सबैभन्दा बढी उद्योग दर्ता भएका छन् । यसमा ४ सय ५२ उद्योग दर्ता भएका छन् भने ६ सय ४५ वाणिज्य फर्म दर्ता भएका छन् । जिल्लामा १ सय ६८ उद्योग खारेज भएका छन् भने ३२ वाणिज्य फर्म बन्द भएका छन् ।
यसैगरी बाँकेमा ३६८ उद्योग र ४ सय १० फर्म दर्ता भएका छन् । जिल्लामा १०८ उद्योग र २३८ वाणिज्य फर्म खारेज भएका छन् । यसैगरी नवलपरासी पश्चिममा पछिल्लो ६ महिनामा १८० उद्योग र २२८ फर्म दर्ता भएका छन् भने ७४ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् । मन्त्रालायको तथ्यांक अनुसार कपिलवस्तुमा १९० उद्योग र २२५ फर्म दर्ता भएका छन् । जिल्लामा ९२ उद्योग र ६२ वाणिज्य फर्म बन्द भएका छन् ।
यसैगरी दाङमा पछिल्लो ६ महिनामा २३० उद्योग र ३२५ वाणिज्य फर्म दर्ता भएका छन् भने १ सय ४१ उद्योग बन्द भएका छन् । यसैगरी २०१ वाणिज्य फर्म खारेज भएका छन् । यस्तै बर्दियामा १४० उद्योग र १४५ वाणिज्य फर्म दर्ता भएका छन् भने ९४ उद्योग र ८४ वाणिज्य फर्म खारेज भएका छन् । पाल्पामा ४४ उद्योग र ५१ फर्म दर्ता भएका छन् । ११४ उद्योग र १२७ वाणिज्य फर्म खारेज भएका छन् ।
यसैगरी गुल्मीमा २३ उद्योग र ३६ फर्म दर्ता भएका छन् भने १६० उद्योग र १८७ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी अर्घाखाँचीमा ४१ उद्योग र २१ फर्म दर्ता भएका छन् भने ६ उद्योग र ५ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी प्यूठानमा १२ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र १८ वाणिज्य फर्म बन्द भएका छन् । यसैगरी रोल्पामा ३८ उद्योग र ३३ वाणिज्य फर्म दर्ता भएका छन् भने ३२ उद्योग र ३६ वाणिज्य फर्म खारेज भएका छन् ।
रुकुम पूर्वमा २४ उद्योग र २८ फर्म दर्ता भएका छन् भने ८ उद्योग र ५ वाणिज्य फर्म खारेज भएका छन् । यो अवधिमा उद्योगतर्फ २ हजार ७२ र वाणिज्य फर्मतर्फ २ हजार १७८ संशोधन भएका छन् । संशोधन उद्योगहरूको नाम, सेवा विस्तार, स्थान परिवर्तनलगायतका लागि गर्ने गरिन्छ । मन्त्रालयले पछिल्लो ६ महिनामा दर्ता भएको उद्योगको संख्यालाई सकारात्मक रूपमा लिन सकिने बताएको छ ।
उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले हालसम्मको उद्योग दर्ता संख्यालाई राम्रो मान्न सकिने बताए । ‘अहिले प्रदेशमा देखिएको उद्योग दर्ताको आंकडालाई राम्रो मान्न सकिन्छ,’ मन्त्री न्यौपानेले भने,‘तर यो संख्या बढाउनु पर्छ, यसका लागि मन्त्रालयले प्रोत्साहनका कार्यक्रमहरू ल्याइरहेको छ ।’ उनका अनुसार मन्त्रालयले नयाँ उद्योग दर्तामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । नयाँ उद्योगीहरूलाई राहत दिनका लागि छुटको व्यवस्था गरिएको उनको भनाइ छ ।
‘नयाँ उद्योग दर्तामा लाग्ने शूल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेका छौं, यो व्यवस्थापछि नयाँ उद्योगीहरूलाई उद्योग दर्तामा धेरै राहत भएको छ,’ मन्त्री न्यौपानेले भने । यसैगरी हालसम्म नवीकरण नभएका उद्योगहरू दर्ता गर्नका लागि आगामी चैत मसान्तसम्मको अवधि दिएको छ । यो व्यवस्थापछि हालसम्म नवीकरण नगरेर बसेका उद्यमीहरू धमाधम नवीकरणका लागि आउने गरेको तथ्यांक जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूले मन्त्रालयमा पेश गरेका छन् ।